कोरोना सङ्कट : ईश्वरको अस्तित्वमाथि प्रश्न

कोरोना सङ्कट : ईश्वरको अस्तित्वमाथि प्रश्न

योगेश खपाङ्गी

विश्वभर अहिले कोरोना (कोभिड–१९) भाइरसको त्रास व्याप्त छ । चीनको बुहानबाट फैलिएको भनिएको कोरोना सन् २०१० मै युरोपमा देखापरेको थियो । तर, यसको भयाभय रुप सन् २०२० को सुरुवातमा देखापरेको छ । यो पङ्क्ति लेख्दै गर्दा कोरोनाका कारण विश्वभरमा साँढे पाँच हजार व्यक्तिले ज्यान गुमाइसकेको छ । यसैबीच चीनले कोरोनाबिरुद्धको लडाइ जितेको घोषणा गरेको छ भने क्युवाको एक औषधि उत्पादक कम्पनीले यस बिरुद्धको खोप तयार गरेको जानकारी दिएको छ । त्यसैगरी अमेरिकाले पनि यसका विरुद्धको खोप आजै मानवमा परीक्षण गरिने बताएको छ ।

नेपालमा पनि कोरोनाको भय व्याप्त छ । सरकारले आवश्यक सावधानी अपनाइरहेको भनेको छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक रुपमा भेला हुन, सभा सम्मेलन गर्न सरकारले रोक लगाएको छ । हालै अस्ट्रियाले पाँचजनाभन्दा बढी भेला हुन निषेध गरेको छ । इटाली, स्पेन लगायतका देशमा यसले भयावह रुप लिएको छ । नेपालमा ग्याँस तथा मास्कको कालाबजारी भइरहेको छ, केही कार्वाहीमा परेका छन् । अस्टे«लियामा ट्वाइलेट पेपरको अभाव भएको छ भने अमेरिकामा सुपरमार्केटका ¥याक खाली भएर सरकारले आफ्नो आवश्यकता भन्दा बढी सामान संग्रह नगर्न भनेको छ । उता क्यानडाको सरकारले ट्वाइलेट पेपर, टिस्यु पेपर र स्यानिटाइजरको मूल्य घटाइदिएको छ भने सुपरमार्केटको ढोकैमा आगन्तुकलाई स्यानिटाइजर स्प्रे गर्ने व्यवस्था मिलाएको छ । 

धेरै नै सावधानी अपनाउँदा पनि कोरोना फैलिने क्रम जबर्जस्त रुपमा कायम छ । यसले विश्वको अर्थव्यवस्था ध्वस्त बनाएको छ । ट्राभल एन्ड टुरिज्म, हवाइ, होटल तथा मनोरञ्जन उद्योगको व्यापार चौपट बनाएको छ ।
यसैबीच संसारभरको चर्च, मन्दिर, मस्जिद, गुम्बा र गुरुद्वारामा जाने मान्छेहरु घट्दो क्रममा छन् । मक्का–मदिना, भ्याटिकन र मन्दिरको आम्दानी पनि सुकेको छ । 

विगत दश वर्षको आँकडा हेर्ने हो भने संसारमा नास्तिकको संख्या ह्वात्तै बढेको छ । तर संसारका धेरैजसो साधारण बुद्धिका मान्छेहरु अझै पनि ईश्वरमा आस्था राख्छन् । तर, हालका दिनमा सामाजिक सन्जाल र छलफलका टेबलमा कोरोनाको यस पालिको कहरले ईश्वरको अस्तित्वमाथि प्रश्न उठाउन थालिएको छ ।

भौतिकवादीहरुले ईश्वरको अस्तित्वलाई नकार्छन् । यस शताब्दीकै सबैभन्दा ठूला खगोलशास्त्री वैज्ञानिक स्टेफन हकिन्सले आफ्नो पुस्तक ‘ग्रान्ड डिजाइन’ ईश्वरको सम्बन्धमा व्याप्त परम्परागत मान्यतालाई चुनौती दिँदै संसारको सृष्टि ईश्वरले गरेको होइन भनेका छन् । उनले उक्त पुस्तकमा ब्रह्माण्डको उत्पत्तिको कारण ‘बिगब्याङ’ हो भनेका छन् । गुरुत्वाकर्षणको कारण बिग ब्याङ भएको हकिन्सको ठहर छ ।

