दक्षिणपन्थीको अर्को हतियार साझा पार्टी

दक्षिणपन्थीको अर्को हतियार साझा पार्टी

एनके दाहाल

पूर्व राजा ज्ञानेन्द्र शाह भारत भ्रमण सकेर फर्केका छन । धार्मिक भ्रमणको नाममा पटकपटक देश विदेश भ्रमण गर्ने ज्ञानेन्द्रले राजनीतिक भेटघाट गरिरहेका छन् । उनले धार्मिक आवरणमा राजनीतिक उद्देश्य राखेर भेटघाट गर्ने गरेको कसैबाट छिपेको छैन । भारतीय जनता पार्टी उनीप्रति सहानुभूति राख्छ भन्ने कुरा कसैबाट छिपेको छैन । भारतीय जनता पार्टीका बिभिन्न सम्पर्क सूत्र र नेताहरुसँग भेट गरेर ज्ञानेन्द्रले उनको भाषामा नेपालको अस्थिरता अन्त्य गर्न राजसंस्था आवश्यक रहेको बताउने गरेका छन् । पछिल्लो चरणमा उनले भारतलाई नेपालको राजनीतिमा जवर्जस्ती तान्ने प्रयास गरिरहेका छन् ।

 २०६३ को परिवर्तनलाई नेपाल राजनीतिक दलहरु र राजसँस्था (उनी) ले गरेको सम्झौता भारतको मध्यस्थतामा भएको भनेर ब्याख्या गर्ने प्रयास गर्ने गरेका छन् । नेपालका राजनीतिक दलहरुले भारतले गरेको मध्यस्थता र त्यतिखेर भएको सहमति विपरीत राजनीतिक प्रणाली स्थापना गरेकाले भारतको सक्रियतामा त्यतिखेरकै सहमति कायम गरिनु पर्ने बताउने गरेका छन् । अर्थात ज्ञानेन्द्र भारतको हस्तक्षेप गराएर नेपाललाई पछाडि फर्काउने प्रयासमा छन् । नेपालमा कमल थापा लगायतका पूर्व पञ्चहरुले ज्ञानेन्द्रको चाहना पूरा नगरेपछि उनी भित्रभित्रै नयाँ शक्ति पनि खोजिरहेका छन् । 

संयोग नै भनौ, पूर्व राजा ज्ञानेन्द्र शाह भारतमै रहेको बेला साझा पार्टीले ज्ञानेन्द्रको चाहना अनुरुपको एउटा राजनीतिक निर्णय गरेको छ । धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह माग गर्दै साझा पार्टीको १४ बुँदे लुम्विनी घोषणापत्र जारी भएको छ । उसले भनेको छ, संविधानमा उल्लेख भएको धर्मनिरपेक्षता र संघीयताको बारेमा जनताको मत जान्नुपर्ने भएको, ती दुई बिषय जनताले अंगिकार गरेका छन् कि छैनन् भन्ने जान्न जनमत संग्रह गर्नुपर्छ । साझा पार्टी स्थापना भएपछि देशभरबाट यसप्रकारको भेला सम्भवत पहिलो पटक भएको हो । देशभरमा साझा पार्टीका कस्ता ब्यक्तिहरु नेता भएका छन् भन्ने पनि यसपटक प्रकट भएको छ । बैकल्पिक राजनीतिक शक्तिको दुहाई दिदै जनतामा गए पनि जनताले नपत्याएको साझा पार्टी अन्ततः आफ्नो राजनीतिक लाइनमा आएको छ । साझा पार्टी स्थापना गर्दा त्यस पार्टीका नेताहरुले बाहिर जे भने पनि भित्री उद्देश्य जुन राखेका थिए, अहिले त्यो सार्वजनिक भएको छ । स्पष्ट छ, थोरै भीड जुटाउन सक्ने तागत राख्ने बित्तिकै साझा पार्टीले गणतन्त्रको बिषयमा पनि यस्तै माग राख्नेछ । साझा पार्टी नेपाल र नेपाली जनताको चाहनाको होइन, दक्षिणपन्थी राजनीतिको बैकल्पिक शक्ति बन्ने प्रयासमा जुटेको छ । सायद पछिल्लो चरणमा विश्वमा नै परम्परागत लोकतन्त्रलाई कमजोर बनाउन खोज्ने डोलान्ड ट्रम्प, नरेन्द्र मोदी जस्ता नेताहरु उदाएको अबस्थामा नेपालमा पनि त्यस्तो शक्ति उदाउन सक्छ भन्ने सोचेर साझा पाटीले दक्षिणपन्थी बैकल्पिक शक्तिको रुपमा उदाउने प्रयास गरेको छ । 

