वामदेवको स्पष्टोक्ति : रवीन्द्रको क्षेत्रमा निर्वाचन नउठ्ने 

वामदेवको स्पष्टोक्ति : रवीन्द्रको क्षेत्रमा निर्वाचन नउठ्ने 

काठमाडौं । नेकपाका सचिवालय सदस्य वामदेव गौतमले आफू दिवंगत मन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुनाव नलड्ने स्पष्ट पारेका छन् ।

रवीन्द्रको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि कास्कीको रिक्त स्थानबाट वामदेव गौतम निर्वाचन उठ्न सक्ने भन्दै समाचार आएपछि झस्किएका वामदेवको यस्तो अभिव्यक्ति बाहिरिएको हो । 

काठमाडौंबाट रामवीर मानन्धरलाई राजीनामा दिलाएर निर्वाचन उठ्न खोज्दा उनलाई ‘ब्याक फायर’ भएको थियो । यस वाहेक अन्य क्षेत्रबाट समेत उनले बहालवाला सांसदलाई राजीनामा दिलाएर निर्वाचन उठ्ने असफल प्रयास गरेका थिए । 

युवा नेता रवीन्द्र अधिकारीको असामयिक निधनबाट खालि भएको स्थानमा उनलाई पार्टीबाट उठाउने कुरा अस्वाभाविक होइन । उनी लामो समयदेखि अधिकारीसँग राजनीतिक र भावनात्मक रुपमा सामिप्यता राख्ने नेता पनि हुन । पार्टीमा उनकै कारणले नै अधिकारीले छिट्टै नै राजनीतिको यो उचाइ हासिल गरेका हुन । 

फेरि पहिला जस्तै निर्वाचन उठ्ने कुरा गर्दा कुनै खेल होला भन्ने चिन्ताले वामदेव झस्किएका पनि हुन सक्छन । पटकपटक धोका पाएकाले यो च्याप्टर नै बन्द गरेका हुन सक्छन ।

पोखराको श्रद्धाञ्जली कार्यक्रममा दुई अध्यक्षमध्ये एक आउँछन् भन्ने अपेक्षा राखिरहेको बेलामा वामदेव गौतम पुग्नुले पनि पोखरावासीबीचमा त्यस क्षेत्रमा निर्वाचन उठ्ने चर्चा चल्नुलाई अस्वाभाविक मान्नु पनि हुँदैन । 

अगुल्टोले हानेको कुकुर विजुली चम्कदा तर्सिन्छ भने जस्तै पटकपटक आफू सांसद बन्ने प्रयास असफल भएपछि झस्किएका वामदेव गौतमले आफ्नो फेसबुक स्ट्याटसमा यस्तो लेखेका छन्, ‘फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो । राजनीतिक आकाशमा उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रवीन्द्र अधिकारीको असामयिक निधनबाट ठूलो धक्का महसुस गर्दै श्रद्धाञ्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रवीन्द्रको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ । यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षड्यन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचार मात्र हो । आफ्नो इच्छा विपरीत पार्टीले उक्त क्षेत्रमा पठाउने निर्णंय गरेछ भने पनि सो स्थानमा चुनाव लड्न नजाने बरु सम्पूर्णं प्रयत्न रवीन्द्रको परिवारलाई नै सघाउन हुनेछ ।’  

हेरौँ, उनको पोष्ट जस्ताको तस्तै ः

अन्तर्घातका कारण बर्दियाबाट हारेको र आफूले एकपटक संसदमा गएर प्रभावकारी भूमिका निर्वाह गर्ने इच्छा राखेको बताइरहेको सन्दर्भमा वामदेवलाई त्यस क्षेत्रमा उठाउनु पर्छ भन्नु षडयन्त्र नभएर सकारात्मक सोंचबाट नै आएको मान्नुपर्छ ।