लामो दुरीको सवारी चल्ने आज अन्तिम दिन, २४ घण्टामा २ लाख बढीले काठमाडौं छाडे

लामो दुरीको सवारी चल्ने आज अन्तिम दिन, २४ घण्टामा २ लाख बढीले काठमाडौं छाडे

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न मानिसहरु राजधानी काठमाडौं छाड्ने क्रम बढेको छ। शनिबार सबैभन्दा धेरै २ लाख मानिसले काठमाडौं छोडेका छन्।

पछिल्लो २४ घण्टामा २ लाख ६ हजार ३ सय ३९ जना काठमाडौंबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। बाहिरिने गाडीको संख्या २९ हजार ७३ रहेको छ। त्यसैगरी १६ हजार ८५ गाडीबाट ४८ हजार ७२ जना काठमाडौं भित्रिएका छन्।

महाशाखाका अनुसार लामो दुरीका सवारी चल्ने आज अन्तिम दिन भएकाले विहानैदेखि उपत्यकाबाट बाहिरिने यात्रुको चाप छ। सरकारले भोलिदेखि लामो दुरीका सबै यातायातका साधन सञ्चालनमा रोक लगाएको छ।

कोरोना संक्रमणविरुद्ध सरकारले विभिन्न कदम चालेपछि विगत एक सातायता मानिसहरु उपत्यकाबाट गाउँतिर लागेका छन्। गत बुधबारयता उपत्यकाबाट बाहिरिने संख्या ५ लाख बढी रहेका छन्। आज पनि गोंगबुस्थित बसपार्क लगायतका टिकट काउन्टरहरुमा टिकट लिन मानिसहरुको भिड छ। दशैंको बेलामा जसतै बसको टिकट लिने र चढ्नेको भिडभाड देखिन्थ्यो ।