प्रदेश २ लाई खुल्ला मदिरा मुक्त बनाउन प्रदेश सांसदहरुको माग

प्रदेश २ लाई खुल्ला मदिरा मुक्त बनाउन प्रदेश सांसदहरुको माग

जनकपुर, ३ चैत्र । प्रदेश २ लाई मदिरा मुक्त प्रदेश बनाउनुपर्नेमा प्रदेशसभा सदस्यहरुले जोड दिएका छन् ।

अबैध घरेलु मदिरा सेवनबाट धनुषामा २० जना मृत्यु भएको घटनालाई लिएर प्रदेशसभा सदस्यहरुले चिन्ता व्यक्त गर्दै प्रदेश २ लाई मदिरा मुक्त प्रदेश बनाईनुपर्नेमा जोड दिएका छन् । सोमबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा भाग लिदै प्रदेशसभा सदस्यहरुले घरेलु मदिराका कारण ठुलो संख्यामा मानवीय क्षति हुदाँ समेत प्रदेश सरकारले खासै महत्व नदिएको गुनासो समेत गरेका छन् ।

प्रदेशसभाको बैठक शुरु भए लगत्तै बिशेष सार्वजनिक महत्व प्रस्ताब पेश गर्दै नेकपाका प्रदेशसभा सदस्य सत्रुधन महतोले घरेलु मदिराका कारण समाज बिकृत हुनुका साथै यसबाट मानवीय क्षति समेत भईरहेकोले यसलाई तत्काल नियन्त्रणमा लिनुपर्नेमा जोड दिए । प्रदेश २ मा घरेलु मदिरा उत्पादन तथा बिक्रीमा रोक लगाउनुपर्ने माग गर्दै दर्ता गराईएको सार्वजनिक महत्वको प्रस्ताबमा समाजवादी पार्टीका संसदीय दलका सचेतक शैलेन्द्र यादव र राजपा नेपालका दलका सचेतक परमेश्वर साहले समर्थ गरेका छन् ।

प्रदेशसभा बैठकमा बोल्ने अधिकांश सत्तापक्ष र प्रतिपक्षका प्रदेशसभा सदस्यहरुहरुले बिशेष सार्वजनिक महत्वको प्रस्ताबको समर्थन गर्दै घरेलु खुल्ला मदिरा उत्पादन तथा बिक्री बितरणमा रोक लगाउन प्रदेश सरकार गम्भीर हुनुपर्ने बताएका छन् । बैठकमा प्रदेशसभा सदस्यहरुले घरेलु मदिराको बिषयमा उठाएको प्रश्नहरुको जवाफ दिदै प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले घरेलु मदिरा मुक्त बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

घरेलु मदिरा सेवनबाट धनुषामा भएको मानवीय क्षतिप्रति प्रदेश सरकार गम्भीर रहेको र यसलाई नियन्त्रण गर्न प्रदेश सरकार बल प्रयोग गरेरै भएपनि अघि बढ्ने उल्लेख गरे । अबको तीन दिनभित्र प्रदेशको सबै जिल्लामा रहेका खुल्ला घरेलु मदिरा भट्टी नष्ट नभए त्यहाँका सम्बन्धित प्रहरी प्रशासनलाई कारबाहीको दायरामा ल्याउने समेत जानकारी दिए

प्रदेश सरकारप्रति असन्तुष्टी

अबैध घरेलु मदिराको सेवनबाट दुई दर्जन व्यक्तिको मृत्यु भएपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिका लगायतका गाउँमा यतिबेला शोकमा डुबेको छ ।

प्रहरी र प्रशासनकै संरक्षणमा चलेको मदिरा भट्टी संचालन र विक्रि वितरणकै कारण यति ठूलो घटना भएको भन्दै स्थानीयहरु प्रदेश सरकार र स्थानीय सरकारप्रति आक्रोशित बनेका छन् । यति ठुलो घटना हुदाँ समेत प्रदेश सरकार र स्थानीय जनप्रतिनिधिहरुले कुनै चासो नदेखाएको भन्दै असन्तुष्टी जनाएका छन् । घटना भएको ३ दिन भन्दा बढी भईसकेपनि नत अहिलेसम्म प्रदेश सरकारले नै कुनै चासो देखाएको छ नत स्थानीय जनप्रतिनिधिहरुले नै पीडित परिवारले गुनासो गरेका छन् ।
अवैध घरेलु मदिरा भट्टी प्रहरी, प्रशासनकै संरक्षणमा चलेको भन्दै सरकारलाई तुरन्त यसबारेमा पहल गर्न प्रदेशसभा सदस्यहरुले नै माग गरेपनि प्रदेश सरकारबाट कुनै पहल नभएको गुनासो गरिएको छ । यसका साथै घरेलु मदिराका कारण भएको ठुलो मानवीय क्षति प्रति प्रदेश सरकार गम्भीर नभएको भन्दै सामाजिक संजालमा पनि प्रदेश सरकारको आलोचना भईरहेको छ । 

प्रदेश सरकारको राहत घोषणा

अबैध घरेलु मदिराका कारण धनुषामा मृत्यु भएकाहरुको परिवारलाई प्रदेश २ सरकारले ३÷३ लाख राहत उपलब्ध गराउने भएको छ । 

धनुषाको रमदैयास्थित मृतक परिवारसँग भेट्न पुग्नुभएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रति मृतक परिवारलाई ३÷३ लाख राहत दिने घोषणा गरे । खुल्ला घरेलु मदिराका कारण मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली दिदै घरेलु मदिरा बिक्री बितरण तथा उत्पादन गर्नेहरुलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता समेत जनाए ।

प्रदेश २ सरकार चाँडै प्रदेशलाई खुल्ला मदिरा मुक्त घोषणा गर्ने तयारीमा जुटेको समेत जानकारी दिए ।