३५ देशमा लकडाउन, १४ हजार छ सय १६ जनाको मृत्यु

३५ देशमा लकडाउन, १४ हजार छ सय १६ जनाको मृत्यु

१० चैत्र, काठमाडौं । कोरोना भाइरसको महामारीबाट पूरै विश्वमा मर्नेको संख्या १४ हजार  नाघेको छ र तीन लाखभन्दा बढी संक्रमित भएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश इटालीमा आइतवार छ सय ५१ जनाको निधन भएको छ । इटालीमा मात्र पाँच हजार चार सय ७६ जनाको मृत्यु भएको छ । त्यसैगरी स्पेनमा मर्नेको संख्या एक हजार सात सय पुगेको छ । युरोपमा मात्रै डेढ लाख कोरोनाबाट संक्रमित छन् । इटालीमा मात्र ५९ हजारभन्दा बढी संक्रमित छन् । 

इरानमा संक्रमितबाट मर्नेको संख्या एक हजार छ सय ८५ पुगेको छ । संक्रमित विरामी २१ हजार छ सय ३८ छन् । दक्षिणपूर्व एशियाली देशमा तीन हजार चार सय ६० जना संक्रमित भइसकेका छन् र ३६ जना मरेका छन् । त्यसमा आधी जति इण्डोनेशियाका मरेका छन् । 

कोरोना भाइरसका कारण ३५ देशमा लकडाउन गरिएको छ । यसका कारण एक अरबभन्दा बढी जनता घरमा नै रहेको अनुमान गरिएको छ । भाइरसको महामारीबाट बच्नका लागि धेरै देशले यात्रामा प्रतिबन्ध र सिमाना बन्द गरेका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा बढी न्युयोर्क शहर प्रभावित भएको छ । अमेरिकाको कूल विरामीमा एक तिहाइ यही शहरका छन् । १० दिनभित्र थप भेण्टिलेटरको व्यवस्था नहुने हो भने धेरै संख्या मर्नसक्ने चेतावनी मेयर डी ब्लासियोले दिइरहेका छन् । उनले कोरोना तत्काल खत्तम नभएर चार÷छ महिना लम्बिनसक्ने भन्दै चिन्ता जाहेर गरेका छन् । अहिलेसम्म न्युयोर्कमा ६० जनाको ज्यान गइसकेको छ र आठ हजार संक्रमित भएका छन् । 

कोरोना भाइरसको संकटलाई ध्यानमा राखेर अमेरिका सरकारले प्रत्येक परिवारलाई एक मुस्ठ तीन हजार डलर दिने घोषणा गरेको छ । 

बेल्जियमका स्वास्थ्यमन्त्री मैगी डी ब्लाकले कोरोना भाइरसका कारण अझै आठ हप्तासम्म देशमा लकडाउन हुनसक्ने बताएका छन् । बेल्जियम एक हप्तादेखि लकडाउन छ । 

इराकमा आइतवारदेखि २८ मार्चसम्म लकडाउन गरिएको छ । शनिवारदेखि जोर्डनलाई तीन दिनका लागि लकडाउन गरिएको छ । मलशियाले देशमा घुमफिरमा प्रतिबन्ध लगाएको छ र यसलाई कडाइपूर्वक कार्यान्वयनका लागि सेनालाई तैनाथ गरेको छ । श्रीलंकामा राष्ट्रव्यापी कफर््यु तोडेको आरोपमा तीन सय ४० लाई गिरफ्तार गरियो । श्रीलंकामा शुक्रबारदेखि सोमवारसम्म कर्फ्यु लगाइएको छ । 

बेलायतमा आइतवार ४८ जनाको मृत्यु भएको छ । बेलायतमा मात्र दुई सय ८१ जनाको मृत्यु भइसकेको छ । बेलायतमा कोरोना संक्रमित पाँच हजार छ सय ८३ पुगेको छ । बेलायती जनताले अनुशासन नमान्ने हो भने इटालीको हालत हुने भन्दै बेलायतका प्रधानमन्त्रीले चिन्ता जनाएका छन् । एजेन्सीको सहयोगमा