बूढापाकाका भरपर्दा अभिभावक भरतमोहन 

बूढापाकाका भरपर्दा अभिभावक भरतमोहन 

फणीन्द्र फुयाल

काठमाडौं । जव पहिलो पटक २०५१ सालमा मनमोहन अधिकारीको नौ महिने सरकार बन्यो तव गरीव नेपाली जनताले झिनो आशाको सास फेरे । पञ्चायती र काँग्रेसीहरुको शासनसत्ताबाट वाक्कदिक्क भएका जनतामा थोरै भए पनि त्यो सरकारले अभिभावकत्व पैदा गरिदियो । काँग्रेससँग वाक्क दिक्क भएका जनता मनमोहनको पहिलो कम्युनिष्ट सरकार बनेपछि निकै हर्षित भए । जनतामा आशाको दियो झलक्कै बल्यो । 

२०५१ को मंसिर १४ गते नेपालमा मात्र नभएर दक्षिण एसियामै एउटा नौलो इतिहास कोरिएको थियो । त्यस्तो उल्का के भयो त ? यो के थियो भने दक्षिण एसियामै पहिलो पटक कम्युनिष्टले चुनाव जितेर नेपालमा सरकार निर्माण गरेको थियो ।

मनमोहन प्रधानमन्त्री भएको भोलिपल्ट उनले आफ्ना सहोदर भइ भरतमोहनलाई अर्थमन्त्री बनाए । पहिलो पटक अर्थमन्त्री बनेका भरतमोहनले बजेट भाषणमार्फत ७५ वर्ष पुगेकाहरुलाई बृद्ध भत्ता दिने घोषणा जव गरे तव गाउँ गाउँका बूढापाकाहरु उनीप्रति झुकाव राख्न थाले । के युवा, के बृद्धा, के काँग्रेस, के पञ्च अनि के तटस्थ ? सबैको आँखामा बस्न उनी त्यहीबेलादेखि थालिसकेका थिए, जतिबेला उनले बृद्ध भत्ता, आफ्नो गाउँ आफैं बनाउँ, गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी जस्ता कार्यक्रमहरु अघि सारे । उतिबेला त्यो रकम थोरै अर्थात, मासिक सय रुपैयाँको थियो तर त्यो सुरुआत भने आफैमा युगान्तकारी, कोशेढुंगा र हिम्मतिलो थियो ।

आज उनले थालनी गरेको बृद्ध भत्ताले आयतन फराकिलो पारेको छ । सोही भत्ता सामाजिक सुरक्षा भत्ताको रुपमा नमाङ्करण भएको छ र एकल महिलाले पनि सो भत्ता प्राप्त गर्ने व्यवस्था बनेको छ । आज सो भत्ता बृद्धि भएर मासिक दुई हजारमा पुगेको छ र अझै बृद्धि भएर पाँच हजारसम्म पु¥याउने वचनबद्धता निर्वाचनका बेला तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणापत्रमा गरेका छन् । त्यही सरकारले सुरुआत गरेको बृद्ध भत्ता आज सबै राजनीतिक दलको मुख्य चुनावी ऐजेण्डा बनेको छ ।

संसारभरबाट कम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा पुगेका बेला नेपालमा भने कम्युष्टिहरुको उदय हुँदै थियो । कम्युनिष्ट सत्तामा  पुगेको एक वर्षपछि नेपालमा महान जनयुद्धको सुरुआत भयो र आज त्यसैको जगमा नेपालमा नयाँ संविधान निर्माण, सबैभन्दा ठूलो दुई तिहाइको कम्युनिष्ट सरकार निर्माण भएको छ र देश समाजवाद उन्मुख भएको छ अनि आर्थिक क्रान्तिको मार्गदिशा कोर्दैछ । 


तिनै कम्युनिष्ट सरकारका पहिलो अर्थमन्त्री भरतमोहन अधिकारी हामीबाट बिदा भएका छन् । १३ दिनदेखि आईसीयूमा राखेर उपचार गराएका  ८४ वर्षीय नेता भरतमोहन अधिकारीको उपचारकै क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा शनिबार राति निधन भयो । अल विदा भरतमोहन !