के माधव नेपाललाई अध्यक्ष तत्काल बनाउँदा नेकपाको शक्ति सन्तुलन फेरिन्छ ?
नेकपाको पार्टी एकता भएको २१ महिना गुज्रिसकेको छ । यसबीच नेकपाको एकतामा विभाजन ल्याउने अनेक प्रयत्न र प्रपञ्च जारी छ । नेकपाको सन्तुलन भत्कदा वा पार्टी विभाजन हुँदा कसको भागमा कति फाइदा हुन्छ त्यो समयले बताउँछ । विचारधारात्मक संघर्ष अनुपस्थित हुँदा यस्तो खेलकुद हुनु अनौठो पनि होइन । विचारधारात्मक बहस अनुपस्थित भए पनि पार्टीले सारेको मुद्दामा बहस हुँदा जायज नै लाग्छ । जब यस्ता मुद्दा पनि ओझेलमा पर्छन तब भने व्यक्तिको जोड घटाउमा राजनीति केन्द्रित हुन थाल्छ । नेताको कदकाँटी अनुसारको गणितमा राजनीति केन्द्रित भएर फोहोरी बहसमा रम्न थाल्छ । नेकपाको आन्तरिक जीवन यतिखेर यस्तै भुलभुलैयाँमा छ ।
नेपाललाई तान्ने होड
नेकपाको एकता हुनु अघिसम्म नेकपाको पूर्व घटक नेकपा (एमाले) भित्र माधवकुमार नेपाल र केपी शर्मा ओली पक्षमा गणितीय ध्रुवीकरण थियो । तर, पार्टी अध्यक्षमा माधवकुमार नेपालको पराजयले एमालेलाई एउटा घुम्तीमा ल्याइदियो । यो पराजयले माधव नेपालको राजनैतिक अस्तित्व रक्षामा प्रश्न खडा गरिदियो । नेपाल कमजोर मात्र हुँदै गएनन् पार्टीभित्र अस्तित्वको लडाईं लड्न पनि वाध्य भए । तर, विचारधारात्मक संघर्ष नभएकोले नेपाल, ओलीसँग प्रतिरक्षात्मक अवस्थामा पुगेका थिए । पहिलो संविधानसभामा पराजयको जिम्मा लिँदै नैतिकताको आधारमा राजीनामा दिए । तर त्यही ‘नैतिकता’ एमालेको अविच्छिन्न कार्यकारी भूमिकामा रहँदै आएका नेपाललाई महङ्गो सावित हुन पुग्यो । नेपाललाई अहिले त्यही अवस्थामा आउन फलामको चिउरा चपाउनु सरह भइरह्यो ।
एकतापछि नेपाल
नेकपा निर्माणअघि एमालेको आन्तरिक राजनीतिक उठापटकमा कमजोर छदैं थिए नेपाल । नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि पनि सुरुका चरणमा उनी निकै कमजोर रहे । पार्टी निर्माण प्रक्रियाकै दोस्रो चरणमा नेपाल प्रचण्डको साथ र सहयोगका कारण पार्टीभित्र एउटा शक्तिको रुपमा उदाए । तर, तत्कालको स्वार्थ पूरा भएपछि जता पनि जाने र आफ्ना निकटलाई छाड्ने स्वभावका कारण उनलाई प्रचण्ड र केपी ओलीले यतिखेर तानातान गरिरहेका छन् । र, नेकपाको आन्तरिक राजनीतिमा औंसा पार्न यही मसला काफी हुँदै गएको छ ।
बरियतासँगै पङ्ति बिर्सिए
पार्टी एकताको समयमा आफूलाई वरियतामा झलनाथ खनालभन्दा माथि राखेपछि तीन जना उपाध्यक्ष भीम रावल, अस्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई चिसो छिँडीमा छोडेर हिँडे । कार्यालयमा ल्याउनु पर्ने रावल, शाक्य र ज्ञवालीलाई नल्याएर उपमहासचिव विस्णु पौडेललाई महासचिवमा लैजान समर्थन जनाए । तीन जनालाई कार्यालयमा लगेको भए नेपाल, झलनाथको विश्वासिलो मात्र होइन तीन उपाध्यक्ष पनि उनका विश्वासिला नेताको रुपमा साथमै हुन्थे । उपमहासचिवमा जितेका अर्का नेता घनश्याम भुसालको बढुवामा पनि माधवको रुची देखिएन । एकदमै झिनो मतले ईश्वर पोखरेलसँग महासचिवमा हारेका सुरेन्द्र पाण्डेलाई सचिवालयमा लैजाने सवालमा त झन् माधवको ध्यान जाने कुरै भएन । नेपालको भूमिका अजेण्डाभन्दा शक्तिका लागि बढी चल्छन । त्यसैले उनी जता पनि पर्लक्कै पल्टन सक्छन । बरियता भेट्नासाथ पङ्ति विर्सन्छन् ।
