विचारको सङ्घर्ष र कम्युनिस्ट पार्टी

विचारको सङ्घर्ष र कम्युनिस्ट पार्टी

कम्युनिस्ट पार्टी वैचारिक सङ्घर्षको निरन्तरता हो । वैचारिक बहसले ल्याएको विवादले कम्युनिस्ट पार्टीलाई विचारमा खार्छ । जब वैचारिक संघर्ष संगठनमा अनुपस्थित हुन्छ त्यही दिनदेखि विचारका आधारमा कम्युनिस्ट पार्टी रहदैंन ट्रेड मार्कको आधारमा रहनु अपवाद हो । यसरी नेपालको कम्युनिस्ट पार्टीमै पनि कैयन पटक पार्टीमा विवाद भयो । कैयन पटक मिल्यो तर फेरि पनि नेपाल कम्युनिस्ट पार्टी कायम रहेको छ । फरकफरक वैचारिक पृष्ठभूमि नै सही लामो समय कम्युनिस्ट पार्टीमा रहेको नाताले भन्न सकिन्छ कम्युनिस्ट पार्टी एकीकृत नै रहन्छ । एमसीसी, राष्ट्रिय सभाको विवादले अप्ठ्यारो भने पारेको छ । राष्ट्रिय सभामा निर्वाचनकै सन्दर्भमा भएको बहसलाई हेर्दा पार्टी, सरकार कसले चलाएको छ ? यो विषयले किनारा नपाउँदासम्म विवादको चुरो पनि भेटिदैन । 

पार्टी र सरकारको विवाद निकै गरम छ । दुई अध्यक्षको विवाद चर्किएको छ । दुई हात्तीको लडाईंमा पार्टी मैदानमा घाँस माडिएको जस्तो भएको छ । यति नै कुराले सबै विषयको छिनोफानो भने लगाउँदैन । जबसम्म दुवै अध्यक्षको विवादको वैचारिक चुरोको भुत, वर्तमान र भविष्यको सङ्केत थाहा पाइन्न तबसम्म यसमा आम बहस हुन सक्तैन । यसै परिदृश्यमा विवादको बहस वैचारिक रुपमा बाहिर आएमात्र यसले निकास पाउने सम्भावना पनि त्यत्ति नै रहन्छ । विश्व कम्युनिस्ट आन्दोलन महान बहसहरुबाटै परिस्कृत भएका हुन । तिनै महान बहसको आलोकमा कम्युनिस्ट आन्दोलनको विकास भएको मान्न सकिन्छ । तर, नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य महान बहसको हैसियतमा पुग्दा मात्र त्यस्तो अपेक्षा गर्न सकिन्छ । यसबाहेक यस्ता बहसहरु किचलोमा मात्र परिणत हुनेछ ।

नेपालमा कम्युनिस्टको बर्चस्वको सरकार छ । एउटा अध्यक्षले सरकारको नेतृत्व गरिरहेको स्थिति छ । अर्का अध्यक्षलाई पार्टीको कार्यकारी अध्यक्ष बनाइएको छ । तर, सरकार र पार्टीको असन्तुलनदेखि जान्नेको लागि नयाँ कुरा छैन । जनतालाई राम्रो गर्ने, सुशासन कायम गर्ने अवस्थामा चर्काे बहस गरेर बसेको अवस्था छ । भेडाको लडाईं बाख्राको पाठाले हेरिरहेको जस्तो दृश्य पनि छ । वामदेवलाई राष्ट्रिय सभामा लैजाने कुरा पहिले नै भएको हो । संविधान संशोधनको शर्त उनले राखे । संविधान संशोधन पनि गर्नका लागि कार्यदल बनाइयो । तर, त्यसको गोप्य तयारी गर्ने कुरा थियो । सार्वजनिक भयो । यो सार्वजनिक प्रधानमन्त्रीको सचिवालयबाट नै भएको वामदेव गौतम लगायतको बुझाइ रहेको छ । तर यो प्राविधिक मुद्धालाई विशेष प्राथमिकता दिँदा विचार ओझेलमा परेको हो । सम्पादकीय, समयबद्ध