कोरोनाको कहर : अर्गानिक ढोगभेट

कोरोनाको कहर : अर्गानिक ढोगभेट

साइँला भाइ

ज्यानमारा कोरोना भाइरसले मानिसहरुको इहलीला मात्र समाप्त पारेको छैन, विश्वका अधिकांश सभ्यता र संस्कृतिमाथि पनि प्रभाव पार्दै लगेको छ । यो भाइरसको प्रभावका बारेमा रौंचिरा विश्लेषण गर्ने हो भने यसले आधुनिक सभ्यता र संस्कृतिलाई पनि चुनौती खडा गरेको छ । परम्परागत सभ्यता, संस्कृतिमा फर्कनेहरुका लागि भने रेशममार्ग नै खोल्ने देखिन्छ । नेपालजस्तो पूर्वीय सभ्यता र संस्कृतिमा चाँद लगाउन पनि बेर छैन ।

सबैभन्दा बढी पाश्चात्य भनिएको सभ्यता र संस्कृति जसलाई आधुनिक सभ्यता–संस्कृतिको पनि नाम दिइएको छ, त्यसलाई परेको छ । हुनत यो भाइरस एसियाली सभ्यता भएको मुलुक चीनबाट उदायो । तर, कालान्तरमा भने यो भाइरसले पश्चिमा सभ्यता र संस्कृतिमाथि नै धावा बोल्ने देखिन्छ । पश्चिमा सभ्यता संस्कृतिमाथि कसरी प्रभाव पार्ला भन्ने जिज्ञासा उठ्न सक्छ । त्यसको सानो उदाहरण मात्र पेश गर्ने हो भने नै काफी हुन्छ । यसमध्ये पश्चिमा सभ्यता अनुसार गरिने त्यहाँको ढोगभेटलाई नै लिऊँ । उनीहरुकहाँ हात मिलाउने चलन छ । त्यतिमात्र होइन,‘हग’ हाल्ने, सार्वजनिक स्थलमै चुम्माचाटी गर्ने चलन छ । अब कोरोना भाइरसका कारण यस्तो हात मिलाउने, हग हाल्ने, चुम्माचाटी गर्ने क्रियाकलापलाई ठाडै छोड्नु पर्ने हुन्छ । अन्यथा कोरोनाको प्रारम्भिक आक्रमण मै इहलीला समाप्त हुनेछ । चर्चमा जाने, सामूहिक प्रार्थना गर्ने, कन्सर्ट आदिमा भेला हुने आदि कुराले त मास मर्डर गराउने सम्भावना रहन्छ । यसरी पश्चिमा सभ्यता र संस्कृतिको दोहोलो कोरोनाले काढ्ने निश्चित छ ।

यता पूर्वीय सभ्यता र संस्कृति मान्नेलाई भने कोरोना भाइरसका कारण परम्परागत (अग्र्यानिक) सभ्यता र संस्कृतिमा फर्कने बाटो देखाइदिएको छ । यसको पहिलो उदाहरण ढोगभेटबाट सुरु भएको छ । कोरोनाको कहर सुरु भएयता नेपालमा ढोगभेट गर्ने आधुनिक शैलीको साटो परैबाट जम्लाहात (नमस्कार) गर्ने चलन चलेको छ । नेपालका गाउँघरमा समेत विस्थापित हुँदै गएको जम्लाहात (नमस्कार) आजभोलि जताततै देख्न पाइन्छ । एकाध हात परै बसेर नमस्कार नमस्कार गरेको सुनिन्छ, देखिन्छ । तर, हात मिलाएको, अंगालो हालेको कतै देख्न पाइन्न । यसरी नै केही समयसम्म कोरोनाको कहर रहे नेपाल पुनः पूर्वीय सभ्यता–संस्कृतितर्फ फर्कने सम्भावना छ । यस्तो भयो भने पश्चिमाको सभ्यता र संस्कृति हटेर जाने कुरालाई कसैले नकार्न सक्तैन ।

कोरोनाको कहरले सिंगै देशमा यस्तो भैराखेको बेला गण्डक प्रदेशले झनै अग्र्यानिक ढोगभेटलाई मान्यता दिएको खबर आएको छ । यसैपनि आजको गण्डक प्रदेश भनेको तमु–मगरहरुकै परम्परागत सभ्यता, संस्कृति भएको प्रदेश हो । प्रदेशको नाम तमु–मगरात राख्न नसकेपनि त्यहाँका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हालैबाट भुइँसोरी अर्थात् खुट्टामा ढोग्ने चलनलाई पुनः नवीकरण गरेका छन् । अर्थात् ढोगभेट मामिलामा गण्डक प्रदेशले स्वायत्तता लागु गरेको छ । यस्तो ढोगभेट गर्नु गण्डक प्रदेशको आत्मनिर्णयको अधिकार पनि हो । यसलाई राजनैतिक विज्ञानमा जातीय आत्मनिर्णयको अधिकार पनि भनिन्छ । अबका केही समयपछि गण्डक प्रदेशमा मानिसहरु आफ्ना मान्यजनको खुट्टा ढोगिरहेको देखियो भनेपनि अनौठो नमाने हुन्छ । तर यसरी खुट्टा ढोग्दा ढाडमा आउने समस्याको बारेमा भने गण्डक प्रदेश सरकारले अहिलेसम्म कुनै अध्ययन–अनुसन्धान गरिएको बाहिर ल्याएको छैन । 

पार्टी कसरी बन्छ ?

नेताको मुखमा आइरहने यो अजीर्ण सवाल हो । नेतृत्वमा पुगेकाहरुलाई पार्टी बनिसकेको भ्रम छ । नेतृत्वमा नपुगेकालाई पार्टी बन्दै नबनेको भ्रम छ । यीदुई भ्रमबीच साँचो भ्रम कुन होला ? भ्रम पनि साँचो र झुटो पनि होला र ?भन्ने प्रश्न पनि उठ्न सक्छ । तर, यो सूत्रको हल भने भूतपूर्व माओवादी, नयाँ शक्ति हुँदै समाजवादीमा पुगेका डा. बाबुराम भट्टराईको सूत्रबद्ध अनुसन्धानात्मक व्याख्याले पुष्टि गरेकै छ ।

उनले जहिल्यै पनि गिलासमा राखेको पानीलाई तुलना गर्छन् । गिलासमा राखिएको पानी आधि भरिएको तर पूरै नभरिएको तर्क गर्छन् । आधा भरिएको कुरा पनि ठीक हो र पूरै भरिन बाँकी रहेको कुरा पनि त ठीक हो । यसै सूत्रलाई मध्यनजर गर्ने हो भने नेपालको राजनैतिक पार्टी बनिसकेको कुरा पनि ठीक हो । पूरै बनिनसकेको कुरा पनि त ठीक हो । यसर्थ, पार्टी बनिसकेको कुरा पनि ठीक हो । पूरै बनिनसकेको कुरा पनि ठीक हो । नेताहरुले ओठे जवाफ लगाउने दुबै कुरा भ्रम हुन् । तसर्थ, भ्रम र भ्रममा तुलना गर्दा दुबै साँचो हुन्छन् कि कसो ? समयबद्ध साप्ताहिकबाट