नेपालमा कोरोनाः आँधी आउनु अघिको सन्नाटा
सूर्य सुवेदी
छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोना भाइरस युरोप लगायत मध्यपूर्वमासमेत फैलिएपछि गत शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले उपलब्ध मन्त्रीहरुलाई बालुवाटार डाकेर उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको अध्यक्षतामा कोरोना भाइरस बिरुद्ध योजना बनाउन समिति बनाएका छन् । त्यस समितिका सदस्यहरुमा स्वास्थ्यमन्त्री, शिक्षामन्त्री ,पर्यटनमन्त्री र गृहमन्त्री रहने ब्यवस्था मिलाइएको छ । समितिले कोरोनाको जोखिमको अध्ययन गर्नेछ ।
केही समय अगाडि मात्रै नेपाल कोरोना मुक्त मुलुक रहेको भन्दै निर्धक्क नेपाल भ्रमणबर्ष २०२० मनाउनका लागि बिश्वभरीकै पर्यटकहरुलाई नेपाल आउन आग्रह गरिरहेका पर्यटनमन्त्री योगेश भट्टराईले पनि एकाएक भ्रमणवर्ष प्रचारप्रसार कार्य तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छन्। बीस लाख पर्यटक भित्राउने सरकारको लक्ष्यमा पक्कै ठुलो ठेस लागेको छ । ढिलै भएपनि पर्यटनमन्त्रीको यस्तोे निर्णय आउनु नेपाल र नेपाली जनताका लागि स्वागतयोग्य विषय हो । किनकी नागरिकको स्वास्थ्य भन्दा ठुलो पर्यटन बर्ष हुँदै होइन ।
बिश्वको अबस्था
चीनको उहानबाट फैलिन सुरु गरेको कोरोना आज विश्वका करिव ६४ मुलुक भन्दा बढि मुलुकहरुमा फैलिसकेको छ भने यो रोग फैलावटको रफ्तार तीव्र छ । यो आलेख तयार पार्दासम्म करिब ४२ हजार संक्रमित निको भएर घर फर्केको तथ्यांकहरुले देखाएका छन् । शुरुआती दिनमा चीनको मात्रै समस्याको हिसाबमा हेरिएको यो रोग आज बिश्वभरी फैलिनुमा सम्बन्धित देशकै हेल्चेक्राईले गर्दानंै हो भन्दा पक्कै अन्याय नहोला । प्राकृतिक बिपत्तिले कुनै देश, धर्म, जातजाति, धनि, गरिव कोही चिन्दैन । बिश्वब्यापीकरणले गर्दा आज कुनैपनि मुलुक कुनै न कुनै हिसाबले हरेक मुलुकसँग जोडिएका र निर्भर भएका छन् । अझ करिब डेढ अर्व जनसंख्या भएको मुलुक चीन र त्यस माथि आर्थिक विकासका हिसावले तिब्र गतिमा दौडिरहेको चीनसँग अन्य मुलुकको सम्बन्ध नहुने कुरानै भएन । बहुराष्ट्रिय कम्पनीहरुका ठुलाठुला उद्योगहरु पनि चीनमा नै छन् । बिशेष गरी कोरोनाको सुरुआती अवस्थामा पश्चिमा मुलुकहरु चीन बिरुद्ध खनिनुको साटो कोरेना बिरुद्ध तयारीमा लागेको र अन्य मुलुकहरुलाई कोरोना बिरुद्ध लाग्न प्रेरणा दिएको भए आज विश्व कोरोनाको डरले यसरी आक्रान्त रहनु पर्ने अवस्था हुने थिएन ।