त्रिपाठीको खेती ः
देवप्रकाश त्रिपाठी नामका पत्रकार नेकपामा विचलन ल्याउने जिम्मा पाएझैं पटक–पटक छिद्र खोजी हिँडेका छन । हिन्दु धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको खोरेजीको मुद्धा बोक्दै आएका त्रिपाठीको कार्यसूचि बोकिदिने कांग्रेस–राप्रपाहरु आफै विलखबन्धमा छन् । गज्जव त के छ भने उनी नेपाली कांग्रेसको राजनीति गर्ने र केपी ओलीको पक्षमा लेख्दै आएका पत्रकार हुन । त्रिपाठीले माधव नेपाललाई कार्यकारी बनाएर अब केपी ओलीले प्रचण्डलाई किनारा लगाउन सक्ने शैलीको समाचार दिनहुँ जसो लेख्दै आएका छन् । माओवादीले उठाएका मुद्धाहरुसँग एकदमै असहमत भएका त्रिपाठी पूर्व माओवादीको मुलोच्छेदनमा लागेका सक्रिय पात्र हुन । उनले उठाएको मुद्धा बासी भइसकेकोले कमल थापाहरु पनि उनको पक्षमा छैनन् ।
नेकपाका अध्यक्ष प्रचण्डसहित पूर्व माओवादी नेताका विरुद्ध सदैव ध्वंसात्मक विरोधमा सदावहार लेख्दै आएका कांग्रेसी पत्रकार त्रिपाठीले ‘नेकपाको आन्तरिक शक्ति सन्तुलनको स्थिति बदलिदैं, फेरि हार्दै प्रचण्ड’ भनेर विश्लेषण गरेका छन् । यस्ता मनोगत विश्लेषण गर्दै आएका त्रिपाठीले कसको योजनामा काम गर्छन त्यो ‘ओपन सिक्रेट’ छ ।
माधव नेपाललाई आफ्नो पक्षमा ल्याउन सदैव राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको पक्षमा वैचारिक अभियान चलाउँदै आएको मदन भण्डारी प्रतिस्ठानमा प्रमुख अतिथि बनाउनेदेखि ईश्वर पोखरेल, विस्णु रिमालसहितका ओली पक्षका नेता लगातार भेट्न गइरहेका छन् ।
एमसीसी, सभामुख चयन, वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानेसहितका निर्णयमा केपी ओलीले हारेको अनुभूत भएसँगै माधव नेपाललाई आफ्नो पक्षमा लैजान ओली र ओली पक्षले केही न केही आश्वासन दिएको प्रष्ट बुझ्न सकिन्छ । माधव नेपाल निकट स्रोतको दावी छ, वामदेव, झलनाथ खनाललाई जस्तै उधारो आश्वासन होइन हाताहाती दिनुपर्छ ।
ओली निकट रहेर लेख्दै आएका देवप्रकाश त्रिपाठीको विश्लेषणलाई आधार मान्दा माधवलाई पार्टी अध्यक्ष दिएर प्रचण्डसँग जुधाउने प्रपञ्च रचिदैंछ । केपी ओलीको पक्षमा लामो समयदेखि विश्लेषण गर्दै आएका र धेरै हदसम्म मिलेका कारणले पनि त्रिपाठीको भनाइ सूचनासहितको भएकाले हल्का रुपमा लिन मिल्दैन ।
के माधव नेपाललाई अध्यक्ष तत्काल बनाउँदा नेकपाको शक्ति सन्तुलन फेरिन्छ ? अनि माधव नेपाललाई अध्यक्ष बनाउँदैमा फेरि हिजो माधवको पक्षमा लागेका सबै उनको पक्षमा जालान ? यी र यस्ता प्रश्नहरु जीवित नै छन् ।
प्रतिक्रिया