गाँजा खेती व्यवस्थापन गर्न विधेयक दर्ता

गाँजा खेती व्यवस्थापन गर्न विधेयक दर्ता

काठमाण्डौ, १९ फागुन । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता भएको छ । 

पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मस्यौदा गरेको निजी विधेयक सोमबार सचिवालयमा दर्ता भएको हो । सांसदहरुको विशेषाधिकार प्रयोग गर्दै ल्याइएको विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेती गर्न पाउने उल्लेख छ । 

तामाङले गाँजाको क्षेत्र व्यापक रहेको र औषधीय गुण भएकाले किसानहरुसँगै समग्र देशको आर्थिक विकासमा सहयोग पुग्ने बताए । गाँजामाथि लागेको प्रतिबन्ध फुकुवा भएमा युवाहरु बिदेसिनुपर्ने बाध्यताको अन्त्य हुने र स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना हुने उनले बताए । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि गाँजामा औषधीय गुण हुने भनिसकेको अवस्थामा नेपाल पनि गाँजामा लागेको प्रतिबन्ध फुकुवा हुनुपर्ने उनले बताए । अमेरिका, क्यानडा लगायत विश्वका ४० देशले गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । कानुनमा उत्पादनका सीमा, प्रयोगका शर्तहरु उल्लेख भएकाले जथाभाबी नहुने उनले बताए । 

गाँजा उत्पादनको क्षेत्र विद्यालय भवन र बालकेन्द्रभन्दा एक किलोमिटरको दुरीमा हुनुपर्ने विधेयकमा उल्लेख गरिएको छ । सांसद तामाङले नेपालीहरुले चिकित्सकको सिफारिसबिना प्रयोग गर्न नपाउने बताए ।