निधिलाई सेक्ने देउवा रणनीति

निधिलाई सेक्ने देउवा रणनीति

काठमाडौं । आगामी १४ औ महाधिवेशनलाई आफ्नो पक्षमा पार्न सभापति शेरबहादुर देउवाले धाँधलीको पूर्वाभ्यास सुरु गरेको भन्दै महामन्त्री डा. शशांक कोइरालालले तीन पेज लामो विरोध पत्र बुझाएका छन् । सभापति देउवाले पश्चिम नवलपरासी जिल्लाका पार्टी सभापति परिवर्तन गरेपछि महामन्त्री कोइरालाले धाँधलीको पूर्वाभ्यास भन्दै विरोध पत्र बुझाएका हुन् ।  

संविधान निर्माणका क्रममा नवलपरासीलाई दुई वटा जिल्ला बनाइएपछि पश्चिम नवलपरासीमा पार्टी सभापति पद रिक्त भयो । यस्तो अवस्थामा उपसभापतिलाई जिम्मेवारी दिने निर्णय केन्द्रीय समितिको बैठकले गरेको थियो । उक्त निर्णय बमोजिम उपसभापति अर्जुन पोखरेललाई कार्यवाहक सभापति दिइएको थियो तर सभापति देउवाले पोखरेललाई बर्खास्त गरी अर्कैलाइ सभापति मनोनित गरेपछि विवाद चर्केको हो । यो विवादमा दुवै पक्ष आ–आफ्नो अडानमा छन् । 

अहिलेसम्म सभापति देउवा विरुद्ध कुनै पनि गतिविधि नगरेका र अप्ठेरो पर्दा आफ्नो टिमलाई समेत वेवास्ता गर्दै देउवालाई साथ दिँदै आएका महामन्त्री कोइराला यसपटक किन विरोधमा उत्रे भन्ने सन्दर्भ नेपाली कांग्रेसमा निकै पेचिलो भएको छ । पहिलो कुरा त नवलपरासी महामन्त्री कोइरालाको चुनाव लड्ने जिल्ला हो । यही जिल्लाबाट उनी तीन पटक लगातार सांसद निर्वाचित भइसकेका छन् भने महाधिबशेन प्रतिनिधि पनि यही जिल्लाबाट हुँदै आएका छन् । दोस्रो कुरा, केन्द्रीय सभापतिले जिल्ला सभापति परिर्वतन गर्ने नजीर बस्यो भने आगामी महाधिबेशन धाँधली पूर्ण हुने ठहर महामन्त्री कोइरालाको छ । यता देउवा पनि कुनै पनि हालतमा  १४ महाधिबेशनद्वारा फेरि सभापति हुने अभियानमा छन् । यसका लागि जुनसुकै हतकण्डा प्रयोग गर्न पनि देउवा तयार छन् ।

विगतको १० औं महाधिबेशनको पूर्वसन्ध्यामा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आफू प्रतिकुलका २२ जिल्ला सभापतिहरुलाई हटाएर आफ्नो अनुकूलका मनोनित गरेका थिए । जसका कारण उनलाई  चुनाव जित्न निकै सहज भयो । देउवाले पनि त्यही नजीर अबलम्वन गर्ने रणनीति अन्तर्गत परीक्षणका लागि पश्चिम नवलपरासीमा हात हालेका हुन् । पश्चिम नवलपरासीको यो रणनीति सफल भयो भने इतर पक्षका १५ जिल्ला सभापति बर्खास्त गर्ने तयारीमा देउवा छन् । यसका लागि देउवाले उनीहरु विरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी दर्ता गराउन लगाएका छन् । केन्द्रीय अनुशासन समितिमा देउवाको बहुमत छ । इतर पक्षका जिल्ला सभापतिहरुलाई अनुशासन समितिमार्फत् कारवाही गरी आफ्ना अनुकूलका नियुक्त गर्न देउवा सफल भए पनि उनलाई चुनाव जित्न निकै सहज हुनेछ । महाधिबेशन प्रतिनिधि चयन गर्न बहालवाला जिल्ला सभापतिहरुको निकै ठूलो भूमिका हुन्छ । यतिवेला धेरैजसो जिल्ला सभापतिहरु इतर पक्षका छन् । यो नै देउवाका लागि टाउको दुखाइको विषय बनेको छ । तर, इतर पक्ष पनि यो मामलामा निकै सतर्क भएको देखिएको छ । देउवाको यो रणनीतिले इतर पक्ष एक ढिक्का हुने सम्भावना बढेको छ ।

इतर पक्षलाई निस्तेज गर्नु देउवाका लागि मुख्य चुनौती हो भने आफ्नै पक्षलाई व्यवस्थित गर्नु देउवाका लागि अर्को चुनौती हो । अख्तियारले मुद्धा दायर गरेका कारण उपसभापति विजय गच्छदारको व्यवस्थापन देउवाका लागि सहज बनेको एकथरिले बताएका छन् । तर, अर्काथरिले भने  विमलेन्द्र निधिको विकल्पका लागि तयार गरिएका गच्छदार अख्तियारको फन्दामा परेकाले देउवालाई नोक्सान भएको विश्लेषण गरेका छन् ।  समाचार स्रोतका अनुसार देउवा पुनः सभापति बन्न खोज्नु भनेको आगामी १५ औं महाधिवेशनका लागि श्रीमती आरजु राणालाई तयार गर्नका लागि हो तर देउवा पछि आफू सभापति बन्नुपर्ने निधिको दावी रहदैं आएको छ । त्यसैलै निधिलाई १४ औं महाधिबेशनको पूर्वसन्ध्यामै सिध्याइदिने डिजाइन अन्तर्गत अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग गर्ने रणनीतिमा देउवा छन् । 

कांग्रेसका लागि छुट्याइएको एउटा कोटामा पूर्व डीआईजीपी जयवहादुर चन्दलाई नियुक्त गर्न कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीलाई निरन्तर दबाव दिँदै आएका छन् । तर, ओलीले  चन्द विवादास्पद व्यक्ति भएकाले अर्को नाम पठाउन आग्रह गर्दै आएको स्रोतको दावी छ । चन्दलाई अख्तियारको आयुक्त बनाउनका लागि प्रधानमन्त्री ओलीलाई थप दवाव दिने रणनीति अन्तर्गत देउवाले उद्योगपति विनोद चौधरीको रोहवरमा नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेको समाचार स्रोतले दावी गरेको छ तर यसको पनि स्वतन्त्र पुस्टि भइसकेको छैन ।

आफ्नो कोटाबाट नभए प्रचण्डकै कोटाबाट भए पनि चन्दलाई अख्तियारको आयुक्त बनाउने देउवाको रणनीति रहेको देउवा निकट स्रोतको भनाइ रहेको छ । चन्द अख्तियारमा जान यति धेरै सक्रिय हुनुको कारण विमलेन्द्र निधिलाई डाम्नका लागि हो भन्ने कुरा कांग्रेस वृत्तमा थोरैलाई मात्रै थाहा छ । निधिकै कारण आफू आइजीपी बन्न नपाएको गुनासो चन्दले गर्दै आएका छन् । समयबद्ध साप्ताहिकबाट