छिमेकीको घरमा आगो लाग्दा खुसी हुने पश्चिमाहरुलाई छिमेकीको घरमा लागेको आगोले आफ्नै घर पनि सल्कन सक्छ भन्ने कुराको हेक्का नै भएन । त्यसैले आज अन्य राष्ट्रहरुले पश्चताप गर्नुपर्ने अवस्था सिर्जना भएको छ । भाइरसलाई भिषा चाहिँदैन भन्ने कुराको सामान्य हेक्का पनि पश्चिमाहरुले राख्न नसकेको कुरा सत्य सावित भएको छ । हाल चीन लगायत विश्वका करिब ६४ भन्दा बढी मुलुकमा यो भाइरस फैलिसकेको छ । कोरोनाको उद्गम स्थान चीनमा सबैभन्दा बढि संक्रमित र मृतकको तथ्यांक धेरै देखिन्छ । यो आलेख तयार पार्दासम्म चीनमा मृत्यु हुनेको संख्या करिब दुई हजार नौ सयको आसपासमा पुगेको छ भने संक्रमितको संख्या करिब ८० हजार आसपासमा पुगेको छ । पछिल्लो अबस्थामा चीनमा संक्रमितको संख्या बढ्ने दर र मृत्यु हुनेको दरमा निक्कै कमि आएको तथ्यांकहरु सार्वजनिक भएका छन् ।
तर चीन भन्दा बाहिर अनपेक्षित रुपमा डरलाग्दा तथ्यांकहरु पनि सार्वजनिक भैरहेका छन् । चीन भन्दा पछि दक्षिण कोरिया, इटाली, इरान जस्ता मुलुकहरुमा भयावह अबस्था सिर्जना भएको छ । दक्षिण कोरियामा करिब २० जनाको मृत्यु भैसकेको छ भने करिब २५ सयको आसपासमा संक्रमित छन् । संक्रमित र मृत्यु हुनेको दर दिनानुदिन बढ्दै गएको छ । त्यसैगरी इटालीमा संक्रमित नौ सयको आसपास र मृतक संख्या करिब बीस जनाको आसपासमा पुगेको छ । याहाँ पनि संक्रमित र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै छ । अझ इरानको अबस्था त झन भयावह देखिन्छ ।
कोरोना संक्रमण बढेका कतिपय मुलुकहरुले त राष्ट्रिय संकट घोषणा गर्दै विद्यालयहरु नैंै बन्द गर्न आह्वान गरेका छन् । दक्षिण कोरिया र पाकिस्तान सरकारले धेरै बिद्यालयहरु बन्द गर्न आदेश दिइसकेका छन् । कोरोना संक्रमणको कारणले दक्षिण कोरिया र अमेरिकाको शैन्य अभ्यास कार्यक्रम पनि रोकिएको छ । पहिला पहिला चीनबाट आउने मानिसहरुलाई विभिन्न मुलुकहरुले आफ्नो मुलुक छिर्ने क्रममा स्वास्थ्य चेकजाँच गर्दथे भने हाल जुनसुकै मुलुकबाट आए पनि चेकजाँच गर्न थालिएको छ ।
नेपालको अबस्था
विश्व स्वास्थ्य सङ्ठनले पछिल्लो ‘स्टेटमेन्ट’ जारी गर्दा कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको जनाएको छ ।नेपाल चीनको सबैभन्दा नजिकको छिमेकी मुलुक हो । चीनमा हुने हरेक राम्रा नराम्रा कुराहरुले नेपालमा सहज रुपमा असर पार्ने गरेको छ । प्राकृतिक होस् वा अन्य । छिमेकी मुलुक र सँगै जोडिएको भुगोलले गर्दा त्यस्तो असर देखिनु स्वभाविक हो । तर अचम्म यो छ कि, चीनबाट फैलिन शुरु गरेको कोरोनाले विश्वभर आतङ्क सिर्जना गर्दा पनि नेपालम किन फैलिएन भन्ने कुरा नै अहिलेको प्रमुख चासो बनेको छ ।
नेपालमा हालसम्म एक जना कोरोना संक्रमित व्यक्ति भेटिएको र उनी पनि निको भएर घर फर्किएको सरकारी तथ्यांक छ । केही दिन अघि सरकारले चीनबाट फिर्ता ल्याइ क्वारेन्टाइनमा राखेका कुनै पनि नेपालीहरुलाई यो संक्रमण देखिएन । दैनिक करिब सात हजार मानिसहरु बिभिन्न माध्यमबाट नेपाल प्रवेश गर्छन् । ति मानिसहरु धेरै त कोरोना संक्रमित मुलुक हरुबाट नै आएको देखिन्छ । तथ्यांकले के वताउँछ भने कोरोना संक्रमण शुरु भएपछि संक्रमणको उद्गम स्थलबाट एउटै चिनीयाँ नागरिक बारम्बार नेपाल आउने र जाने गरेको भेटिन्छ । हाम्रा सबै सीमाहरु निर्बाध खुला छन् । एक मात्र अन्र्तराष्ट्रिय बिमानस्थल पनि एउटा थर्मोमिटर गनले चेकजाँच गरेको भरमा चलेको छ । दैनिक सात हजार मानिस प्रवेश गर्ने स्थलमा कोरोना कसरी छिरेन भन्ने पनि लाग्न सक्छ । यसमा दुई तीन कुरा हुन सक्छन् ।
