किन आत्तिदै छन् अर्थशास्त्री ? 

 किन आत्तिदै छन् अर्थशास्त्री ? 

चीनबाट फैलिएको ‘कोभिड–१९’ अर्थात् कोरोना भाइरसले विश्वभर आतंक नै सिर्जना गरको छ । आइतबारसम्मको तथ्याङ्कअनुसार कोरोना भाइरसबाट प्रभावित हुने मुलुकको संख्या एक सय एक पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो संख्या बढ्ने क्रम जारी छ । भाइरस संक्रमणबाट आइतबार मर्नेको संख्या सबैभन्दा बढी इरान, त्यसपछि चीन, स्पेन, दक्षिण कोरिया र नेदरल्यान्डमा देखिएको छ । यी मुलुकमा आइतबार ८८ जनाको मृत्यु भएको छ । अहिलेसम्म विश्वभर मर्नेको संख्या तीन हजार छ सय ६० जना पुगेको छ । यो मानवीय क्षतिको पाटो हो । संक्रमणपछि द्रुत गतिमा यो फैलिदै गएको डब्लुएचओले जनाएको छ । 

यो मानवीय तथ्याङ्क विश्लेषण गर्दैगर्दा विश्व अर्थतन्त्र पनि नराम्रोसँग प्रभावित हुन थालेको तथ्यहरु सार्वजनिक हुन थालेका छन् । विश्वको पर्यटन क्षेत्र व्यवसाय प्रायः ठप्प जस्तै देखिएको छ । आर्थिक उत्पादन गर्ने विश्वका ठूला उद्योगहरु बन्द हुन थालेका छन् । यस्ता घटनाको विश्लेषण गर्दै हालै सार्वजनिक भएको एक तथ्यांकले विश्वको कूल गार्हस्थ उत्पादनमा शून्य दशमलव एकदेखि शून्य दशमलव चार प्रतिशतसम्म कमी आउने प्रारम्भिक अनुमान गरिएको छ । एशियाली विकास बैंकले जारी गरेको पछिल्लो प्रतिवेदनअनुसार कोरोना भाइरसकै कारण तीन सय ४७ अर्ब अमेरिकी डलरसम्म नोक्सानी हुने अनुमान गरिएको छ । यस अवधिमा चीनले मात्रै एक सय तीन अर्ब अमेरिकी डलर नोक्सानी व्यहोर्नुपर्ने देखिएको छ । जुन चीनको कूल गार्हस्थ उत्पादनको झन्डै शून्य दशमलब आठ प्रतिशत हो । त्यसैगरी बाँकी एशियाली देशले करिब २२ अर्ब अमेरिकी डलर अर्थात् कूल गार्हस्थ्य उत्पादनको शून्य दशमलव दुई प्रतिशत गुमाउनुपर्नेछ । यसको सबैभन्दा ठूलो असर विकासोन्मुख देशलाई पर्ने देखिएको छ । 

विश्वकै ठूलो अर्थतन्त्र भएकाले यसको असर बाँकी विश्वमै पर्ने देखिएको छ । जसका कारण अर्थतन्त्र नै असन्तुलन हुने देखिएको छ । सिंगापुर, कोरिया, जापानसहित युरोपेली मुलुकले पर्यटन उद्योगमा हुने क्षतिले समग्र आर्थिक वृद्धिदर खस्कने र ठूलो संख्यामा रोजगारी गुम्ने आँकलन गरिसकेका छन् । सबैजसो ठूला बहुर्राष्ट्रिय कम्पनीले आफ्नो उत्पादन र आम्दानी घट्ने अनुमान सार्वजनिक गरेका छन् । कच्चा तेलको मूल्य यो वर्षको उच्च तह ७९ अमेरिकी डलर प्रति ब्यारेलबाट घटेर मार्चको पहिलो हप्ताको अन्त्यमा ४५ डलरमा झरेको छ । मागभन्दा आपूर्ति बढी भएपछि तेलको मूल्य ओरालो लागेको हो । अमेरिकी अर्थतन्त्रमा पनि कोरोनाले ठूलो असर पार्दै लगेको देखिएको छ । त्यहाँको धितोपत्र बजार दुई साता यता १५ प्रतिशतले खस्किएको छ । यस्तो गिरावटलाई विश्वका अर्थशास्त्रीहरुले अत्यन्त गम्भीर भनेका छन् । कुनै प्राकृतिक विपत्ति जस्तै बाढी, भूकम्प र रोगव्याधीका कारण अर्थतन्त्रमा असर परे पनि क्षणिक हुने अनुभव सुनाउँदै आएको विगतलाई यसले विर्साउने देखिएको छ । यसले यत्ति धेरै भयानक रुप लिइसकेको छ कि यो संकट अल्पकालीन नभइ दीर्घकालीन हुने देखिएकाले अर्थशास्त्रीहरु नै आत्तिनु पर्ने अवस्था सिर्जना भएको छ ।

यता नेपालमा पनि यसको गम्भीर असर पर्ने देखिएको छ । एडीबीकै तथाङ्कलाई विश्वास गर्ने हो भने नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी)मा शून्य दशमलव ०४ र जीडीपीमा ०.१३ प्रतिशतसम्म आर्थिक क्षति हुने देखिएको छ । नेपालमा होटेल र रेष्टुरेन्ट क्षेत्र नराम्रोसँग प्रभावित हुने भएको छ । यस क्षेत्रमा जीडीपीको ०.८ प्रतिशतसम्मको क्षति हुनेछ । यसबाहेक व्यापार र सेवा क्षेत्र समेत कोरोनाका कारण प्रभावित हुनेछ । नेपालमा कोरोनाका कारण करीव १५ हजार जनाको रोजगारी प्रभावित हुने आँकलन गरिएको छ । यसमध्ये धेरै रोजगारी होटेल र रेष्टुरेन्टमा गुम्ने देखिएको छ । यसबाहेक व्यापार व्यवसायमा बढी रोजगारी गुम्ने आँकलन गरिएको छ । कूल गार्हस्थ्य उत्पादनको झन्डै ३० प्रतिशत आकार ओगटेको नेपाली विप्रेषण क्षेत्रमा नराम्रो असर पर्ने देखिएको छ । त्यसको असर विदेशी मुद्रा सञ्चितीमा पर्ने देखिन्छ । पर्यटन क्षेत्रमा प्रवाह भएको ऋण असुलीमा असर पर्ने र बैंक तथा वित्तीय क्षेत्रमा समस्या पैदा हुने देखिएको छ । यी कारणले गर्दा विश्वका अर्थशास्त्रीसँगै नेपालका आर्थिक क्षेत्रमा काम गर्ने जानकारहरुको लागि आगामी दिन टाउको दःुखाइको विषय हुने देखिएको छ । समयबद्ध साप्ताहिकबाट