समाचार समीक्षा : सिङ्गो स्थानीय तह नै विकृतिको डङ्गुर ?

समाचार समीक्षा : सिङ्गो स्थानीय तह नै विकृतिको डङ्गुर ?

काठमाडौं । आज प्रकाशित प्रायः सबै दैनिक पत्रिकाहरुले पूर्व उप प्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधनलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा समाचार छापेका छन् । 

गोरखापत्र दैनिकले ‘नेता अधिकारीको निधन’ भनेर मुख्य समाचार लेखेको छ । नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठको हवाला दिएर दिवङ्गत अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि धुम्बाराहीस्थित नेकपा केन्द्रीय कार्यालयमा विहान ९ वजेदेखि १२ बजेसम्म राखिने सूचना दिएको छ ।  

आफ्नो गाउँ आफैं बनाऔं र बृद्धभत्ता जस्ता लोकप्रिय आर्थिक तथा सामाजिक कार्यक्रमका सूत्रधारका रुपमा गोरखापत्रले लेखेको छ । 

त्यस्तै नागरिकले पनि ‘अल बिदा अधिकारी’ भनेर मुख्य समाचार बनाएको छ । आफ्नो गाउँ आफैं बनाऔं, जेष्ठ नागरिकलाई वृद्धभत्ता, गाउँगाउँमा सहकारी घरघरमा रोजगारी जस्ता कार्यक्रम ल्याएर लोकप्रिय बनेका भरतमोहन अधिकारी तत्कालीन एमालेभित्र अर्थ राजनीतिमा दक्षता राख्ने पहिलो पंक्तिका नेताका रुपमा चिनिन्थे भन्दै नागरिकले विश्लेषण गरेको छ । 

‘रहेनन् बृद्धभत्ताका योजनाकार’ भनेर अन्नपूर्ण पोस्टले प्रथम पृष्ठमा समाचार लेखेको छ । संविधान सुझावदेखि मस्यौदासम्म अधिकारीको भूमिकालाई यो पत्रिकाले लेखेको छ । अन्नपूर्णले संविधान लेखनमा अधिकारीको भूमिकाका बारेमा पूर्व सभामुख दमननाथ ढुंगानाको प्रतिक्रिया राखेको छ । 

‘रहेनन् नेता अधिकारी, जसले बृद्धभत्ता ल्याएका थिए’ भनेर कान्तिपुर दैनिकले पनि प्रथम पृष्ठमा प्राथमिकताका साथ अधिकारीका बारेमा समाचार लेखेको छ । यस्तै नयाँ पत्रिकाले पहिलो कम्युनिस्ट सरकारका लोकप्रिय अर्थमन्त्रीको निधन भनेर प्रथम पृष्ठमा समाचार लेखेको छ । 


आजको कान्तिपुरले मुख्य समाचारमा वन मिचेर ढुंगा खानी शीर्षकमा समाचार बनाएको छ । नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गतको वन क्षेत्र मिचेर धुनीबेसी नगरपालिका १ छत्रे देउरालीमा वर्षाैदेखि कानुन विपरीत रोडा ढुंगा र चुनढुंगा खानी सञ्चालन भएको लेखेको छ । बन्द गर्न निकुञ्जले दिएको निर्देशन अटेर गरेको पनि समाचारमा उल्लेख गरिएको छ । 


ललितपुरस्थित किस्ट कलेजको एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क उठाउने गरेको र बढी शुल्क नतिरे हाजिरीमै रोक लगाउने गरेको समाचार कान्तिपुरमा लेखिएको छ । 


आजको अन्नपूर्णमा राष्ट्रिय स्वार्थमा विमति, दलीयमा एक भन्दै वाइड बडी लगायतको अनियमिततामा सहमति र कतिपय भागबण्डामा भने विमति उदाहरणसहित दिएर लेखेको छ । नेपालको पहुँच चार चार बन्दरगाहमा भनेर चीन र भारतसँग बराबरको सम्बन्धलाई अन्नपूर्णले उठाएको छ । 


अब नेपालले भारतका हल्दिया, बिशाखापटनम, ढर्मा र मुन्द्रा तथा चीनका तियानजिन, लियनयुंगा, सेन्जेन र झानझियाङ बन्दरगाह प्रयोग गर्ने समाचारमा उल्लेख छ ।


‘रक्सौल–काठमाडौं रेल ः दुई वटा मार्ग प्रस्ताव’ शीर्षकमा गोरखापत्रले समाचार लेखेको छ । समाचारमा लेखिएको छ, ‘प्रस्तावित छोटो दूरीको रेलमार्ग निर्माणका लागि चुनौतीपूर्ण छ । छोरो दूरीमा उकालो र ओरालो बढी हुनसक्छ भने टनेल निर्माण पनि आवश्यक हुनसक्छ । छोटो दूरीमा उच्च पुल धेरै मात्रामा निर्माण गर्नुपर्नेछ र त्यो अलि जोखिम पनि हुनसक्ने छ । त्यसैले लामो दूरीको मार्ग उपयुक्त हुनसक्छ ।’

 

नयाँ पत्रिका दैनिकले केही जनप्रतिनिधिका गलत आचरण र विकृतिको उदाहरण प्रस्तुत गरेर सिङ्गो स्थानीय तहलाई नै नकारात्मक हुने गरी मुख्य समाचार बनाएको छ । ‘स्थानीय जनप्रतिनिधिको भत्ता दैनिक १५ हजार, मेयरले साली र उपमेयरले श्रीमतीलाई भान्सेको नियुक्ति दिएर समेत तलब लिदैंछन्’ भनेर समाचार लेखेको छ । जुन स्थानीय तहमा यस्ता विकृति भएको हो त्यसैलाई तोकेर लेख्नुको साटो मुख्य समाचारको शीर्षकमा समग्र स्थानीय तहमै पूरै विकृति भएको जसरी लेख्दा एकातिर स्थानीय तह नै वदनाम हुने र समग्र प्रणालीलाई नै नकारात्मक असर पार्ने स्पष्ट छ ।