एउटा त हाल संयोगले नै भए पनि नेपालमा कोरोना छिरेको छैन । अर्को, नेपालीहरुको रोगसँग लड्ने क्षमता ज्यादा छ वा कोरोना भाइरसका लागि नेपालको हावापानी मलिलो छैन । कोरोना नेपालमा छिरिसक्यो तर कोरना फैलिने वातावरण नेपालमा छैन । यि तीन भन्दा अन्य कुनै पनि कारण देखिँदैनन् । धेरै जसो मानिसहरू नेपालमा कोरना नछिरेको कुरालाई स्वीकार्दैनन् बरु कोरोना नेपालको वातावरणका कारण फैलन नसकेको कुरामा बढि बिश्वास गर्दछन् । आम मान्छेको बुझाई सर्सर्ती हेर्दा सही पनि लाग्छ । सामान्यतया सरुवा रोगका भाइरसहरु मौसम परिवर्तन हुने समयमा बढी क्रियाशील हुने बैज्ञानिक आधारहरुले पुष्टि गरेको छ । साथै जाडोयामलाई सरुवा रोगहरुबाट कम जोखिम भएको समय पनि भनिन्छ । स्वाइनफ्लु लगायतका बिभिन्न फ्लुहरु पनि मौसम परिवर्तन हुने समयमै देखा पर्दछन् ।
तर अचम्म के छ भने, कोरोना भाइरस सुरुवात भएको ठाउँ उहानको तापक्रम अहिले पनि पाँच डिग्री भन्दा बढी छैन । र एकाध देश छाडेर हेर्ने हो भने यो भाइरस १४ डिग्री सम्म तापक्रम भएका ठाउँहरुमा ब्यापक फैलिएको देखिन्छ । हाल सम्म पत्ता लागाइएको तथ्याङकलाई आधार मान्दा कोरोना भाइरस २० डिग्री सम्मको तापक्रममा राम्रो सँग फैलिन सक्छ र १४ डिग्री सम्मको तापक्रम भनेको कोरोना भाइरसका लागि उर्वर ठाउँ हो । कोरोना भाइरस फैलिएका ठाउँहरुको तापक्रम हिसाब गर्ने हो भने उहान पाँच डिग्री, इरान १२ डिग्री, दक्षिण कोरिया १२ डिग्री र इटालीमा १४ डिग्री तापक्रम रहेको पाइन्छ ।अन्य मुलुकमा पनि यही अनुपातको तापक्रममा फैलिएको देखिन्छ । नेपालमा हालको तापक्रम १८ देखि २२ डिग्री रहेको छ ।
बिशाल आँधी अघिको सन्नाटा
नेपाल सरकारले केहीगरी कोरोना संक्रमित फेला परे भने ३६ अस्पतालका १ सय ४७ बेडहरुमा उपचार गर्ने तयारी गरेको छ । यदि नेपालमा संक्रमित भेटिए भने यि बेडहरु एकै रातमा भरिने छन् । चीनको जस्तो दुई दिनमै रातारात अस्पताल बनाउन सक्ने हाम्रो न त जनशिक्त, न त आर्थिक शक्ति न त इच्छा शक्ति नै छ । नेपालमा कोरनाको समस्या नआउँदै कालोबजारी हरुले मास्क ‘सर्टेज’ गराएका छन् । दुई रुपैयाँ पर्ने मास्कलाई ३५ रुपैयाँम सम्ममा बिक्रि गर्न थालिसकेका छन् । बजारमा ज्वरो नाप्ने थर्मोमिटरको मूल्य कृतिम रुपमा अत्याधिक बृद्धि भएको छ । अस्पतालका आइसियु, सिसियुमा चाहिने इन्जेक्सनहरु सर्टेज र अत्यधिक महङ्गो बनाइएको छ ।
