जनअनुमोदित महरालाई पुनस्र्थापित गर्ने पालो नेकपाको
सूर्य खड्का
जनताको बीचबाट उठेको नेतृत्व जनताकै शक्तिमा उदाउँछ, चम्किन्छ, स्थापित हुन्छ । जनताको शक्ति र आड भरोशा पाएको नेतृत्व जुनसुकै जालझेल, षडयन्त्र र प्रहारहरुलाई सहजै पराजित गरेर आफ्नो वर्चस्व जोगाउन वा पुर्नस्थापित गर्न पनि काबिल साबित हुन्छ । जनताको शक्तिले जुनसुकै षडयन्त्र र आक्रमणहरुलाई पराजित गरिदिन सक्छ ।
हो, रोल्पाको विकट भूगोलबाट उदाएर केन्द्रीय राजनीतिमा जनयुद्ध र माओवादीपन्थको बाम राजनीतिमा एक ‘आइकन’ बन्न सफल पूर्वसभाुमख कृष्णबहादुर महरा अहिले जनताकै शक्ति र आडभरोसामा फेरि पुनस्र्थापित हुनु भएको छ, जगैदेखि, गाउँदेखि ।
सभामुखको जिम्मेवारीमा रहँदा गत असोजको दोस्रो साता उहाँमाथि आइलागेको खतबात केवल एउटा कलाविहीन नाट्य शृङ्खला थियो, जसलाई सम्मानित अदालतले नै बदर गरिदियो । जनताले त उसै पनि जनयुद्धअघिदेखि, जनयुद्धभर र शान्तिकालमा पनि उहाँलाई उत्तिकै भरोशायोग्य नेता मानेकै थिए । फेरि पनि उही मान, सम्मान र विश्वास दर्शाएका छन् ।
कारगारबाट निजी निवासमा केही दिन आराम गरेर आफ्नो चुनाव क्षेत्र दाङ हुँदै रोल्पा र रोल्पाको पनि बामपन्थी राजनीतिको असली भूमि थवाङसम्मको पैदलमार्ग भ्रमणमार्फत् महरा जोडिनु भयो– जनतासँग । जनताले नै उहाँलाई जनयुद्धको सिपाहीदेखि कमाण्डर, शान्तिवार्ताको वार्ताकार, संविधान निर्माता र माननीयदेखि सभामुखसम्म बनाएका थिए । जहाँबाट उहाँ उठ्नु भएको थियो, त्यहीं पुग्नु भयो, जोडिनु भयो र जनताबाट पुनः एकपटक अनुमोदित हुनुभयो । जनाधारमा आधारित राजनीति कति टिकाउ र बलियो हुन्छ भन्ने उहाँ एक नमूना भइदिनु भएको छ अहिले ।
स्थानीय जनताले स्वस्र्फूत रुपमा महराको स्वागत र सम्मानमा जिल्ला, जिल्लाका गाउँठाउँमा देखाएको हार्दिकता उहाँको जनतासँगको निकट विश्वासको द्योतक थियो । कुनै प्रायोजित भिजिलान्तेहरुको पहरा वा घेरामा बसेर होइन, गाउँगाउँ र बस्तीबस्तीबाट बाम झण्डा र राजनीतिक दर्शनको वकालत र रक्षा गर्ने जनताको ठूलो हिस्साले उहाँको विगतको संघर्षको सम्मानपूर्ण अनुमोदन फेरि एकपटक गरिदियो– खुल्ला मनमस्तिष्कले । खारेज गरिदियो उहाँ विरुद्धका तमाम षडयन्त्र र प्रतिशोधी अस्थायी कथित कारवाहीहरुलाई । जनताको शक्ति अजेय हुन्छ, यही प्रमाणित गरे घरघर, बस्तीबस्तीका जनताले दाङदेखि रोल्पाको थवाङसम्मका उकाली, ओराली, भञ्ज्याङ, चौतारीहरुको यात्राका दौरान ।
दोहो¥याइरहनु परोइन कि १० वर्षे माओवादी जनयुद्धका एक संस्थापक नेता महरा सिङ्गो माओवादी आन्दोलन र सङ्घर्षको पर्याय पात्र रहनु भयो । यो पनि जनजनका मनमा ताजै छ कि उहाँ नै माओवादीको सशस्त्र क्रान्तिलाई शान्तिमा बदल्ने एक सेतुपात्र हुनुहुन्थ्यो । जनताको मनमस्तिष्कमा उहाँले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउँदै सहमति र एकताको राजनीतिक लाइनको कप्तानी गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने नयाँ संविधान दिने मोर्चामा पनि निर्णायक नेतृत्व दिनु नै भएको थियो ।
आफ्नो सम्पूर्ण जीवन देश र जनताका लागि समर्पित गर्दै पार्टीको नीति कार्यान्वयन र लक्ष्य हासिल गर्नका लागि आफूभन्दा माथि सधैं पार्टीलाई राख्दै, पार्टीको लागि नाम वा बदनाम सबै आफूले बोक्दै हिंडेका महरामाथि अब पार्टीले पूर्ववत् हैसियतमा स्थापित गर्नैपर्ने बाध्यकारी अवस्था सिर्जना भइसकेको छ ।
