मानवताको पक्षमा विश्व समुदाय किन एक हुन नसक्ने ?

मानवताको पक्षमा विश्व समुदाय किन एक हुन नसक्ने ?

पम्फा भुसाल

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोना भाइरस विश्वव्यापी महामारीको केन्द्रविन्दु अब युरोप भएको जनाएको छ । इटाली, स्पेन, फ्रान्स, जर्मनीमा दिनदिनै यो बढेको छ । चीनमा उत्कर्षका बेलामा भएका घटनाभन्दा बढी युरोपमा पछिल्ला दिनमा भएको देखिएको छ । सामान्य स्थितिमा फर्कदैं गएको चीनले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सहयोगका लागि इटाली लगायत देशमा सहयोग टोली पठाएको छ । यो धेरै स¥हानीय छ ।

कोरोना भाइरस चीनबाट भयो कि कहाँबाट भयो भन्न सकिदैंन तर प्रारम्भमा यसको उत्कर्ष चीनमा देखियो । यसैले यसको उत्पति यहीबाट भएको भनियो तर विश्वभरि यसको विस्तार हेर्दा अलि फरक ढंगले विश्लेषण पनि भएका छन् । जहाँ जसरी उब्जिए, फैलिए पनि यो सम्पूर्ण मानव जातिका विरुद्ध हो । यसका विरुद्ध साझा ढंगले लड्न जरुरी छ ।

केही मान्छेहरु भने हरेक घटनालाई आफ्नो लाभ र हानीको तथ्याङ्कमा मापन गर्छन, हरेक घटनामा विजय र हारको रुपमा औंला भाँच्दै हिसाव लगाउँछन् । तिनीहरु जहिले पनि जीवन एउटा नसुल्झेको खेलको शृङ्खलाको रुपमा हेर्छन र तनावमा बाँच्छन । मानवता, एकता, सहकार्यलाई उनीहरु कहिले प्राथमिकतामा राख्दैनन् ।

कोरोना भाइरसको चीनमा भएको फैलावटलाई प्रारम्भमा अमेरिका र पश्चिमी राष्ट्रले जसरी लिए, चीनको राजनीतिक र आर्थिक प्रणालीमाथि आक्रमण गर्ने गतिलो हतियार सम्झे । वास्तवमा यो सङ्घर्ष गर्ने कुनै अवसर वा हतियार नभएर यो विश्व महामारी थियो, हो । संसारका कुनै पनि विरामी आफ्नो लाभ नभएर खतरा हो । जस्तोसुकै शत्रु राष्ट्र भए पनि त्यो देशमा भएको महामारी आफ्ना लाभ होइन, हुनु हुँदैन । व्यक्तिगत होस् या देशीय समस्या त्यससँग लड्न सहकार्य गर्दै यस्ता महामारीलाई जित्न सकिन्छ । एक अर्कासँग सूचना, प्रविधि, अनुभव बाँडेर नै महामारीलाई जित्न सम्भव छ ।
पहिलो विश्वयुद्धमा एकअर्कासँग लड्ने राष्ट्रहरुले यसको विपरीत सोंचे । यसैले अमेरिकासहित प्रत्येक देशले १९१८ को महामारीलाई गुपचुप पार्न खोजे । यसलाई उनीहरुले सैन्य रणनीतिका रुपमा लिए । १९१८ को महामारीमा एक करोड ७० लाखदेखि १० करोडसम्म ज्यान गएको अनुमान गरिन्छ । प्रथम विश्वयुद्धमा ५३ हजार जति मारिएका अमेरिकीहरु भाइरसबाट पाँच लाखदेखि छ लाख ७५ हजारसम्म मारिएको कहालीलाग्दो तथ्याङ्क अमेरिकीहरु बताउँछन् ।

दोस्रो विश्वयुद्धको प्रमुख नेतृत्व र विजेता सोभियत संघ शीतयुद्धको ४५ वर्षपछि तहसनहस भयो । यही शीतयुद्धकालीन रणनीतिलाई अपनाएर के चीनलाई कमजोर पार्न सकिएला, जो संसारको सबैभन्दा उन्नत प्रविधिका साथ नयाँ शक्तिका रुपमा उदाएको छ ? कोरोना भाइरस आउनुपूर्व नै चीनका विरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक र आर्थिक युद्धले चीनको अर्थव्यवस्थालाई गम्भीर रुपमा नोक्सान पु¥याएको थियो र साथमा अमेरिकालाई पनि धेरै नै नोक्सान पु¥याएको छ । यो सबैभन्दा महत्वपूर्ण र गम्भीर प्रश्न हो ।  

चीनमा प्रारम्भमा फैलिएको कोरोना भाइरसलाई उसले चीनको आर्थिक र राजनीतिक प्रणालीमाथि थप आक्रमण गर्ने अवसर बनाउन खोज्यो । इरानमा पनि अमेरिकाले यस्तै गल्ती गरिरहेको छ । जुन हतियारलाई प्रयोग गरेर अमेरिका आफ्ना विपक्षीसँग लडिरहेको थियो, आज उसकै घरभित्र त्यही महामारी बनेर सताइरहेको छ ।

चीनसँग व्यापार युद्धलाई जारी राखेर ट्रम्पले अमेरिका र विश्व अर्थ व्यवस्थालाई सिधा नोक्सान पु¥याइरहेका छन् । यसैले अमेरिका र संसारभरि नै शेयर बजारलाई दुर्घटनाग्रस्त बनाउनका लागि काफी हदसम्म प्रभावित गरेको छ । सन् २००८/२००९ मा विश्वभरि आर्थिक मन्दी हुँदा चीनले आफूलाई बचाएको थियो । विश्व आर्थिक संकटमा ऊ परेन । आज चीनका विरुद्ध आर्थिक युद्ध जारी राख्नु अमेरिकाका लागि आत्मघाती हो ।  

कोरोनाको महामारीले न चीनलाई न त विश्वलाई धेरै ठूलो महामारी हुनेवाला छ । यसमा चीनले त प्रारम्भिक रुपमा लडाईं जितिसकेको छ । विश्व एकता र सहयोगले यस्ता समस्याको समाधान सजिलै गर्न सम्भव छ । अमेरिकाको घातक राष्ट्रवादले स्वयम् अमेरिकालाई विश्वबाट अलगथलग गरिरहेको छ । कोरोना भाइरसमा अमेरिकाले चीनलाई अलगथलग गरेर जित्न खोजेको लडाईंले उसैलाई कसरी गाँजिरहेको छ ? यसमा अमेरिकाले नै बढी सोंच्नुपर्छ । विभाजित भएर होइन एकीकृत भएर नै मानवताको पक्षमा जानुपर्छ । (कुराकानीमा आधारित)