दुई घटनाले देखाएको सङ्केत

दुई घटनाले देखाएको सङ्केत

पहिलो घटना

विश्व बैंकसहित पश्चिमा शक्तिहरुको अर्थनीतिलाई जस्ताको तस्तै नेपालमा कार्यान्वयन गर्ने डा. युवराज खतिवडालाई राजीनामा दिएको भोलिपल्ट हतार–हतार पुनः अर्थमन्त्रीमा नियुक्त गरियो । प्रधानमन्त्री अस्पतालको बेडमा उपचारार्थ रहिरहेको बेलामा प्रमको अनुपस्थितिमा खतिवडालाई राष्ट्रपति विद्या भण्डारीले शपथ ग्रहण गराइन् । 

नेपाली कांग्रेसका नेता डा. रामशरण महत, राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीजस्तै खतिवडा पश्चिमा पुँजीवादी अर्थतन्त्रका हिमायती हुन् । स्व. गिरिजाप्रसाद कोइराला आफूले नचाहँदा नचाहँदै पनि महतलाई ल्याउन बाध्य थिए । शेरबहादुर देउवाका त उनी प्रियपात्र हुने नै भए । नेपालको अर्थराजनीतिमा पनि खतिवडा, महत, लोहनी एकै सिक्काका दुई पाटा हुन् । यसर्थ, नेपाली कम्युनिस्ट आन्दोलनमा गोरु बेचेको साइनो सम्म नभएका खतिवडा इतिहासमै बलियो कम्युनिस्ट पार्टीको सरकारमा घुमीघुमी मन्त्री भएका हुन् । राष्ट्रिय सभाको गोला प्रथाले उनलाई दुई वर्षपछि नै गोल हानेपनि उनको ‘भाग्य’माथि भने गोल हान्न सकेन ।

दोस्रो घटना

राष्ट्रिय स्वाधीनताका पक्षधर, नेपाल र चीनको सम्बन्ध सुदृढ गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेका चीनस्थित नेपालका राजदूत लीलामणि पौडेललाई छ÷सात महिना अवधि बाँकी रहँदै राजदूतबाट आकस्मिक निर्णय गरेर फिर्ता बोलाइयो । हुनत उनलाई यतिखेरै बोलाउन सजिलो पनि भयो । ललितानिवास प्रकरणमा उनको नाम पनि मुछिएकोले बोलाइएको होला भन्न सहज अर्थ लाग्ने र जनसमर्थन पनि बटुल्ने सरकारको तुरुप हुनसक्छ । तर, यतिनै मात्र कारणले लीलामणिको फिर्तीको अर्थ लाग्दैन । यसको अन्तर्यमा धेरैविषयहरु छन् ।देख्दा यी दुई घटना सामान्यजस्ता लागे पनि यसले नेपालको राष्ट्रिय राजनीतिमा दूरगामी अर्थ राखेको छ । 

रणनीति र कार्यनीति

केपी ओलीको नेतृत्वको सरकार यतिबेला पश्चिमा शक्तिहरुप्रति रणनीतिक र छिमेकीहरुप्रति कार्यनीतिक सम्बन्ध राख्न लागिपरेको देखिएको छ । प्रारम्भमा पार्टी अध्यक्ष केपी ओलीले राष्ट्रियतालाई केन्द्रमा राखेका थिए । सरकार बनेको समयमा उनको अडान राम्रो थियो । चीनसँग व्यापार तथा पारवहनसहित १० बुँदे ऐतिहासिक सहमति पनि गरे । भारतीय शासकको अमानवीय नाकाबन्दीका विरुद्ध ओलीको दृढ अडानकै कारण निर्वाचनमा पनि सकारात्मक प्रभाव परेकै हो । कम्युनिस्ट पार्टीको एकीकरणमा पनि उनको भूमिका उल्लेखनीय छ । तर यतिखेर ओली सरकार कार्यनीति र रणनीतिलाई असंगत बनाउन लागिपरेको घटनाक्रमहरुले देखाएका छन् ।

जनताको अपेक्षा

कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारबाट जनताले राष्ट्रिय स्वाधीनताको रक्षा र समृद्धिको अपेक्षा गर्नु स्वाभाविक नै थियो । तर पछिल्लो समयसरकारको कामकार्वाही जनअपेक्षा अनुरुप हुन सकेको छैन । सरकारप्रति जनताको भरोशा खस्कँदो छ । सरकरका निर्णय र कार्यहरु जनअपेक्षाविपरीत नकारात्मक दिशातिर गइरहेको अनुभूत भइरहेको छ ।कुनै पनि समस्याको केन्द्रविन्दु विचार नै हुन्छ । राजतन्त्रको अन्त्यपछि एक हदसम्म लोकतन्त्रको कार्यान्वयन भएको नै मान्नुपर्छ । तर गणतन्त्र संस्थागत गर्ने विषय ओझेलमा मात्र परेको छैन, गणतन्त्रमाथि नै वितृष्णा पैदा गर्ने काम भएको छ । अबको मूल मुद्दा राष्ट्रिय स्वाधीनता नै हो । नेपाल कम्युनिस्ट पार्टीले स्थापनाकालदेखि नै प्रमुखताका साथ उठाएको विषय भनेको जनतन्त्र र राष्ट्रियता हो । विकास र समृद्धिको विषय राष्ट्रिय स्वाधीनतासँग अनिवार्य रुपमा जोडिएका छन् । यी प्रश्नको हल हुने जवाफ बाहिर आउन सकेको होइन ।

