कोरोना कहरः साप्ताहिक पत्रिकाहरुको प्रकाशन स्थगित
काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)का कारण मानव सभ्यता र विकासलाई नै चुनौति पुगेको महसुस गर्दै साप्ताहिक पत्रिकाहरुको प्रकाशन स्थगित हुने भएको छ ।
शुक्रबार जनआस्थाका किशोर श्रेष्ठ, दृष्टिका शम्भु श्रेष्ठ, देशान्तरका कबिर राणा, साँघुका गोपाल बुढाथोकी, जनधारणाका निमकान्त पाण्डे, समयबद्धका फणीन्द्र फुयाल, तरुणका परशु घिमिरे, जनआहनका ओम शर्मा, पिपुल्स रिभ्युका पुष्प प्रधान, हाँकका गोबिन्दबहादुर थापा, बुधबारका उज्ज्वल पहाडी, घटना र बिचारका बबिता बस्नेत, मधेशबाणीका डा. राजेश अहिराज, नेपाली पत्रका कबिर जोशी, तामाकोशीका रामचन्द्र बस्नेत, राष्ट्रबाणिका हरि लम्सालले पत्रिकाको प्रकाशन केही समयका लगि स्थगित गर्ने निर्णय गरेका हुन् ।
उनीहरुले स्थिती सामान्य भएसँगै पत्रिका प्रकाशनलाई निरन्तरता दिने जानकारी गराएका छन् । केही समयका निम्ति छापा प्रकाशन स्थगनका कारण सूचना सम्प्रेषणमा पुग्न गएको अवरोधका निम्ति क्षमा मागेका छन् ।
यसैगरी सोबार प्रकाशित हुने नयाँ बिकल्प साप्ताहिक पनि स्थगित हुने जानकारी सम्पादक दामोदर दवाडीले दिएका छन् ।
प्रतिक्रिया