कोरोनाको त्रासः सिन्धुली सदरमुकाममा उच्च सतर्कता; निजी विद्यालयद्वारा सरकारी निर्देशनको अवज्ञा 

कोरोनाको त्रासः सिन्धुली सदरमुकाममा उच्च सतर्कता; निजी विद्यालयद्वारा सरकारी निर्देशनको अवज्ञा 

सिन्धुली, ६ चैत । राजधानी काठमाडौ र छिमेकी भारतको बिहारसँग सडक सञ्जाल जोडिएको सिन्धुली सदरमुकाममा कोरोना भाइरस (कोभिड) को प्रकोप आउन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ ।
कमलामाई नगरपालिकाको संयोजनमा प्रहरी, सेना, स्थानीय प्रशासन, व्यवसायी तथा अन्य सरोकारवाला निकायहरुको संंयुक्त बैठक बसेर जिल्लामा हुने सम्भावित जोखिमलाई कसरी टार्ने भन्ने विषयमा गम्भीर छलफल भएको हो ।

नगरप्रमुख खड्गवहादुर खत्रीको अध्यक्षतामा भएको बैठकले सदरमुकामका सबै सरकारी कार्यालयहरुमा प्रवेश गर्नु अगाडि सावुन पानीले हात धुने व्यवस्था मिलाउने वा सेनिटाइजर आइटम राख्ने, जिल्ला सदरमुकाममा हुने सभा सम्मेलन वा भीडभाडमा नजाने र बढी भीडभाड हुने हाट बजार स्थगन गर्ने निर्णय गरेको छ ।

बैठकले कमलामाई नगरपालिकाका १४ वटै वडामा रहेका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रलाई कोरोना भाइरसको सम्भावित संक्रमणका लागि खटिन तयारी अवस्थामा राख्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत पुरुषोत्तम सुवेदीले जानकारी दिए । उनका अनुसार बैठकले आम नगरवासीमा अत्यावश्यक काम बाहेक बजारमा ननिस्कन पनि अपील गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कमलामाई निवासी ८१ वर्षीय वृद्धलाई एक सय चार ज्वरो देखिएपछि सिन्धुली जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचार शुरु गरिए पनि अहिलेसम्म उनको ज्वरो नघटेको सिन्धुली अस्पतालका डा. अभिशेष भण्डारीले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसको संक्रमण आशंकापछि उनको स्वाव परीक्षणका लागि नमूना संकलन गर्न केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौको टोली सिन्धुली आएर नमूना लिने काम गरेको छ । डा. भण्डारीका अनुसार उनको रिपोर्ट २४ घण्टापछि मात्रै आउने भएकाले अहिले नै कोरोना हो वा होइन भन्न सकिँदैन।

यसैबीच सिन्धुली अस्पतालले ज्वरोका विरामी बढेसँगै छुट्टै फिवर क्लिनिक चलाउने तयारी गरेको छ । अस्पताल विकास समितिले भवन अभाव भएपछि अस्पताल प्राङ्गणमा टेण्टको व्यवस्था गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलका अनुसार स्वास्थ्यकर्मीले लगाउने पिपिइ नभएकाले सेवा सुचारु गर्न नसकिएको हो ।

अस्पताल विकास समितिले अस्पताल प्रवेश गर्ने सबै नागरिकलाई अनिवार्य साबुन पानीले हात धुुन लगाएको छ । कोरोना संक्रमण हुन नदिन सावधानी स्वरुप अनिवार्य हात धुनुपर्ने भएको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार अस्पतालमा जानु पूर्व सबैले अनिवार्य रुपमा हात धुनुपर्ने नियम बनाइएको पोख्रेलले जानकारी दिए ।

बैठकमा प्रमखु जिल्ला अधिकारी, नेपाली सेनाका वाहिनीपति, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी प्रमुख, जिल्ला अस्पताल सिन्धुलीका अध्यक्षलगायतको सरोकारवाला समूहको बैठकले उक्त निर्णय गरेको हो ।

सिन्धुलीका निजी विद्यालयद्धारा सरकारी निर्देशनको अवज्ञा 

सरकारले कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट वालवालिकालाई जोगाउन भन्दै सबै किसिमका परीक्षाहरु स्थगन गरेका बेला सिन्धुली जिल्लाका निजी विद्यालयहरुले भने सरकारको उक्त निर्देशनको उल्लङ्घन गरेका छन् । सिन्धुली जिल्लामा सञ्चालित झण्डै एक दर्जन निजी विद्यालयहरुले आज पनि परीक्षा सञ्चालन गरेर कोरोना प्रकोप रोकथामका लागि गरेको निर्णयको  उल्लङ्घन गरेका हुन् ।

‘हामीले बिहानै सूचना जारी गरेर जिल्लामा सञ्चालित सबै परिक्षा स्थगन गर्न भनेका छौं, केही निजी विद्यालयले अटेर गरेर परीक्षा सञ्चालन गरेपछि कमलामाई नगरपालिकाको शिक्षा शाखालाई रोक्न निर्देशन दिएका छनैं’ शिक्षा समन्वय कार्यालय सिन्धुलीका प्रमुख नेत्र गजुरेलले बताए । उनले नगर शिक्षा समितिकै निर्देशनमा निजी विद्यालयले सरकारले दिएको निर्देश्नको अबज्ञा गरेको पनि खुलासा गरेका छन् ।

यसैवीच नगरशिक्षा अधिकारी चन्द्रप्रसाद लुइटेलले सरकारले विद्यालय बन्द गर्ने दिएको निर्देशन आफ्नो कारणले नभई प्याव्सन र एनप्याव्सनको कारणले भएको बताएका छन् । तपाई नगर शिक्षा अधिकारी भएपछि सरकारको निर्देशन पालना गराउने जिम्मेवारी तपाईको होइन ? भन्ने जिज्ञासामा उनले भने, ‘सरकारको निर्देशन मैंले उल्लङ्घन गरेको छैन । सबै सरोकारवालाको दबाबका कारणले आज परीक्षा सञ्चालन भएको हो, मैले निजी विद्यालयलाई सबै परीक्षा एकै दिन सक्न भनेको छु, भोलिबाट नगरपालिका क्षेत्रका कुनै पनि विद्यालयमा परिक्षाका कार्यक्रम सञ्चलान हुने छैन ।’