कोरोना आशंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना 

कोरोना आशंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना 

पाँचजना विदेशी नागरिकलाई  कोरोनाभाइरसको आशंका गर्दै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ। भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेका र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार पाँच जना अमेरिका र स्कटल्याण्डका नागरिक हुन्। उनीहरूलाई सोमबार भर्ना गरिएको थियो। एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा राखेर उपचार गरिएको छ।

उनको अवस्था अलिक जटिल देखिएपछि आइसियूमा भर्ना गरिएको तर परीक्षण गर्दा नतिजा नेगेटिभ देखिएपछि फेरी पुनः परीक्षणको तयारी गरिएको छ । आइसियूमा रहेका विरामीको अवस्थामा राम्रो सुधार आएको भन्दै उनलाई आजै आइसियूबाट बाहिर निकाल्ने तयारी गरिएको छ।

भर्ना भएका सवैको आज बेलुकासम्म परीक्षणको नतिजा आइसक्ने अस्पतालले जनाएको छ ।  टेकु अस्पतालमा पाँच वटा मात्र आइसोलेसन बेड रहेकोमा सबै भरिएका छन्।  अब थप बिरामी आएमा भर्ना गर्न सकिने अवस्था छैन । बिरामी थपिए पाटन अस्पतालमा रिफर गर्ने तयारी गरिएको छ । पाटन अस्पतालमा पनि सातवटा मात्र आइसोलेसन बेड छ। पाटन अस्पतालमा बिरामी भरिए अस्पतालले सशस्त्र प्रहरी अस्पतालमा पठाउँने तयारी रहेको छ।