अर्थमन्त्रीलाई शेयरबजारले पत्याएन, सपथकै दिन ६८ अंकको पहिरो

अर्थमन्त्रीलाई शेयरबजारले पत्याएन, सपथकै दिन ६८ अंकको पहिरो

बुधबार शेयरबजार परिसूचक नेप्से भारी अंकले घटेको छ । नेप्से सूचक ६८.४७ अंकले सूचक घटेर १४४१ अंकमा बन्द भएको छ। 
बजार खुलेदेखि नै घट्न थालेको नेप्से बन्दहुने बेला फराकिलो अंकले घट्न पुग्यो। बुधबार १७४ कम्पनीका २ अर्ब ९० करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भए।

                  

डा. युवराज खतिवडाले मन्त्री पदमा निरन्तरता पाएपछि बजार घटेको ब्रोकरहरु बताउँछन्। हिजो अर्थमन्त्रीबाट राजीनामा दिँदा बढेको शेयरबजार आज फेरी उनले अर्थमन्त्रीको रुपमा सपथ खाएपछि भारी अंकले घट्न पुग्यो । यद्यपी शेयरबजाको यो घटाइलाई अर्थमन्त्रीको निरन्तरतालाई मात्र बुझ्नुभने मुर्खता हुनसक्छ । यसअघि निरन्तर बढेको शेयरबजारमा उधारोमा खरिद गर्ने लगानीकर्ताले रकम भुक्तानी गर्दा ठूलो सेलिङ्ग प्रेसर बढेको एक लगानीकर्ता बताउँछन् । 

आज जीवन बीमा कम्पनी सूचक ४५७ र निर्जवन बीमा कम्पनी सूचक ४०७ अंकले घटेको छ। लघुवित्त सूचक १४८ अंकले झरेको छ भने बाणिज्य बैंकको सूचक ६१ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका सवै उपसमूहका सूचक घटेको छ । 

बुधबारको कारोबारमा नेपाल लाइफको २६ करोड ६६ लाख, एनएमबि बैंकको १३ करोड ८९ लाख, हिमालयन डिस्टिलरीको १३ करोड २२ लाख, एनआइसी एसिया बैंक १३ करोड र गुँरास लाइफ १० करोड रुपैयाँको शेयर कारोबार भएको छ।

कोरोना भाइरसका कारण पनि बजार प्रभावित भएको केहीको तर्क छ। कोरोनाका कारण विश्व अर्थतन्त्रलाई पनि मन्दीमा लैजाने र त्यसको असर नेपालमा पनि पर्ने विश्लेषणको एकाथरीको तर्क छ ।