कोरोनाकै  कारण विश्व अर्थतन्त्र रसातलमा पुग्ने खतरा

कोरोनाकै  कारण विश्व अर्थतन्त्र रसातलमा पुग्ने खतरा

चीनबाट वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमणका कारण अहिले विश्व त्रसित छ । यो महामारीले विश्वको आर्थिक एवम् सामाजिक परिवेशलाई नराम्रोसँग पेलानमा परेको संसारका सबै जसो मुलुकले महसुस गर्न थालेका छन् । विश्वका ६० भन्दा बढी देशमा दिनमा कोभिड–१९ ले फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसको फैलावटसँगै विश्वभर यस भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार नाघेको चिनियाँ अधिकारीले जनाएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म चीनमा मात्रै यस ज्यान गुमाउनेको संख्या दुई हजार नौ सय १२ पुगेको छ ।

आयोगका अनुसार चीनबाहिर ज्यान गुमाउनेको संख्या एक सय २९ रहेको छ । यसमा इरानमा ५४, इटालीमा ३४, दक्षिण कोरियामा २०, जापानमा १२, हङकङमा २ र फ्रान्समा २ जना रहेका छन् । फिलिपिन्स, ताइवान, अस्ट्रेलिया, थाइल्याण्ड र अमेरिकामा १–१ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य आयोगका अनुसार आइतबारसम्म चीनमा यस रोगबाट संक्रमितको संख्या ८० हजार २६ पुगेको छ भने विश्वभर यो संख्या ८८ हजार चार सय ४३ पुगेको छ । यो मानवीय क्षतिको तथ्यांक विश्लेषण गरीरहँदा विश्वको अर्थतन्त्रमा यसले नराम्रोसँग प्रहार गरेको तथ्य पनि बाहिर आउन थालेको छ । 

विश्व आर्थिक मञ्चका अनुसार यस भाइरसका कारण उत्पादन क्षेत्र र विश्व आर्थिक मानकको सिलसिलामा नराम्रोसँग प्रहार गरेको छ । वित्तीय लक्ष्य प्राप्त गर्नका लागि विश्वका कम्पनीलाई ठूलो चुनौती आइपरेको छ । आर्थिक वृद्धिदरको अपेक्षा र आर्थिक विस्तारका लक्ष्यसहित वित्तीय नीति नै परिवर्तन गर्नुपर्ने बाध्यकारी अवस्था देखापरेको छ । सन् २००८ मा भएको आर्थिक मन्दीभन्दा पनि तल विश्व अर्थतन्त्र पुग्ने अनुमान गर्न थालिएको छ । विश्वकै ठूलो चिनियाँ अर्थतन्त्र सन् २०२० को पहिलो तीन महिनामा ४.५ प्रतिशतमा खुम्चने आर्थिक मञ्चले जनाएको छ । यसै महामारीका कारण ११ खर्ब अमेरिकी डलर आय खस्कने छ । 

अर्थतन्त्रकै महत्वपूर्ण क्षेत्र मानिएको ‘ट्राभल इन्डष्ट्री’ अत्यन्तै जोखिममा छ । विश्व पर्यटन क्षेत्र ठप्प प्रायः छ । मानिसलाई अनिवार्य रुपमा गर्नुपर्ने बिजिनेस ट्राभल पनि गर्न आँट छैन । बुकिङ भएका बिजिनेस ट्राभल पनि धमाधम रद्ध हुन थालेका छन् । मानिस छुट्टी मनाउन निस्कन छाडेका छन् । सोही कारण गर्दा ५.७ ट्रिलियन डलर अर्थात् ५७ खर्ब अमेरिकी डलर बराबरको आम्दानीको क्षेत्र तहसनहस हुने अवस्थामा पुगेको छ । लाखौंले यस क्षेत्रबाट रोजगारी गुमाउने अवस्था आएको छ । कोरोनाकै  कारण विश्व अर्थतन्त्र रसातलमा पुग्ने खतरा देखिदैंछ । 