कथित अभियोगउपर न्यायालयकै पूर्ण सफाइ र जनताबाट उहाँको नेतृत्व र कर्म स्वतः अनुमोदित भइसकेको आलोकमा महराको अब राजनीतिक जिम्मेवारी जे थियो पहिला, त्यो त स्वतः पुनस्र्थापित भइसक्यो, दलदेखि राज्यस्तरमा नै । तर यसलाई प्राविधिक र पार्टीको विधि, पद्धति अनुसार व्यवस्थित बनाउने जिम्मेवारी पार्टीको हो । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको हो । अब पनि कथित नैतिकताको आधारमा उहाँमाथि कुनै पनि प्रकारका आलटाल वा ढिलासुस्ती गरेर नेतृत्वमा फर्काउन कुनै पनि प्रकारको कप्ट्याइँ वा कञ्जुसी हुन्छ भने, त्यो पार्टी र नेतृत्वकै भूल र आफ्नो खुट्टामा आफैले बन्चरो प्रहार गरेको साबित हुनेछ ।
महरालाई मोहोरा बनाएर एमसीसीको अनुमोदनका लागि भए–गरिएका देशी–विदेशी दृश्य–अदृश्य सबैखाले खेलहरुको पूर्ण पर्दाफास भइसकेको छ । बाम राजनीतिभित्र पनि देशभक्तिपूर्ण अडान राख्ने महराको जनबलमा टिकेको र निर्णायक रहँदै आएको राजनीतिक इमान र हैसियतलाई स्खलित गर्ने सबै प्रपञ्चहरु पराजित र इतिहासको गर्भमा एकादेशका कथा भइसकेका छन् ।
परिवर्तनको महासमरमा हिंडेको एक देशभक्त छोराले कारगारको पनि अनुभव झेल्नुपर्छ भन्ने मान्यतामा पनि सुनझैं खरो उत्रिसक्नु भएका महरालाई अब पार्टी नेतृत्वले निगाहामा होइन, उहाँको लामो राजनीतिक सङ्घर्षको विरासतको आलोकमा नै पूर्ववत् हैसियतमा पुनस्र्थापित गर्नु पर्छ– पार्टीभित्रदेखि राजकीय जिम्मेवारीका सबै तहहरुमा । यो महराको हक मात्रै होइन, जनादेशको सम्मान र पार्टी र देशको वर्तमान खाँचो नै हो ।
व्यक्तिगत वा राजनीतिक जीवनका आरोहअवरोहरुमा अनायाशै आइलाग्ने ग्रहणहरुलाई झेल्नुपर्छ, अनि समयक्रममा तिनलाई भुल्दै विर्संदै अघि बढ्नुपर्छ–एउटा राजनीतिक योद्धाले, कमाण्डरले । आफूविरुद्धका कुनै पनि असफल षडयन्त्रहरुलाई महराले धैर्यता, संयममता र विवेकी भएर सामना र समाधान व्यक्तिगत पौरख र बलबुताकै आधारमा गर्नु भयो । उहाँमाथि लागेको नक्कली आरोप र गलत प्रचारवाजीको सुरुदेखि अन्त्यसम्म पार्टीले प्रतिरक्षा वा बचाउ वा प्रतिक्रियाविहीन भएर एकढङ्गले मनोवैज्ञानिक रुपमा काखी बजायो । दृश्यमा त्यस्तै देखियो । तै पनि उहाँले हरेश खानु भएन । निरन्तर जुध्नु भयो र, अन्ततः जित्नु भयो । उहाँको जीतमा आमजनताले हुर्रे गरिसके, विजयोत्सव मनाइसके । त्यसैले अब महराको जनअनुमोदित योगदान र छबीलाई पार्टीले कार्यकारी नेतृत्वदायी जिम्मेवारीका साथ पुनस्र्थापित गर्नुको विकल्पै छैन ।
उसै पनि पार्टीभित्र एक अध्यक्ष प्रचण्डका सबैभन्दा विश्वासिला र अर्का अध्यक्ष केपी ओलीका लागि काम गर्न सबैभन्दा सजिला मानिएका महरालाई उहाँको आफ्नो पौरख र जनताको साथले जोगिएको माननीयभन्दा उपल्लो स्तरको हैसियतमा नै अध्यक्षद्वयले पुनस्र्थापित गर्नुको विकल्प छैन । जेलमा रहँदा राज्यलाई अझ निकटबाट बुझेको प्रतिक्रिया दिनु भएका महराले अब राज्य सञ्चालनको कार्यकारी हैसियत स्वतः पाउनै पर्छ । त्यो संसदभित्रै हुन्छ कि सरकारमा हुन्छ भन्ने विषय चाहिं पार्टी अध्यक्षद्वय र महराबीचको आपसी समझदारीले तय गर्ने विषय हो ।
देशहितका लागि आफू आजन्म सङ्घर्षरत रहने महराको पछिल्लो अडान जनतामा सधैं प्रिय बनाइरहने उहाँको सबैभन्दा बलियो अस्त्र हो । देशलाई जनताकोबीचमा बाँचिरहने, साथ दिने र देशको भलो चिताइरहने नेता चाहिएको हो, त्यो क्षमता फेरि महराले कठोर जेलयात्राका बीच पनि पुनः प्रमाणित गरिसकेपछि अब यो वा त्यो बहानामा उहाँलाई पार्टीदेखि राजकीय जिम्मेवारीमा किनाराकृत गरिरहन जरुरी छैन र यो पार्टीको हितमा पनि हुने छैन । महरा–प्रकरणको निरर्थक उठानदेखि समाधानसम्मको निचोड र कार्यादेश त यही हो नि, होइन र ? समयबद्ध साप्ताहिकबाट
प्रतिक्रिया