कोरोनाबारे अफवाह फैलाउनेलाई १ लाख जरिबाना, ६ महिना कैद !

 कोरोनाबारे अफवाह फैलाउनेलाई १ लाख जरिबाना, ६ महिना कैद !

काठमाण्डौ, ६ चैत । गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको सङ्क्रमण फैलिने संभावना उच्च भएको निष्कर्ष निकालेको छ । 

बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले खुल्ला सिमानाका कारण भारतबाट कोरोना फैलिने जोखिम उच्च भएको निष्कर्ष निकालेको हो । बैठकमा पूर्व तयारी र प्रतिकार्य योजनासम्बन्धमा छलफल भएको थियो। 

भारतमा तीव्र रुपमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा भित्रन सक्ने भन्दै सीमा नाकामा हुने जाँचलाई कडाइ गर्नुपर्ने बैठकको निष्कर्ष छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जाँचमा कडाइ गरी नेपालभित्र प्रवेश गर्नै नदिने योजना बनाइने जानकारी दिए ।  

गृहमन्त्रालयले कोरोनाबारे अफवाह फैलाउनेलाई कडा कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । अफवाह फैलाउने र अनावश्यक प्रचार गर्नेलाई १ लाख जरिबाना र ६ महिना कैद हुने व्यवस्था रहेको छ ।

धेरै सेवाग्राही जमघट हुने सरकारी कार्यालयहरु समेत केही समय बन्द गर्ने तयारी गरिएको छ  ।