कोरोनाबाट बच्न मासु र मदिरा बन्द गर्नुपर्ने सांसदको माग

कोरोनाबाट बच्न मासु र मदिरा बन्द गर्नुपर्ने सांसदको माग

काठमाडौं, २३ फागुन ।  विश्‍वका ८० भन्दा धेरै देशमा नोभल कोरोना भाइरसले महामारी लिइरहेका बेला नेपालमा सरकारको तयारी नभएको भन्दै सांसदहरुले आरोप लगाएका छन् । 

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले दर्ता गराएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै सांसदहरुले सरकारको तयारीबारे प्रश्‍न उठाएका हुन्।

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मेटमणि चौधरीले कोरोना भाइरसबाट सतर्कताका लागि अब सबैले साकाहारी बन्‍नुपर्नेमा जोड दिए।  कोरोनाले तीन हजार भन्दा धेरैको ज्यान लिइसकेपछि चीनले त्यहाँका नागरिकलाई साकाहारी बन्‍न आग्रह गरेको उनले स्मरण गराए। 'चीनले पनि त्यहाँका नागरिकलाई साकाहारी बन्‍न आह्‍वान गरिसकेको छु, उनले भने, ुचीनले पनि अपनाएकै विधि नेपालमा पनि अपनाउन जरुरी रहेको छ।'

सांसद चौधरीले अबको कम्तीमा एक महिना नेपाललाई रक्सीमुक्त बनाउन पनि आग्रह गरेका छन्। 'एक महिनाका लागि नेपाललाई रक्सीमुक्त बनाऔँ', उनले भने, 'कोरोना भाइरसबाट जोगिन सबैले सजगता अपनाऊँ। मासु खान बन्द गरौँ, तत्काललाई मदिरा पिउन पनि बन्द गरौँ, सरकारले नेपाललाई एक महिनाका लागि मदिरामुक्त बनाओस्।'