फागुन १४ देखि २१ सम्मको कडी

फागुन १४ देखि २१ सम्मको कडी

मर्नै पर्छ एकदिन सबैले हामी पनि मर्छांै
हामी मर्दा जनताको शिर उठाई मर्छौ

.........................

जनताको हितको खातिर मर्नु बाँच्नु हो । 
दुश्मनको हितको खातिर बाँच्नु मर्नु हो । 

यो गीतको भाषालाई महान शहीदहरुले आत्मसात गरे । जनताको शिर उठाउन उनीहरुले गरेको महान वलिदान नै आजको युगको विहान हो । राणा शासनको अन्त्य गर्न गंगालालसहित चार शहीदले देखाएको वाटोमा लामबद्ध लागेकोले नै नेपाली समाजले परिवर्तन स्थापित गरेको हो । यी चार शहीदहरुले देखाएको बाटोमै नेपाली जनताको मुक्तिका लागि आजसम्म आइपुग्दा नेपाल आमाका हजारौं सपुतहरुले सिंचित गरेको रगतले यो भूमि रङ्गिएको छ । तिनै शहीदले देखाएको बाटो हिँडेर यहाँसम्म आइपुग्दा निरंकुशताका पारिवारिक, सामन्ती तानाशाहको अन्त्य भएको छ र नेपाल नयाँ राजनीतिक मोडमा प्रवेश गरेको छ । यद्यपि यसबारेमा फरकफरक बुझाइ र बहस छन् ।  
 
इतिहासमा यस्ता राजनैतिक परिघटनाहरु हुन्छन्, जसलाइ जोड्दामात्रै पनि ती ऐतिहासिक घटनाले परिवर्तनको आन्दोलनलाई ऊर्जा दिइरहेको हुन्छ । यस्ता आन्दोलनका कडीहरुलाई जोड्दा आगामी आन्दोलनको रुपरेखा दिग्दर्शन गरिरहेको हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनका यस्ता घटना परिघटनाहरु छन्, तिनको एकीकृत रुपलाइ सम्झिदा भावी राजनीतिको कार्यदिशा निर्माण गर्न पनि सजिलो हुन्छ । पूर्वी नेपालमा भएका झापा, (सुखानी), छिन्ताङलगायतका किसान विद्रोह, पश्चिमका हर्रेबरे, भीमदत्त लगायतका विद्रोहले स्थापित गरेको मान्यता र त्यो आन्दोलनबाट प्राप्त जनादेश नै आजको कार्यभार हो । इतिहासका यिनै जगबाट पछिल्लोपटक माओवादी जनविद्रोहले ऊर्जासँगै दिशा प्राप्त गरेको थियो । यसैले माओवादी विद्रोहले यी आन्दोलनको उच्च मूल्याङ्कन गर्दै माओवादी विद्रोहले नासोको रुपमा लियो । भलै पछिल्लो पटक माओवादी विद्रोहसँग अघिल्लो विद्रोहको कुनै सांगठानिक साइनो किन नहोस । यसर्थ फागुन २१ लाई सम्झनु भनेको शहीदहरुलाई सम्झना ९श्राद्ध० गर्ने मेलोमेसो मात्र होइन । नेपालको कम्युनिष्ट आन्दोलनको उच्च मूल्याङ्कन गर्दै जनपथमा लाग्नु पनि हो ।

परिवर्तनका पक्षमा उद्धेलित हरेक आन्दोलनको वारिसे कुनै संगठन विशेषको पेवा हुँदैन । त्यस्ता परिवर्तनका संवाहक, अभियन्ताहरु पनि सिङ्गै देशका विभूति हुन । सुखानीको जंगलमा शहीद हुने रामनाथ दाहाल, विरेन राजवंशीहरु वा माओवादी जनविद्रोहमा मारिएका दिलबहादुर रम्तेलदेखि माओवादी नेता सुरेश वाग्ले, वरिस्ठ पत्रकार तथा साहित्यकार कृष्ण सेनसम्मको शहादतको लक्ष्य, उद्वेश्य नेपाली जनताको मुक्तिको खातिर समर्पित थियो । यसरी शहीद दिवस फागुन १४–२१ लाई सम्झनु भनेको परिवर्तनको उज्यालोलाइ समर्थन गर्नु हो । झापा विद्रोह र माओवादी जनविद्रोहको समयकालखण्ड फरक र स्थान विशेष वा समुदाय विशेष फरक भए पनि समग्रमा ती सबै जनताको पक्षमा जनताको मुक्तिका खातिर राष्ट्रिय स्वाधीनताका निम्ति लडिएका महान विद्रोहहरु हुन । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यसँग यो जोडिएको थियो । यसर्थ यस्ता विद्रोह र विद्रोहका वास्तविक नायक, जो शहीद भए, हरुलाई सम्झनु परिवर्तनकामी समूह, संस्था र संगठनको कर्तव्य हो । समयबद्ध साप्ताहिकबाट