उसो त हजारौं वर्षअघि नै चारुवाक र बृहस्पतीले पनि भौतिकवादी सिद्धान्त अनुसार ईश्वरको अस्तित्व अस्वीकार गरिसकेका थिए । हेगेल, कार्ल माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओले पनि भौतिकवादलाई नै अंगिकार गरे ।
महामानव बुद्धलाई पनि ईश्वरको अस्तित्व सम्बन्धी प्रश्नले मृत्यु शैयामा पुग्दा समेत छोडेन । बुद्धले ईश्वरको चर्चा गर्नु समयको बर्बादी मात्र हो भनेका छन् ।

यसै सम्बन्धमा डा. भीमराव अम्बेडकरले ‘ईश्वरमाथिको विश्वासले नै प्रार्थना र पुजा सामथ्र्यको उत्पादक हो । प्रार्थना गर्ने आवश्यकताले पादरी–पुरोहितको जन्म भयो । अनि पुरोहितहरुको चतुर दिमागले अन्धविश्वासको जन्म दियो ।’
यसैसम्बन्धमा रामास्वामी पैरियारले भने – ‘जसले ईश्वरलाई पैदा ग¥यो, त्यो मूर्ख थियो । जसले ईश्वरको प्रचार गर्छ, त्यो धूर्त हो अनि जसले ईश्वरको पूजा गर्छ, त्यो जंगली हो ।’

यदि ईश्वर भएका भए !

हिन्दूहरु आशमा छन् – एक दिन भगवान पापीहरुको नाश गर्न संसारमा आउनुहुनेछ । इशाईहरु पनि आशमा छन् – परमेश्वर एक दिन संसारमा आउनुहुनेछ । मुसलमानहरु पनि आशमा छन् – एक दिन अवश्य कयामतको रात हुनेछ र काफिरहरुको नाश हुनेछ । बौद्धहरु पनि त्यस्तै आशमा छन् – भगवान आउनुहुनेछ । तर संसारमा यसअघि पनि कयौं संकटहरु आए । हरेक साल प्राकृतिक विपत्ती आइपर्छ । हरेक साल कुनै भाइरसको आतंक छाउँछ । मान्छेहरु आफै धर्मको नाममा काटमार गर्छन् । तर, यी सबै घटना कथित सर्वशक्तिमान ईश्वर, अल्लाह र गडले लाखौं वर्षदेखि चुपचाप हेरिरहेको छ । न कुनै आउने छाँटकाट छ न त कुनै आशा ! बरु नास्तिकहरु जो ईश्वरमाथि भरोसा गर्दैनन्, उनीहरु संसारलाई रोग, भोक र शोकमुक्त गराउन तल्लिन छन् । 

हालसम्म कयौं वैज्ञानिक खटेर हजारौं रोगको औषधि पत्ता लगाए । हाल कोरोना बिरुद्धको भ्याक्सिन बनाउन पनि संसारभरका वैज्ञानिक खोजमा जुटिरहेका छन् । तर निश्चित छ, कोरोना बिरुद्धको भ्याक्सिन पत्ता लागेपछि आस्तिकजनले फेरि पनि बचाएकोमा ईश्वरलाई नै धन्यवाद टक्र्याउनेछन् । वास्तवमा हरेक कामका निम्ति ईश्वरलाई धन्यवाद दिनु आस्तिकजनको दोगलापन बाहेक केही होइन । भन्नलाई त ईश्वरको आज्ञा बेगर रुखको एउटा पात पनि हल्लिदैन भनिन्छ । त्यसो हो भने बलात्कार हुन्छ, चोरी हुन्छ, डकैती हुन्छ, हत्या हुन्छ, भ्रष्टाचार हुन्छ, प्राकृतिक दोहन हुन्छ, रोग लाग्छ, एक्सिडेन्ट हुन्छ, भाइरस लाग्छ, भोक र प्राकृतिक प्रकोपमा परेर लाखौं मान्छेको अकालमै ज्यान जान्छ । के ती सबै घटना ईश्वरको आज्ञा वा इच्छाका कारण भएका थिए त ?

