नेतृत्वको खडेरी
एनके दाहाल
पुर्व पञ्चहरुको पार्टी राप्रपामा पनि अब तीन अध्यक्ष हुने भएका छन । दुई राप्रपाबिच एकीकरण गर्दादुई अध्यक्ष राख्ने कमल थापाको प्रयासको कारण पार्टी एकता हुन सकेन । थापा र पशुपति शम्सेर राणा अध्यक्ष रहने भएपछि डा. प्रकाशचन्द्र लोहनी एकता बिरोधी जस्तो देखिए । थापा नजिकका सञ्चारमाध्यमले डा. लोहनीलाई खलनायकको रुपमा चित्रण गरे । दुई अध्यक्ष राख्ने भएपछि आफुचाँही किन अध्यक्ष नहुने भन्ने डा. लोहनीको अडानले जित्यो र उनी पनि अध्यक्ष हुने भए । तीन अध्यक्ष राखेर पार्टी एकता गरियो । थापाले लिएको राजतन्त्र, सनातन हिन्दु धर्म लगायतका एजेण्डालाई सबैले स्विकार गरे । तर थापा एक्लैलाई अध्यक्ष अरुले स्विकार गरेनन् । पञ्चहरुको पार्टी साँच्चिकै पञ्चहरुले जे बिचार बोक्थे, त्यही बिचार बोक्न आइपुग्यो । तर, तीनजना अध्यक्षको गलगाँडका साथ ।
नेपालको पछिल्लो पार्टी राजनीतिमा बहु अध्यक्ष हुने प्रचलनलाई पञ्चहरुले पनि अँगाले । बिगतमा थोरै पार्टीहरुमा बहुपद र धेरै पार्टीमा एकल नेतृत्व हुने गर्दथ्यो । नेपालको राजनीतिक संक्रमणकालबाट अघि बढने बाटोमा छ । संविधान जारी भएको छ । धर्मनिरपेक्षता र संघियता सहितको गणतन्त्र सँस्थागत भएको छ । तर राजनीतिक पार्टीहरु भने संक्रमणकालमा प्रवेश गरेका छन । धेरै बिचार र धाराको खिचडी बनाएर राजनीतिक दस्ताबेज बनाइएको छ । बिचार र नेतृत्व महाधिवेसनले टुङ्ग्याउने भन्दै महाधिवेसनलाई पर पर धकेल्दै बहुअध्यक्ष बनाइएको छ । एकादुईलाई छोडेर भन्ने हो भने राजनीतिक पार्टीहरु अहिले साँच्चिकै संक्रमणकालको चरणमा छन । बिचार, संगठन र नेतृत्व संक्रमणकालिन बनाइएको छ । बहुपद होइन, एउटै पदमा बहु नेतृत्व स्थापित गराइएकोे छ । सरकारको नेतृत्व गरेको र झण्डै दुई तिहाई बहुमत निकट रहेको नेकपामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बिराजमान छन । तीन दशक एकछत्र नेतृत्व गरेका प्रचण्ड र लामो समयको संघर्षपछि निर्वाचन मार्फत नेतृत्वमा आइपुगेका ओली दुवैलाई अध्यक्ष बनाउनु पर्ने बाध्यताको परिणाम बेला बेला देखिदैछ । नेकपामादुई बरिष्ठ नेता र एक उपाध्यक्ष छन । अधिकार घुमाई फिराई धेरै शब्द राखेर उस्तै उस्तै राखिएको छ ।
मधेस केन्द्रित राजपामा ६ जनाको अध्यक्ष मण्डल बनाइएको छ । ६ जनाले पालो पालो अध्यक्ष बन्छन । अध्यक्ष परिवर्तनसँगै केही हल्ली खल्ली हुन्छ । तर पछि उही हो, कार्यकाल बिताउने र सानोतिनो विवादमा सीमित रहन्छ । धेरै प्रयास गर्दा पनि देशभर जान नसकी मधेसमा नै केन्द्रित हुन बाध्य समाजवादी पार्टीमा पनि दुई अध्यक्ष छन । उपेन्द्र यादवलाई कार्यकारी र डा. बाबुराम भट्टराइलाई थपना अध्यक्ष (नाम जे दिए पनि त्यसको कुनै अर्थ छैन ।) बनाइएको छ । त्यहाँ पनि बरिष्ठ नेता बनाइएको छ । बैकल्पिक राजनीतिक शक्ति बनाउन नयाँ शक्ति नाम दिएर ठुलै हल्लीखल्ली गरेका डा. भट्टराई अन्ततः यादवको शरणमा पुगेर शरण लिन बाध्य भए । बैकल्पिक होइन, क्षेत्र केन्द्रित दलमा थपना अध्यक्ष बने । यस्तै बैकल्पिक राजनीतिक शक्तिको दुहाई दिने साझा पार्टी र विवेकशील पार्टी पनि एकता गरी संयुक्त नेतृत्वमा गए । तर असफल भए । आ–आफ्नै बाटो लागे । विवेकशील घिसीपिटी बिचार बोकेर हिडिरहेको छ भने साझा पार्टी दक्षिणपन्थीको बैकल्पिक धारमा पुगेको छ । साझा पार्टीले पछिल्लो चरणमा जे बिचार अघि सारेको छ, त्यसबाट डराएर हतार हतार राप्रपालाई एउटै बनाइएको छ । बिचारलाई एक बनाए पनि नेतृत्व भने खिचडी शैलीको बहुअध्यक्षको साथमा ।