अस्पष्टतामा अल्मल्याउने प्रयास

साझा पार्टीले धर्मनिरपेक्षता र संघीयतालाई जनमत सङ्ग्रहमा लानुपर्ने बिषय सार्वजनिक गर्दा पनि अस्पष्टतामा टेकेर जनतालाई अल्मल्याउने प्रयास गरेको छ । सो पार्टीका नेता रवीन्द्र मिश्रका अनुसार बढ्दो रूपमा विवादित बन्दै गएको र दीर्घकालसम्म देशलाई असर गर्ने दुई विषय धर्मनिरपेक्षता र संघीयताबारे जनमत सङ्ग्रहले नै प्रष्ट पार्नुपर्छ । अहिले साझा पार्टी धर्मनिरपेक्षता र संघीयताको सवालमा पक्ष र विपक्षमा छैन । त्यसको अर्थ यस्तो होला, दक्षिणपन्थी र राजतन्त्रवादीहरुले जे माग राखेका छन् मैलै पनि त्यही माग राखेको छु, तर जनता कता ढल्कन्छन भन्ने थाहा नपाई किन आफूलाई कतै उभ्याउने ? जसले जति भाषण र आक्रोश पोखे पनि धर्मनिरपेक्षता र संघीयता बिरोधीहरुले राजनीतिक रुपमा कुनै जमिन टेक्न पाएका छैनन् । पहिलो संविधानसभा असफल भएपछि जनतामा देखिएको तत्कालीन आक्रोसको परिणाम कमल थापाले केही मत पाएको बाहेक परिवर्तनको मुद्दा विरोधीहरुलाई जनताले कुनै स्थान दिएका छैनन् । ठूला ठूला कुरा गर्ने मिश्रहरुलाई जनताले नपत्याए पनि प्रतिरोध गरेका छैनन् । प्रतिरोध हुन्छ भन्ने डरले साझा पार्टीले बीचको बाटो रोजेको छ । दक्षिणपन्थी र परिवर्तन बिरोधीले राखेका मागलाई नयाँ शिराबाट उठाउने प्रयास गरेको छ । तर उसको अन्तिम गन्तब्य कमल थापा र ज्ञानेन्द्रकै पथ हो भन्ने कुरामा अब भने कुनै दोधार हुनुपर्ने छैन । 

नेपाली कांग्रेसमा पनि धर्म निरपेक्षताको बिषयमा बहस छ । मूल नेतृत्वले नै बेला बेला धरमराउने गरी त्यो बहस छेड्ने गरेको छ । तर आम पार्टी पंक्ति र अधिकांश नेता त्यसबाट पछि हटनु हुन्न भन्ने पक्षमा रहेकोले कुनै निर्णय हुन पाएको छैन र यस्ता बिषयले पार्टीमा आधिकारिक बहसको बिषय बन्न सकेको छैन । तर दक्षिणपन्थीहरुको प्रयास भने जारी छ । कांग्रेसको आगामी महाधिवेशनमा यसलाई एजेण्डाको रुपमा लाने प्रयास भइरहेको छ । कांग्रेसलाई यो बाटोमा लान सकिन्छ कि सकिदैन अनि लाँदा कस्तो प्रतिक्रिया आउला भनेर दक्षिणपन्थीहरुले साझा पार्टीको नाममा एउटा परीक्षण गर्न खोजेका हुन । त्यसो त जति पारदर्शिता र लोकतन्त्रका कुरा गरे पनि स्पष्ट राजनीतिक लाइन नभएपछि केही हुदैन भन्ने प्रमाणित भएपछि साझा पार्टीलाई स्पष्ट राजनीतिक लाइनमा उभ्याउन पनि जनमत संग्रहको माग राखिएको हो । तर लामो र उर्जाकालिन समय जोखिम नउठाई सहज जीवनयापनमा लागेका ब्यक्तिहरु आबद्द साझा पार्टीले यसपटक पनि स्पष्ट राजनीतिक लाइन समात्न सकेन । तन, मन र बिचार दक्षिणपन्थमा भए पनि यस्ता माग लिएर जाँदा जनताले लखेट्छन कि भन्ने भयले अस्पष्टतामा अलमल्याउने प्रयास भएको छ । 

साझा पार्टी अब कस्तो होला ?

साझा पार्टीले भित्री उद्देश्य पछाडि फर्किने राखे पनि जनताका बीचमा जाँदा पारदर्शिता र विकासलाई एजेण्डा बनाएर जसरी गइरहेको छ, त्यसैगरी जानेछ । धर्मनिरपेक्षता र संघीयताका बिषयलाई पनि बौद्दिक लाग्ने जसरी तर्क गरेर जनमत संग्रहको माग गर्दै जानेछ । कमल थापाहरुसँग भित्री रुपमा सहकार्य भए पनि बाहिर भने उनी अपारदर्शी भएको, राजनीतिक रुपमा पञ्च भएको, असफल भएको जस्ता तर्क दिएर एक्लै हिडेको देखाइनेछ । अन्य पार्टीमा काम नपाएका, जीवनयापनको लागि पेन्सनले पुग्ने या बिगतको रकमलाई बैध बनाउन बाँकी रहेका, व्यापार व्यवसाय या केही काम गरी फुर्सदको समय देशको लागि काम गर्छु भन्नेहरुको भीड जुटाएर गठन भएको साझा पार्टीमा अब गणतन्त्र स्थापना भएको मन नपराउनेहरुदेखि धेरैलाई केही समय आकर्षित गर्नेछ । भलै मतमा भने त्यसरी लाग्नेहरुको परिवारले पनि साथ नदेलान । केही समय जनमत संग्रहको माग राख्दा मान्छेहरुको आकर्षण भएमा साझा पार्टीले धर्मनिरपेक्षता र सघीयता खारेजको माग राखी गणतन्त्रलाई जनमत संग्रहमा लानुपर्ने माग राख्न सक्नेछ । तर, जोखिम उठाउने अवस्था देखेमा भने अहिलेकै जसरी अघि बढ्नेछ । साझा पार्टी बैकल्पिक राजनीतिक शक्ति भनेर जसरी आएको थियो, अब त्यो समाप्त भएको छ । ऊ सिर्फ दक्षिणपन्थी राजनीतिक शक्तिको वैकल्पिक शक्तिको रुपमा आउन प्रयासरत छ । त्यस अर्थमा साझा पार्टी ज्ञानेन्द्रको राजनीतिक प्रयासको एउटा सारथी बन्न पुगेको छ । रवीन्द्र मिश्र कमल थापाको नयाँ आवरणमा प्रकट भएका छन् । समयबद्ध साप्ताहिकबाट