ईश्वर यदि छ भने ऊ पापी हो 

गत वर्षको सेप्टेम्बरदेखि २०२० सम्म जारी अस्ट्रेलियाको सबैभन्दा ठूलो आगलागीमा लगभग एक अर्ब जनावरको मृत्यु भएको आँकलन छ । 
विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार विश्वमा हरेक साल ४६ लाखभन्दा बढी मान्छे वायु प्रदूषणको कारण मर्छन् । यस अनुसार विश्वमा प्रतिमिनेट करिब नौ जनाले अकालमै ज्यान गुमाउँछन् । त्यसैगरी विश्वमा हरेक साल सडक दुर्घटनामा मात्रै १३ लाख ५० हजार ब्यक्ति मारिन्छन् । अर्थात प्रति दिन सडक दुर्घटनामा तीन हजार सात सयको मृत्यु हुन्छ ।

त्यसैगरी बेलाबेलामा आउने इबोला, सार्स, मर्स, मरबर्ग, एन्थ्राक्स, कोरोना तथा रेबिज, इन्फुएन्जा, स्वाइन फ्लु, चिकेन फ्लु, म्याड काउ,स्मलपक्स, एचआइभी जस्ता रोग र भाइरसका कारण संसारभरमा लाखौं मान्छे अकालमै मर्छन् । बाढी–पहिरो, चट्याङ, ज्वालामुखी विष्फोटन, अतिवृष्टि, अनावृष्टि, भूकम्पले पनि लाखौं जनावर र मान्छेको मृत्यु हुन्छ । यदि ईश्वर छ र उसले यो सबै नियन्त्रण गर्ने हैसियत राख्छ तर चुपचाप हेरिरहेको छ भने ऊ अपराधी हो ।
ऊ सर्वशक्तिमान, दयालु, सर्वव्यापक, न्यायपरायण, अजर–अमर, अविनासी छ भने मान्छे र पशुहरुको जीवनमा किन खेलवाड गरिरहेको छ ? के मान्छेको जीवन नदी किनारमा बनाइएको बालुवाको घर हो ? कसैको जीवनमा पनि खेल्ने कथित

ईश्वरलाई खेल्ने के हक छ ?

यदि ईश्वर शर्वशक्तिमान छ भने जन्म किन दिन्छ र मृत्यु किन दिन्छ ? के मृत्युलाई जित्ने शक्ति ऊसँग छैन ? छ भने किन रोक्दैन ? छैन भने उसलाई किन सर्वशक्तिमान मान्ने ?
एकथरिको तर्क आउँछ, ईश्वरले जन्म त दिन्छन् तर मृत्यु पनि दिएनन् भने यो धर्तीमा बस्ने ठाउँ हुन्न । खानेकुराको अभाव हुन्छ, नयाँ जन्मिनेलाई ठाउँ हुँदैन । तर यदि वास्तवमा ईश्वरमा त्यस्तो अकल्पनीय शक्ति थियो भने उसले धर्तीलाई यति सानो किन बनायो ? ब्रह्माण्डमा अरु पनि कयौं ठूला ग्रह छन्, तीं सबै मानवका लागि बस्न मिल्ने किन बनाएन ?

वास्तविकतामा जिऔं 

तर्कको तराजुमा जोखेर हेर्दा ईश्वर छैन भन्ने नै निश्कर्षमा पुगिन्छ । यस विषयमा आचार्य भद्रशील रावतले आफ्नो पुस्तक ‘ईश्वर ने नहीं बनाई दुनिया’ मा लेखेका छन् – प्रकृति आफैमा पूर्ण स्वाधीन छ । यो स्वयंभूत र स्वयं संचालित छ, यसमाथि कुनै बाहिरी शक्तिको नियन्त्रण छैन । ईश्वर मान्छेका अज्ञानी दिमागको उपज हो । प्रकृतिमा जुन विभिन्न तत्व छन्, तीं यौगिक हो, मिश्रण हो, अणु–परमाणु हो, जो सबै प्राकृतिक नियम अन्तर्गत गतिशील एवम् क्रियाशील भइरहेका हुन्छन् । त्यसैको फलस्वरुप हजारौं, लाखौं मिश्रण र यौगिक बनिने र बिग्रिने भइरहन्छन् । जीवनको उद्भव र विकास पनि तिनै तत्वको आनुपातिक समन्वय र संश्लेषणबाट हुन्छ । त्यसलाई हामी विशिष्ट यौगिकको सक्रिय समन्वयबाट हुने गुणात्मक परिवर्तनको परिणाम मान्न सक्छौं । समयबद्ध साप्ताहिकबाट