सरकार र सरोकारवाला निकाएको यसमा रत्तिभर ध्यान गएको देखिदैन । यदि केहिगरी कोरोना भाइरस नेपालमा फैलियो भने त्यो बेला ५०० रुपैयाँमा पनि एउटा मास्क खरिद गर्न पाइने छैन । किनकी मास्क निर्यात गर्ने ठूला देशहरु चीन र भारतले मास्क निर्यातमा प्रतिबन्ध लगाइसकेका छन् । त्यति मात्रै होइन यस पटक नेपालको दुःखमा सधै साथ दिने मुलुक चीन आफँै दुःखमा परेको छ । यसलाई कोरोना बिरुद्धको लडाइँ जित्न हम्मे हम्मे परेको छ ।हामीलाई माया गर्ने अन्य मुलुकहरू पनि अफ्नै नागरिकको स्वास्थ्य सुरक्षाको चिन्तामा छन् । यो निश्चित छ कि कोरोना बिरुद्धको लडाइँ हामी एक्लैले लड्नु पर्ने हुन सक्छ । नेपाल सरकारले कोरोना बिरुद्ध जति तयारी गरेको छ त्यो कोरोना भाइरसको तिव्रता हेर्दा तयारी शुन्य बराबर छ । लाखौँ नेपालीहरु रोजगारीको सिलशिलामा विश्वका हरेक कुनामा पुगेका छन् । देशको अस्थिर आर्थिक परिस्थिति र बेरोजगारीका कारण बाध्यताले उनीहरु त्याहाँ पुगेका हुन् । ती सबै नेपालीहरुलाई चीनबाट प्लेन चार्टर गरेर स्वदेश फिर्ता ल्याएको झै स्वदेश ल्याउन देशले सक्ने अवस्था देखिँदैन । यस्तो अवस्थामा दूताबासमार्फत कुटनीतिक प्रयासलाई अझ मजबुद बनाउनु बुद्धिमानी कार्य हुन सक्छ ।
जाहाँ जाहाँ कोरोना भाइरस फैलिएको छ त्यहाँ एकाध मुलक छाडेर धेरै मुलुकमा नेपालीहरुको संख्या निक्कै धेरै छ । दक्षिण कोरिया त झन नेपालीको रोजाइको मुख्य ठाउँ नै हो । दक्षिण कोरियामा रहेका हजारौं नेपाली युवाहरु निदाउन छाडेका छन् ।उनीहरुको फर्कने अबस्था पनि राम्रो छैन । कोरोना संक्रमित मुलुकमा भएका नेपालीको संख्या र नेपाल सरकारको तयारी हेर्दा हाम्रो मुलुक कुनै पनि दिन भयावह र दर्दनाक अबस्थामा पुग्ने त होइन भन्ने अशंका उत्पन्न भएको छ ।
चीनबाट एकसय ७५ नेपाली ल्याउन त रस्साकसी भोग्नु परेको सरकारले दैनिक हजारौं नागरिकको उद्धार गर्नुपर्दाको अबस्था र उनीहरुको अस्पतालमा व्यवस्थापन गर्नुपर्दाको अबस्था हामीलाई कल्पना गर्न पनि कठिन हुन्छ । अहिले कोरोना विरुद्धको हाम्रो तयारी हेर्दा यो नेपालीलाई सर्ने रोग नै होइन भन्ने खालको तयारी छ । संसार कोरना बिरुद्ध लडिरहँदा हामी भने कोरोना नेपालीहरुको असल मित्र भए जसरी ब्यबहार र त्यही हिसाबले सुस्त तयारी गरिरहेका छौँ । सरकारी तयारी र सावधानी हेर्दा प्रत्येक नागरिक आक्रान्त, भयवित र त्रासदीपुर्ण जीवन बाच्न बाध्य छन् । सरकारको तयारी र नागरिकको त्रास देख्दा लाग्छ हाम्रो मुलुक नेपाल एउटा भयानक आँधि आउनु अघिको सन्नाटामा छ । यसका लागि हरेक नागरिक, सामाजिक संघ संस्था, रेडक्रश, सुरक्षा निकाय लगायतका सबै निकायहरु बेलैमा तयारी अवस्थामा रहन सकेको खण्डमा भुकम्पको समना गरेजस्तै अन्य प्रकोपको पनि सामना गर्न सक्थ्यौँ कि ? सयमबद्ध साप्ताहिकबबाट
प्रतिक्रिया