किन हुन्छ नेताहरुमाथि जुत्ता र मुक्का प्रहार ? 

किन हुन्छ नेताहरुमाथि जुत्ता र मुक्का प्रहार ? 

फणीन्द्र फुयाल ज्वाला

नेताहरुमाथि सार्वजनिक स्थलमा जुत्ता, मुक्का र चड्कन प्रहार हुनु नेपालमा पनि सामान्य झैँ लाग्न थालिसकेको छ । सुरक्षा निकायको कडा सुरक्षा घेरामा रहेका राजनेताहरुमाथि बेलाबेलामा मौका छोपेर आक्रमणकारीहरुले प्रहार गर्न थाल्नु एक त सुरक्षा निकायको सुरक्षा प्रणालीमाथि नै प्रश्न चिन्ह उव्जिनु हो भने अर्को महत्वपूर्ण प्रश्न भनेको नेताप्रति जनताको आक्रोश पोख्ने एउटा तरिका हो । नेपालका नेताहरुमाथि कहिले सदन त कहिले सडकमै चड्कन प्रहार भएका कयौँ दृष्टान्तहरु छन् । 

जव नेताहरु चुनावका बेला जनताका बीचमा गरिएका बाचाहरु सत्ताको कुर्सीमा पुगेपछि बिर्सने गर्छन् तव जनताहरुको रिस र आवेगको पारो चढ्छ र पारो ‘डाउन’ गर्ने माध्यम बन्छन जनताका जुत्ता, चप्पल अनि चड्कनहरु । देश गम्भीर राष्ट्रिय अजेण्डाको बहसमा होमिदा त्यसलाई विषयान्तर गर्न पनि यस्ता तपशीलका किचलो ल्याउने सम्भावना हुनसक्छ । 

जनता र राष्ट्रको सेवामा समर्पित भनिएका नेताहरुलाई माथि पु¥याउन जसरी जनताले घण्टौँ लाइनमा बसेर ढ्वाङमा मत खसालेका हुन्छन् उनीहरु जितेर सत्तामा पुगेपछि भ्रष्टाचार, अनियमितता, नातावाद, कृपावाद र अन्य गलत क्रियाकलाप गर्छन् भने नेताहरुलाई जुनसकै बेलामा फिर्ता बोलाउने अधिकार जनतामा हुने हो भने आक्रोस पोख्ने तरिका यस्तो नहुन सक्छ । जसले पद दिलाए उनीहरुले नै उक्त पद आवधिक निर्वाचन पूर्व नै खोस्न पाउनु नागरिकको अधिकार हो, हुनुपर्छ । वास्तवमा लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र, समाजवाद जे सुकै नामले पुकारे पनि वास्तविक जनअधिकार भनेको यही हो । यद्यपि यो आलेखमा नेताहरुलाई जुत्ता प्रहार गर्नुपर्छ, चड्कन र मुक्का वर्षाउन पाउनु पर्छ भन्न खोजिएको चाहिँ पटक्कै होइन ।

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार यस्तै घटना आइलाग्यो । काठमाडौंको राष्ट्रिय सभागृहमा उनीमाथि जुत्ता प्रहारको प्रयास भयो । प्रचण्डलाई जुत्ता लाग्न पाएन । तत्कालीन एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास गर्ने व्यक्ति जुम्ला जिल्लाका २२ वर्षीय रतन तिरुवा भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । उनी विप्लव नेतृत्वको नेकपामा आवद्ध युवा भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । 

तिरुवाले प्रहरीलाई बयान दिने क्रममा प्रचण्डले दिएको भाषणबाट आफूलाई चित्त नबुझेको बताएका छन् । प्रचण्डले भाषणका क्रममा भनेको वर्ग संघर्ष सम्बन्धी कुराले आफू आवेशमा आएको उनको भनाइ छ । ‘व्यवहार र बोलीमा एकरुपता देखिएन’, उनले भनेका छन् । उनले आफ्नो बुबा मनु तिरुवा दश वर्षे सशस्त्र द्वन्द्वमा मारिएको पनि दाबी गरेका छन् । 

तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाले प्रेस विज्ञप्ति जारी गर्दै उनको बुबा माओवादी द्वन्द्वका वेला मारिएको भन्ने विषयलाई खण्डन गरेको छ । साथै, माओवादीले तयार पारेको ११ हजार दुई सय २० जना शहीदको सूचीमा रतनका पिताको नाम छैन । एक हजार ९४ जना बेपत्ता योद्धाहरुको सूचीमा पनि रतनका बुबा मनु तिरुवाको नाम छैन । सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले रतनका बुबा भारत गएका बेला उतै बेपत्ता भएको तर रतनले शहीद भएको भनेर राज्यबाट विभिन्न लाभ लिइरहेको अभिव्यक्ति दिएका छन् । उनको जुत्ता प्रहारको प्रयास विभिन्न शक्ति केन्द्रको सुनियोजित योजना हो या तत्कालको आवेशको परिणाम हो त्यो त अनुसन्धानले बताउँछ । 

