पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन
काठमाण्डौ । नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।
१३ दिनदेखि आईसीयूमा राखेर उपचार गराइरहेका ८४ वर्षीय नेता भरतमोहन अधिकारीको उपचारका क्रममा ह्याम्स अस्पतालमा आज निधन भएको हो ।
पूर्व उपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वासलगायतका समस्या देखिएका थिए ।
चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाह गरेका थिए अधिकारीले ।
२०५१ सालमा एमालेको नौ महिने शासनका अर्थमन्त्री अधिकारीले पहिलोपटक जेष्ठ नागरिकहरुलाई वृद्धभत्ता दिने र ‘गाउँ–गाउँमा सहकारी घरघरमा रोजगारी’ कार्यक्रम सुरु गरेका थिए ।
२०१८ सालदेखि कोशी प्रान्तीय कमिटीको सचिव बनेर कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका अधिकारी तेस्रो महाधिवेशनबाट पोलिटब्यूरो सदस्य निर्वाचित भएका थिए ।
१९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमणपुरा गाउँमा जन्मेका भरतमोहन अधिकारी पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ थिए ।
स्वर्गीय अधिकारीले २०७१ को महाधिवेशनबाट पार्टीको कुनै पनि जिम्मेवारी नलिने गरी स्वैच्छिक अवकाशको घोषणा गरेका थिए ।
प्रतिक्रिया