दक्षिणतर्फका सीमानाकामा कडाइ गर्ने प्राधिकरणको निर्णय

दक्षिणतर्फका सीमानाकामा कडाइ गर्ने प्राधिकरणको निर्णय

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले दक्षिणतर्फका सीमानाकामा कडाइ गर्ने निर्णय गरेको छ। सीमा व्यवस्थाबारे भारतको पदाधिकरणसँग छलफल भइरहेको र त्यसको खाका बेलुकीसम्म आइपुग्ने बताइएको छ।

गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले खुला सीमा नाका भएकाले दक्षिणबाट भाइरस भित्रिन सक्ने भन्दै त्यसमा कडाइ गर्नुपर्ने निर्णय भएको हो। मालपोत, विद्युतको महशुल तिर्ने, पानीको बिल तिर्ने ठाउँ, यातायात लगायतका कार्यालयहरुमा भिडभाड कसरी कम गर्ने भन्ने विषयमा समेत उच्चस्तरीय समितिबाट निर्णय गरिने भएको छ।

दक्षिण नाकाको जाँचमा कडाइ गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरिएको छ। साथै आपतकालिन कार्य सञ्चालन केन्द्र चौविसै घण्टा सञ्चालन गरिने छ ।

त्यस्तै बैठकमा सीमाका १३३ हेल्प डेस्कमार्फत करिब ३ लाख १० हजार जनाको जाँच गरिएको छ। जसमा १ लाख नेपालीको जाँच गरिएको थियो। जाँच गरिएकामध्ये ६० जनामा ज्वरो भेटिएको थियो। जसमा ५६ जना भारतीय र ४ नेपाली रहेको थिए। ज्वरो देखिएका ३ जना भारतीयलाई घर फर्काइएको छ भने १ जनाको उपचार हुँदैछ। हाल भारतीय नागरिकलाई पनि नेपाल प्रवेशमा रोक लगाइएको छ।

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री वसन्त नेम्वाङ, सुरक्षा निकायका प्रतिनिधिहरु, मन्त्रालयका सचिवहरुको समेत उपस्थिति थियो।