प्रचण्डमाथि प्रहार भएको यो पहिलो घटना भने होइन । नेपाल संवत ११३३ को अवसरमा तत्कालीन एनेकपा (माओवादी) ले आयोजना गरेको चियापान कार्यक्रममा पदम कुँवर नाम गरेका एक युवाले प्रचण्डमाथि झापड हानेका थिए । सार्वजनिक कार्यक्रममा प्रचण्डमाथि झापड हानिँदा प्रचण्ड नेतृत्वकै पार्टी सत्तामा थियो । त्यतिबेला बाबुराम भट्टराई प्रधानमन्त्री थिए । यसपटक प्रचण्डमाथि जुत्ता प्रहार हुँदा पनि प्रचण्डकै पार्टी सत्तामा छ । यसरी पटकपटक नेकपाका नेताहरुमाथि आक्रमण प्रयास हुनुलाई नेकपाका शीर्ष तहका नेतृत्वले भाषण गराइ र काम गराइबीच केही तालमेल मिलेको छैन कि भन्नेमा गम्भीर समीक्षा गर्नुपर्ने देखिन्छ । 

फेरि मुख्य कुरा, जोखिमपूर्ण सङ्घर्षको नेतृत्व गरेका प्रमुख नेतामा जनताको अपेक्षा अन्य नेताभन्दा धेरै हुनु अस्वाभाविक होइन । बढी आशा गरिएका नेता पनि अन्य सरदर नेताको नै हाराहारीमा आफ्ना बोली, व्यवहारमा लाग्छन भने बढी जनआक्रोस त्यही हुन्छ । प्रचण्ड नेतृत्वको निर्माण हजारौंको वलिदान र लाखौंको जोखिमपूर्ण सहभागितामा भएको हो । फेरि कुनै पनि नेतामाथिको भौतिक प्रहार आफूसँग भावनात्मक रुपमा जोडिएका कार्यकर्ताहरुबाट बढी हुने गरेको छ । 

कुन नेतामाथि कहिले प्रहार ?

नेताहरुमाथि जनताको प्रहारको सिलसिला यति मात्र होइन । गत २०७६ मााघ ७ गते तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालमाथि पनि हातपात भएको थियो ।  सुनसरीमा एमालेकै कार्यकर्ता देवीप्रसाद रेग्मीले खनाललाई झापड हानेका थिए ।
त्यसैगरी २०६९ असोज १३ गते नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालामाथि काठमाडौंको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा कांग्रेसको विद्यार्थी संगठन नेविसंघका प्रवेश बस्नेतले कुर्सी प्रहार गरेका थिए । कुर्सीले लागेर कोइरालाको शरीरको बायाँ भागमा सामान्य चोट लागेको थियो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि पनि २०५१ सालमा संसदमै जुत्ता प्रहार भएको थियो । तत्कालीन एमालेको तर्फबाट राष्ट्रिय सभामा सदस्य रहेका गोल्छे सार्कीले पौडेलमाथि जुत्ता प्रहार गरेका थिए । २०६५ जेठ १५ गते नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कामाथि पनि चप्पल प्रहार भएको थियो । खड्कामाथि तत्कालीन एमाले सभासद् कमला शर्माले चप्पल प्रहार गरेकी थिइन् ।

प्रथम संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका नेकपा (माओवादी) सभासद् झक्कु सुवेदीमाथि पनि झापड हानिएको थियो । १९ वैशाख २०६८ मा सुवेदीलाई तीनकुनेको एक चिया पसलमा झापड हानिएको थियो ।

नेताहरुमाथिको झापडको सिलसिला आगमी दिनमा अझै नबढ्ला भन्न सकिँदैन । तर नेता, नेतृत्व र राजनीतिक दलहरु इमान्दारिताका साथ देश र जनताका असली सेवक बन्न सके यस्ता झापड प्रहारहरुमा पक्कै पनि कमी आउने छ । राम्रो काम गर्दागर्दै प्रहार भएमा जनस्तरबाट नै कडा प्रतिवाद हुनेछ । देशमा दूरगामी असर पार्ने विषयहरुमाथि निर्णय गर्दा जनताका प्रतिनिधिहरुका आवाज, अल्पमतमा पारिएका जनताका आवाजहरुलाई लोतान्त्रिक सरकारले सुन्ने र उनीहरुका जायज मागहरु पनि सम्बोधन गर्ने हो भने यस्ता आक्रमणका प्रयासहरु सधैँको लागि अन्त्य हुने थिए कि ? समयबद्ध साप्ताहिकबाट