दैनिक हजारौं कामदार व्यस्त रहने उद्योगधन्दा प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । विश्वका ठूला व्यस्त शहर सुनसान छन् । लाखौं सवारी साधनको चाप रहने विश्वका मुख्य सडकमा फाट्टफुट्ट गाडी गुडिरहेका देखिन्छन् भने कयौं हवाई उडान रद्ध भएका छन् । कोरोनाकै कारण यस्तो अवस्था आउनु आधुनिक विश्वका लागि ठूलो चुनौति हो । यो चुनौतिको समाधान गर्न पछिल्लो समयमा विकास भएका प्रविधि तथा वैज्ञानिक सोच अझै सफल भएको छैन ।  

आजको विश्व जगत अन्तरसम्बन्धित छैन । कुनै पनि देश एक्लै रहन सक्ने अवस्था छैन । कोरोनाका कारण विश्व नै आक्रान्त हुँदा यसबाट नेपाल अछुतो रहन सक्दैन । विश्वमा परेको असर नेपालमा पनि देखिनु स्वाभाविक नै हुनेछ । नेपालीको उत्तरी छिमेकी मुलुकबाट शुरु भएको यो महामारीका कारण नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाइ नै सकेको छ, भलै विभिन्न हल्लाका माझ अझैसम्म पनि एकाध वाहेक नेपालीमा कोरोनाको संक्रमण नदेखिनु सुखद नै हो । यसको जोखिमका विषयमा बेलैमा सतर्क भइएन भने ठूलो मानवीय क्षति व्यहोर्नुपर्छ ।

नेपालको आर्थिक एवम् सामाजिक परिवेशमा कोरोनाको असर देखिन थालेको छ । यो महामारीको प्रहारमा पर्यटन क्षेत्र परेको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्नुपरेको छ । कारोनाका कारण सरकार नीतिगत परिवर्तन भएको हो । आइतबारको मन्त्रिपरिषद् बैठकबाट चीनमा फैलिएको कोरोना भाइरसको बढ्दो सक्रमणलाई ध्यानमा राख्दै नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको हो । बैठकमा नेपाल भ्रमण वर्ष २०२० लाई स्थगित गरी सन् २०२२ लाई भ्रमण वर्षका रुपमा मनाउने प्रस्ताव गरिएको छ । नीतिगत रुपमै परिवर्तन गर्नुपर्ने बाध्यता नेपाललाई परेको छ । 

त्यसैगरी कोरोना भाइरसको प्रकोपसँगै विभिन्न मालवस्तुका कच्चा पदार्थको मूल्य पनि आकासिएको छ । चीनबाट आयात हुने सबैजसो कच्चा पदार्थको मूल्य ह्वात्तै बढेको छ । उद्योगीका अनुसार चीनबाट आउने कच्चा पदार्थको मूल्य आकासिँदा उत्पादन लागत बढ्ने देखिएको छ । दुई हप्ता यता चीनबाट पैठारी गरिने औद्योगिक कच्चा पदार्थको भाउ आकासिएको हो । खाने तेल उद्योगको कच्चा पदार्थ फस्फोरिक एसिड, नुडल्स र चाउचाउ उद्योगमा चाहिने ह्विट ग्लुटेन र ओनियन सिडजस्ता कच्चा पदार्थ तथा बिस्कुट उद्योगमा मैदा फुलाउन प्रयोग गरिने कच्चा पदार्थ अमोनियम बाई कार्बोनेटको मूल्य पनि वृद्धि भएको छ । चीनबाट पैठारी गरिने औद्योगिक मेसिनरी र स्पेयर पार्टस पनि महङ्गो भइरहेको छ । यो संक्रमण नियन्त्रणमा नआए अझै यसले ठूलो जनधनको नोक्सानी गर्नेछ ।

विकाससँगै थपिएका चुनौति सामना गर्न जस्तोसुकै शक्तिशाली अर्थतन्त्र तथा सैनिक शक्ति भए पनि कठिन पर्दोरहेछ भन्ने कोरोना संक्रमणले देखाएको छ । यो संक्रमणले कहरमा अझै कति मानवीय एवम् अर्थतन्त्र गुमाउनुपर्ने हो अझै निश्चित छैन । यसबाट जोखिनका लागि व्यक्ति, परिवार, समाज र मुलुक नै एक ढिक्का भएर लाग्नुको विकल्प छैन । त्यसका लागि सचेतना र सावधानी नै महत्वपूर्ण हुने देखिन्छ ।