कोभिड १९ विरुद्धका सहायतामा एकद्वार नीति लागू गर

कोभिड १९ विरुद्धका सहायतामा एकद्वार नीति लागू गर

झिल्को टिप्पणी

गत डिसेम्वरको अन्तिम साता चीनको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण चीनमा नियन्त्रण हुदै गर्दा बाँकी विश्वमा फैलिनु र त्यसको लप्कामा नेपाल पनि पर्नु एउटा दुःखद भविष्यको पूर्व सूचक हो । चैत्र १० गते स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नै एक जनामा संक्रमण देखिएको पत्रकार सम्मेलनमार्फत् भनिसकेपछि यसको जोखिममा नेपाल परिसकेको प्रष्ट छ । सरकारले भारतसँगको सीमा नाकामा कडाईका साथ स्वास्थ्य चेकजाँच नगर्दा र चैत्र पहिलो सातासम्म अन्तर्राष्ट्रिय उडानहरु निर्वाध चल्न दिंदा नै पछिल्लो समय नेपाल जोखिमको पूर्ण खतरा विन्दुमा पुगेको स्पष्ट छ ।

तैपनि सरकारले लागू गरेको लकडाउनको कारण अहिल्यै सबैथोक बिग्रिसकेको मान्न सकिन्न । तर पूर्व सजगता र सावधानीको सरकारी उर्दीले मात्रै पुगिरहेको छैन, घरघरमा जनजनले नै कोरोना संक्रमणको सम्भावित आक्रमणविरुद्ध कठोर आत्मअनुशासनमा बस्नुको विकल्प छैन । जनसाधारणले सामान्य रुपमा नलिई बाँकी केही हप्ता कठोर रुपमा होम क्वारेन्टाइनमा बस्नैपर्छ ।

नेपाललाई जसै कोरोना संक्रमणले गाँज्ने खतरनाक सूचकहरु देखापरे तब सरकारले कोभिड१९ विरुद्ध विशेष कोष स्थापनाको घोषणा गर्यो । खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क देशका प्रमुखहरुसँग अघिल्लो साता आयोजना गरेको भिडियो कन्फरेन्समार्फत सहायता कोष घोषणा गरेपछि नेपाल सरकारले पनि विशेष कोष स्थापनाको घोषणा ग¥यो । यो सरकारका अन्य घोषणा जस्तै सकारात्मक काम नै हो । 

अहिले सरकारले स्थापना गरेको विशेष कोष जस्तै निजी क्षेत्रबाट कोष स्थापना र संचालनको लहर सुरु भएको छ । हिजो चीनमा कोरोना फैलिदा विश्व सर्वहारा वर्गका तथा चिनियाँ नेता माओत्सेतुङको मुखमा मास्क लगाएको फोटो कार्टुन छापेर पश्चिमी मिडियाको लहैलहैमा लागेर चीनको दुःखमा खिसी टिउरी गर्ने कान्तिपुर पनि कोभिड विरुद्धको राहत कोष खडा गरेर कोरोनाविरुद्धको समाजसेवी बन्न कोशिस गरिरहेको छ । 

कान्तिपुर देशको सामानान्तर सत्ता वा सरकार होइन, जसले सरकारी कोषमा सिधै रकम जम्मा गर्न नमिल्ने वा नहुने । उसले छुट्टै राहत कोष सञ्चालन गर्नु भनेको उसले कोरोना संक्रमणमा पनि आफ्नो व्राण्डको विज्ञापन गर्ने र संकटलाई व्यापारको रुपमा उपयोग गर्ने रणनीति मात्रै हो । कान्तिपुरले संकटमा राहत उपलव्ध गराउन पाउँछ, गरोस पनि तर उसले सरकारी कोषमा नै सहायता उपलव्ध गराउनु पर्छ । सरकारसँग कुम जुधाएर उसले जथाभावी रकम जम्मा गर्ने छुट उसलाई सरकारले दिनै हुँदैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ को संक्रमणलाई चिनियाँ भाइरस भनेर काखी बजाउँदै चीनको उछितो काढिरहदा उनले चिनियाँ संकट र त्यहाँका नागरिकलाई परेको मानवीय पीडामाथि मानवीय कर्म र मर्मसम्म पनि प्रकट गरेनन । फलतः भूगोलका सीमामा कैद नहुने कोरोना संक्रमण अमेरिका र यूरोपमा सबैभन्दा धेरै र छिटो फैलियो । नेपालमा पनि कान्तिपुरहरुले चीनलाई चिढ्याउँदा पर्न सक्ने सम्भावित जोखिम र असरको पूर्व आँकलन गर्न सकेको भए स्थिति अहिले भन्दा अरु भिन्न हुन सक्थ्यो ।

