प्रधानमन्त्री ओली पेटको 'स्टेन्ट' झिक्न शिक्षण अस्पतालमा
काठमाडौं, २ चैत । फलोअप उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पताल पुगेका छन्।
मिर्गौला प्रत्यारोपण गर्दा पेटमा राखिएको स्टेन्ट झिक्न तथा अन्य परीक्षणको लागि प्रधानमन्त्री ओली शिक्षण अस्पताल पुगेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्री ओली शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार फर्केका थिए। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उनी यही फागुन १९ गते अस्पतालमा भर्ना भएका थिए।
प्रधानमन्त्रीको गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिएको थियो। प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दानगरेकी थिइन्। यसअघि विसं २०६४ मा भारतको अपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रधानमन्त्री ओली आइतवार साँझ कोरोना विरुद्ध सहकार्य गर्न सार्क राष्ट्रका सरकार प्रमुखहरुको भिडियो कन्फरेन्समा सहभागी हुँदैछन् ।
प्रतिक्रिया