‘फ्यामिलिज फस्ट’ कोरोनाभाइरस एक्टमा ट्रम्पद्वारा हस्ताक्षर

‘फ्यामिलिज फस्ट’ कोरोनाभाइरस एक्टमा ट्रम्पद्वारा हस्ताक्षर

काठमाडौ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस राहत प्याकज दिने कानुन ‘फ्यामिलिज फस्ट’ कोरोनाभाइरस एक्टमा हस्ताक्षर गरेका छन् । कोरोनाभाइरसको परीक्षण र आकस्मिक बिदामा जान पर्ने कामदारको भुक्तानी गर्नुपर्ने प्रावधान समेत रहेको यो ऐन ट्रम्पको हस्ताक्षरसँगै कानुन बनेको हो ।

अमेरिकी संसद सिनेटले यसअघि बुधवार यो विधेयकलाई सदनबाट पारित गरेको थियो । राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार ‘फ्यामिलिज फस्ट कोरोनाभाइरस रिसपोन्स एक्ट’ले कोभिड–१९ सार्वजनिक स्वास्थ्य संकटका लागि आवश्यक हुने सहयोग कार्यकालागि सहयोग उपलब्ध गराउनेछ ।

यसले संघीय पोषण कार्यक्रम, रोजगार सम्बन्धित सुरक्षा र लाभ कार्यक्रम, स्वास्थ्य कार्यक्रम र बीमा पूरा गर्न आवश्यक कार्यक्रम  र कर छुटसम्बन्धी कार्यक्रमहरू रहेका छन् । यो कानुनले अमेरिकीहरूलाई थप स्वास्थ्य सहयोग उपलब्ध गराउनेछ ।

अमेरिकी कांग्रेसले यो दोस्रो ठूला खर्चसम्बन्धी विधेयक पारित गरेको छ । गत साता खोप अनुसन्धान र विकास गर्न ८.३ अर्ब अमेरिकी डलर खर्च कानुनका अतिरिक्त यो ठूलो खर्च विधेयक पारित गरिएको हो । ट्रम्पले १० खर्ब बराबरको बजार प्रोत्साहन कार्यक्रमका अतिरिक्त यो कानुनमा हस्ताक्षर गरेका हुन ।