पश्चिमलाई रातो गलैंचा

सरकार एकपछि अर्काे गर्दै पश्चिमा, खासगरी अमेरिकासँग झुक्दै गएको देखिंदैछ । यतिखेर एमसीसी रगएको समयमा ‘होली वाइन’ पश्चिमी डिजाइनमा भएको थियो । अमेरिकी पर्यटकलाई छ महिना, पिस्कर भोलेन्टियरलाई दुई वर्षको भिसाको विशेष व्यवस्था गरिएको छ । यही सुविधा छिमेकी देश चीनबाट आउने पर्यटकको सवालमा लागु गरिएको छैन । चीनसहित विदेशी नागरिकलाई तीन महिनाको भिसा र भोलेन्टियरलाई छ महिनाको दिने व्यवस्था छ । शेरबहादुर देउवाले त चिनियाँ भोलेण्टियरलाई खेद्ने काम नै गरेका थिए । 

राष्ट्रिय परिचयपत्र, सेक्युरिटी प्रिन्टिङ र सेटलाइटमा समेत यो सरकारले अमेरिकी शासक निकट देशसँग सम्झौता गर्ने प्रयास गर्यो । फ्रान्सलाई दिने प्रपञ्च ग¥यो । फ्रान्स, इजरायल, बेलायत, क्यानडा, नर्वे, जापान, दक्षिण कोरियासहितका कतिपय देशलाई आफ्नो स्वार्थका लागि अमेरिकाले बेलाबेलामा प्रयोग गर्छ । सीधैभन्दा घुमाएर आउनु पर्यो भने उसले तिनलाई दुरुपयोग गर्छ । अमेरिकाले नेपाललाई इण्डो–प्यासिफिक स्ट्राटेजीअन्तर्गत लैजान खोजिरहेको छ । 

अमेरिकी अनुसन्धान विभागको कार्यक्रमलाई तत्कालीन सेना प्रमुख राजेन्द्रबहादुर क्षेत्रीले ह््यात होटलमा उद्घाटन गरेको विषय धेरै समय भएको छैन । संयुक्त सैन्य अभ्यासका नाममा नेपाल र अमेरिकी सेनाको अभ्यास भइरहेका छन् । नियमित कार्यक्रम हुनु स्वाभाविक हुनसक्छ तर संयुक्त सैन्य अभ्यासले यस क्षेत्रमा अनावश्यक तरङ्ग पैदा गर्नसक्छ । बिम्स्टेकको संयुक्त सैन्य अभ्यासलाई बेठीक भनेर त्यतिबेला सरकारले ठीकै गरेको थियो । तर, त्यो अडानमा सरकार टिकिरहेको छैन । यही नै विचित्र छ ।

अमेरिकी रणनीति

जनयुद्धकालमा अमेरिकाको सैन्य रणनीति र योजनामा रेञ्जर बटालियन बनाइयो । त्यो अहिले ब्रिगेड स्तरमा पुगेको छ । लजिस्टिक, तालिमहरु अमेरिकी मोडालिटीमा भइरहेको छ । इण्डो–प्यासिफिक रणनीतिमा नेपाल, श्रीलंका पस्यो भनेर भनियो । नेपालले भ्रम हटाउन अझै सकेको छैन । नेपालमा स्थल सेना राख्ने भनेर उच्च स्तरमा कुराकानी भएको भनेर विभिन्न मिडियामा समाचारहरु आइरहेका छन् । राजदूत लिलामणि पौडेललाई बेइजिङबाट हठात फिर्ता बोलाउनु अनि डा. युवराज खतिवडालाई म्याद सकिएको भोलिपल्टै अर्थमन्त्रीमा पुनः नियुक्त गर्नु अस्वाभाविक अन्तर्राष्ट्रिय चलखेलकै सङ्केत हो । 

नेपालमा रहेका उत्तर कोरियाली नागरिकलाई अकारण नै नेपालबाट निकाला गर्नु अमेरिकी दवाबको रणनीति नै हो । चीनका राष्ट्रपति सी जिन पिङ आउँदा चीनविरुद्ध गतिविधिमा लागेका तिब्बतीहरुलाई सुपुर्दगी सन्धि गर्ने अन्तिम तयारी भएर पनि अमेरिकी दवाबका पछि हट्नु राम्रो सङ्केत थिएन । यी घटना र प्रसङ्गले छिमेकीसँग कार्यनीति र अमेरिकासहित पश्चिमा शक्ति केन्द्रसँग रणनीतिक ढंगले लागेको नै सङ्केत मिल्छ । यही रफ्तारमा पश्चिमा दिशामा राजनीति हुँइकिने हो भने नेपाल इण्डो–प्यासिफिक रणनीतिमा मात्र जाँदैन,नेपालमा अमेरिकी सैन्य क्याम्प रहँदैन भन्न पनि सकिंदैन । त्यसो भएमा नेपाल अफगानिस्तान, इराक, लिबियाजस्तै द्वन्द्वग्रस्त क्षेत्रमा बदलिने खतरा रहन्छ ।पश्चिमालाई रातो गलैंचा विछ्याएको यिनै विषयले पुष्टि गर्छन् । यो बेलामा गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था आएको हैन र ? समयबद्ध साप्ताहिकबाट