शिवरात्रि कि गाँजा दिवस ?

शिवरात्रि कि गाँजा दिवस ?

फणीन्द्र फुयाल 

आज शिवरात्रि । आज सैनिक दिवस पनि हो । आज शिवजीको प्रसाद ग्रहण गर्ने भन्दै युवा युवतीहरु गाँजा तान्न तँछाड मछाड गर्दै शिवजीका मठ मन्दीरहरुमा जाने गर्दछन् । साधु सन्त तथा बाबाजीहरुलाई शिव भगवानको प्रतिकको रुपमा लिई उनीहरुलाई सकेको दान दक्षिणा दिनु पनि हिन्दू धर्म ग्रन्थमा ठूलो धर्म कमाउनु हो भनी व्याख्या गरिएको छ ।

त्यसो त गाँजा सेवन गर्नु, यसको ओसार पसार गर्नु र व्यापार गर्नुलाई नेपालको कानुनले अवैध भनेको छ । नेपाल प्रहरीले तथा सशस्त्र प्रहरीले पनि देशका बिभिन्न ग्रामीण स्थानका किसानहरुले लगाएको गाँजा खेती नष्ट गर्ने गरेको हामीले समाचारहरुमा देख्दै, सुन्दै र पढ्दै आएका छौै । 

अरु बेला धर्म नमान्ने युवाहरु आज शिवरात्रीको दिनमा शिवको पूरा आराधना गर्ने बहानामा गाँजा, भाङ आदि सेवन गरी दिनैभरि नशाको तालमा झुमेर बसेको पनि हामीले देख्ने गरेका छौं । 

आजकै दिन टुँडिखेलमा बढाइँका साथ सेना दिवस पनि मनाइने गरिएकाले शिवरात्रि पर्वले राष्ट्रिय पर्वको रूप ग्रहण गर्न पुगेको छ । आराध्यदेव भगवान् श्री पशुपतिनाथप्रतिको यो एक किसिमले आराधना र सम्मान पनि हो । महाशिवरात्रि पर्व भगवान् शिवको आराधनाको प्रमुख दिन हो । त्यसो त भगवानको पूजा–आराधनालाई खास कुनै दिन कुरेर बस्नुपर्दैन । प्रत्येक क्षण असल कार्यका लागि शुभमुहूर्त हुन्छ भनिन्छ र वास्तवमा यो हो पनि ।

तर शिवरात्रीको बहानामा युवाहरु काठमाडौंको प्रसिद्ध तीर्थ स्थल पुशपतिनाथको मन्दिर परिसरमा रहेको श्लेष्मान्तक बनमा गई बाबा तथा जोगीहरुसँग गाँजा खरीद गरी त्यसको धुवाँमा झुमेर बस्नुलाई शिवजीको पूजा आराधना गरेको भन्ने कि गाँजा खाने बहानाका रुपमा शिवरात्री पर्वलाई दुरुपयोग गरेको भन्ने ? यो एउटा गम्भिर प्रश्न हो । 

शिवरात्रिमा पूजा, उपवास र जागरणलाई महत्व दिइएको छ । अधिकांश पूजाआजा दिनमा हुन्छ तर भगवान् शिवको पूजा यस दिन रात्रिको समयमा हुन्छ, किन ? यो धेरैको मनमा आइरहने जिज्ञासा हो । भगवान् शङ्कर संहारशक्ति तथा तमोगुणका अधिष्ठाता हुनु । त्यसैले रात्रिसँग उनको स्नेह रहनु स्वाभाविक हो । रात्रि आनन्ददायीको साथसाथै संहारकालको प्रतिनिधि पनि हो । रात्रिको आगमन हुनासाथै सर्वप्रथम प्रकाशको संहार हुन्छ, जीवहरूको दैनिक कर्मचेष्टाहरूको संहार, इन्द्रीयहरूको सामथ्र्यको संहार तथा अन्त्यमा निद्राद्वारा चेतनाको संहार भएर सम्पूर्ण विश्व सङ्हारिणी रात्रिको काखमा अचेतन हुन्छ ।

तर रात्रीकै समयमा वर्तमान शिवजीका अनुयायीहरु ठुलाठूला मूढा तथा दाउरा बाली रातभरि धुनी तापेर गाँजा र भाङ मात्र होइन अव त झम्केझोल समेत सेवन गरेर होहल्ला गर्दै अर्धचेत अवस्थामा मडारिँदै बर्बराउनुलाई पनि शिवजीको आराधना नै भन्ने । शिवजीको रुप धारण गरेका नाङ्गा बाबाहरु गुप्ताङ्ग देखाएर सर्बाङ्ग हुनुलाई पनि शिवरात्रि तथा हिन्दू धर्म नै मान्ने ?

त्यसैले धर्मका नाममा हुने अनेक प्रकारका गैरकानूनी, गैरसामाजिक, गैरमानवीय तथा अश्लिल क्रियाकलापहरु गर्न छुट दिने र यस्तो कार्यलाई प्रश्रय दिने हो भने नेपाली समाज कहाँ पुग्ला ? यो आजैदेखि निधार खुम्च्याउनु पर्ने विषय होइन र ?