टोकियो ओलम्पिक २०२०मा क्यानाडा र अस्ट्रेलियाद्वारा खेलाडी नपठाउने निर्णय

 टोकियो ओलम्पिक २०२०मा क्यानाडा र अस्ट्रेलियाद्वारा खेलाडी नपठाउने निर्णय


काठमाडौ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी(आइओसी) जापानको टोकियोमा आयोजना हुने टोकियो २०२०लाई एक वर्षका लागि स्थगित गर्न आग्रह गर्दै क्यानाडा र अस्ट्रेलियाले  आफ्ना  खेलाडी नपठाउने निर्णय गरेका छन् ।

क्यानाडाको ओलम्पिक र पाराओलम्पिक कमिटीले खेलकुद भन्दा धेरै महत्वपूर्ण विश्वको स्वास्थ्य संकट भएकाले यस्तो निर्णय गर्दै सो आग्रह गरेको हो ।

क्यानाडाको दुबै कमिटीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ “कोभिड–१९ र यससँग जोडिएको जोखिमले गर्दा हाम्रा खेलाडीका लागि सुरक्षित अवस्था छैन ।”

जापानका प्रधानमन्त्री सिन्जो आबेले टोकियो ओलम्पिक स्थगित गर्दा जापानलाईलाई कोरोनाभाइरसको महामारीबाट बचाउन सक्ने विकल्प भएको स्वीकार गरेको केही घन्टा भित्र क्यानाडाको यो निर्णय सार्वजनिक भएको छ ।

आइतबारको आपतकालीन बैठकबाट  अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिकको भविष्य चार सातामा तय गरिने  निर्णय गरेको थियो । जुलाई २४ देखि अगस्ट ९ सम्म टोकियोमा ओलम्पिक हुने कार्यक्रम तय गरिएको थियो । यसै गरी पाराओलम्पिक अगस्ट २५देखि सेप्टेम्बर ६सम्म हुने कार्यक्रम रहेको थियो ।

यसैगरी अस्टेलियाले पनि टोकियो ओलम्पिकमा भाग नलिने जनाएको छ ।

ओलम्पिकका आयोजकहरूले कोरोनाभाइरसको कारण आयोजना स्थगन गर्नुपर्ने दबाब दिइआएका छन् । विश्वभर ३ लाख ३० हजार संक्रमित भएका छन् १४ हजार बढीको मृत्यु भइसकेको छ ।