नेपालको राजनीतिमा प्रभावशाली नेपाली कांग्रेस अहिले अकमण्र्यको स्थितिमा छ । कुनै पनि निर्णय सर्वसम्मति हुँदैन । पार्टीले गरेको निर्णयलाई चुनौती दिन तमतयार भएर बसेको छ, पार्टीभित्रको स्थायी प्रतिपक्ष । महाधिवेसन सार्ने र टार्ने खेल चल्दैछ । विवादले कांग्रेसमा जहाँ पनि समस्या देखिदैछ । पछिल्लो चरणमा भइरहेको ध्रुविकरणको राजनीतिक खेलले बिजय गच्छेदारको प्रवेश बाहेक कांग्रेसलाई खासै छोएको छैन । गच्छेदारले बहुअध्यक्षको हैंसियत नराख्नु र शेरबहादुर देउवालाई नेतृत्व मान्न तयार हुनुको कारण बहुअध्यक्ष बनाउनु परेन । तर पार्टीभित्रका नेताहरुले जुन प्रकारले चुनौति दिइरहेका छन, त्यसको समाधान बहुअध्यक्ष त होइन ? भन्नुपर्ने अबस्था सिर्जना भएको छ । पहिलो र दोस्रो अध्यक्ष बनाउने हो भने कांग्रेसको समस्या सहजै समाधान हुनसक्छ भन्नेहरु भेटिन थालेका छन । कांग्रेसमा बहु अध्यक्ष बन्ने सम्भावना देखिदैन । तर समस्या समाधान गर्न त्यतै लाग्नुपर्ने अबस्था नआउला भन्न सकिन्न । अर्थात नेपालका राजनीतिक पार्टीहरु लगभग सबैमा रहेको विवाद बहुअध्यक्ष बनाएर समाधान गर्ने काम त हुदैछैन भन्ने प्रश्न खडा भएको छ ।
प्राविधिक नेतृत्वमा सीमित
धर्म निरपेक्षता र संघीयता सहितको गणतन्त्र सँस्थागत हुदै गरेको अहिलेको समयमा राजनीतिक पार्टीहरु संक्रमणकालको शैली र अन्तरिम संगठनात्मक पद्दतीमा फस्नु पक्कै पनि राम्रो होइन । राजनीतिक नेतृत्वसँग मुलुकलाई अघि बढाउने ठोस मार्गचित्र देखिदैन । परम्परागत सिद्दान्तका ठेली र केही अहिलेको अबस्थालाई समेटेर राजनीतिक दस्ताबेज बनाइएको छ । तर त्यस अनुरुप हिडने काम हुदैन । बिभिन्न बिचारलाई गज्याङगुजुङ बनाएर अन्तरिम बनाउने र नेतृत्व पनि अन्तरिम कायम गर्ने प्रबृत्तिले जनतामा निराशा नै छर्नेछ । राजनीतिक नेतृत्व विचारबाट जन्मनु पर्ने हो । अहिलेका नेताहरु स्पष्ट बिचार र सांगठानिक दृष्टिकोण सहित नेतृत्वमा आएका हुन । तर गणतन्त्र सँस्थागत गर्ने बेलामा भने प्राविधिक नेतृत्वमा सीमित हुन पुगेका छन । बिचार स्पष्ट नबनाई जे पाइन्छ, त्यसैमा रमाउने र लिने शैलीले नेतृत्वलाई गाँजेको छ । नेतृत्व प्राविधिक नेतृत्वमा सीमित हुन पुगेको छ । प्राविधिक नेतृत्वले न त पार्टीलाई ठिक ढँगले लानसक्छ, न त देशलाई नै । प्राविधिक नेतृत्वले सबैतिर प्राविधिक फाइदा र घाटा हेरेर काम गर्न थालेको छ । थोरै पनि सन्तुलन बिग्रने बित्तिकै ध्वसांत्मक बिद्रोह हुनसक्छ ।
लोकतन्त्र स्थापनापछि समावेशी समिति बनाउन थालेपछि समितिहरु भद्दा हुन थाले । पछि संक्रमणकालको बहानामा समितिहरु यति धेरै भद्दा भए कि केन्द्रीय समितिको बैठक नै महाधिवेशन गरे जसरी गनुपर्ने अबस्था आयो । समितिहरु भद्दा हुदाहुँदै अध्यक्ष नै भद्दा हुने गरी बहु बनाउन थालियो । नेतृत्वले बिचार दिन नसकेपछि दिएको बिचारलाई पनि अघि बढाउन नसक्ने भन्ने बुझेपछि प्राविधिक नेतृत्वमा सीमित हुन पुगेको छ । संरचना र राज्य संयन्त्र ठिक ढँगले चलेको अबस्थामा प्राविधिक नेतृत्वले पनि मुलुकलाई अघि बढाउन सक्छ । तर अहिलेको अबस्थामा त्यो सम्भव छैन ।तत्कालै कुनै पनि पार्टी या नयाँ बनाएर बैचारिक नेतृत्व आउन सक्ने देखिदैन । शिशु गणतन्त्रलाई थप संस्थागत गर्न प्राविधिक नेतृत्वले मात्र हुदैन । त्यसको लािग राजनीतिक नेतृत्वले त्याग गर्न सक्नुपर्छ । तर अहिलेको नेतृत्वबाट के त्यो सम्भब छ ?प्रश्न विचारणीय छ । समयबद्ध साप्ताहिकबाट
प्रतिक्रिया