कोरोना त्रास : सप्तरीमा ५० शैय्याको लाइसोलेसन वार्ड तयार 

कोरोना त्रास :  सप्तरीमा ५० शैय्याको लाइसोलेसन वार्ड तयार 

कोरोना भाइरस(कोबिड १९) संक्रमणको खतरालाई दृष्टिगत गरि सप्तरीमा ५० शैय्याको लाइसोलेसन वार्ड तयार पारिएको छ । 

महामारीकै रुपमा तिब्र गतिमा छिमेकी देशहरुमा फैलिरहेका कोरोना भाइरसको संक्रमण जिल्लामा पनि भित्रिन सक्ने खतरालाई मध्यनजर गरि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा १० शैय्या, छिन्नमस्ता अस्पतालमा २० शैय्या र रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा २० शैय्याको लाइसोलेसन वार्ड तयार पारिएको हो । 

जिल्लाको विभिन्न स्थानमा कर्मचारी तथा सेवाग्राहीलाई संस्था प्रवेश गर्नु अगावै साबुन पानीले अनिवार्य रूपमा हात धुने, तापक्रम मापन गर्ने, विभिन्न प्रचार सामग्रीमार्फत कोरोनासम्बन्धी सन्देश प्रवाह गर्न शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

कोरोना भाइरसको सङक्रमित वा शङ्कास्पद विरामी राख्नका लागि सञ्चालनमा नरहेको राजविराजस्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा क्वारेन्टाइन बनाउने तयारी भइरहेको छ । 
जिल्ला प्रशासन कार्यालय, गजेन्द्रनारायण सिंह अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको एक टोलीले आज क्वारेन्टाइनका लागि प्रस्तावित सो क्षेत्रको अवलोकन गरेको छ ।

यस्तै गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल परिसरभित्र रहेको परिवार नियोजन भवनमा ६ शैय्या र मेडिकल वार्डमा ४ शैय्या गरि १० शैय्याको लाइसोलेसन वार्ड तयार पारेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए । यसलाई छिटै सञ्चालनमा ल्याउन सकिने प्रमुख मेडिकल सुपरिटेन्डेन डा. दासले बताए ।  लाइसोलेसन वार्डमा कोरोना संक्रमित बिरामीको उपचारको लागि जनशक्ति समेत तयारी अवस्थामा राखिएको छ । 

अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीलाई बिरामीको उपचारबारे अवश्यक तयारी र अपनाउनुपर्ने साबधानी तथा संक्रमित बिरामीको उपचारमा लगाईने सुरक्षित पोशाक लगाउने बारे तालिम समेत दिईसकेको प्रमुख मेसु डा. दासको भनाई छ । 

कोरोनाको शंकास्पद बिरामी आएमा अस्पतालको लाइसोलेसन वार्डमा राखेर परिक्षणसँगै उपचार गरिने र त्यसका लागि डा. रञ्जित कुमार झाको नेतृत्वमा चिकित्सको टोली तयारी अवस्थामा राखिएको जनाएको छ । 

यसका साथै कोरोना भाइरसको सम्भाबित जोखिमलाई कम गर्ने उद्देश्यले अञ्चल अस्पताल परिसरको बिभिन्न ५ स्थानमा हातधुन पानी र साबुन राखिएको छ ।