आफूमाथिको संकट चीनले भने नयाँ स्वरुपको जनयुद्धका रुपमा लड्यो र अन्ततः जित्यो पनि । चीनले कोभिडविरुद्धको नयाँ खाले जनयुद्ध लडिरहदा अपनाएका धेरै विधिहरुमध्ये एकद्वार नीति पनि उसको सफलताको एक मुख्य कारण हो । सामूहिक रुपमा राज्यको तर्फबाट राष्ट्रपति सी आफैले कोभिड विरुद्धको जनयुद्धको नेतृत्व गरे, फिल्डमा आफै खटिए र अन्ततः जिते । सरकारमार्फत् नै सबै लडाई लडेकैले चीन छिटो विजयी भयो र चीनबाट कोभिड संक्रमण भाग्यो । 

चीनको सफलताको उदाहरणबाट पाठ सिकेर हामीकहाँ पनि एकद्वार नीतिबाटै जनतालाई आपतका बेला सबै खाले सेवा र राहत संचालन गरिनुपर्छ । यसका लागि निजी क्षेत्रलाई आफूखुसी राहत जम्मा गर्न र हिरो हुन दिनु हँुदैन सरकारले । संकट कुनै निजी स्वार्थ समूहको मार्केटिंग गर्ने अस्त्र वा अवसर बन्न नदिन सरकारले विशेष निर्णय गरेर सहायता कोष वा राहतमा एकद्वार नीति नै कडाईका साथ लागू गर्नुपर्छ । यसको निर्णय सरकारले भोलि होइन, आज, आज हैन, अहिल्यै गर्न सक्नुपर्छ ।

व्यापारिक घरानाहरुले मिडियामा लामो समयसम्म राहत वा सहायताको समाचार र विज्ञापन गराउने तर रकम वा सामग्री भुक्तानीमा लामो समय आलटाल गर्ने खराब नजिर विगतका पाकृतिक प्रकोपका बेला संचालित राहत कोषहरुको बेथितिबाट देखिएको, भोगिएको सत्य जनताका सामु छर्लङ्ग छ । यसबेला सरकारले अरु राहत जस्तो होइन पूर्ण पारदर्शिताका साथ सहायता कोषलाई तत्कालै सदुपयोग गर्नुपर्छ आफ्नै नेतृत्व र तजविजीमा, जनताको आवश्यक्ता र रोगको सम्भाव्य जोखिमको वैज्ञानिक मापनका आधारमा ।

चौधरी समुहले ५० लाख क्यास र ५० लाखको सामान दिने हो भने सामाजिक संजाल र मिडियामा हङ्गामा गर्ने होइन, सरकारले स्थापना गरेको कोषमा रकम जम्मा गरेको भौचर जनतालाई पत्रकार सम्मेलन गरेर देखाउन सक्नु प¥यो । यो काम एक दिनको पनि केही घण्टाभित्र गर्ने हिम्मत चौधरी जस्ता ठूला भनिएका व्यापारिक घरानाहरुले गर्न सक्नु प¥यो । हैन भने मिडियामा समाजसेवी देखिने र सहायता दिन ढिलो गर्ने शैली जो कसैले पनि त्याग्नु प¥यो । कोरोनाको संभावित संक्रमण कुनै व्यापारिक घरानाको विज्ञापनको अश्त्र बन्नु, बनाइनु हुन्न  

सरकारी सहायता कोषमा रकम जम्मा भएको तथ्य सरकारले दैनिक सरकारी पवक्ता वा कोषका आधिकारिक अधिकारी मार्फत सार्वजनिक गर्ने एकद्वार नीति पनि लागू गर्नु प¥यो । साथमा यो रकम कोरोना विरुद्ध लड्न आवश्यक मेडिकल सामान खरीददेखि उपचारमा खटिने जनशक्तिको हितमा खर्च हुने पारदर्शी खर्च व्यवस्था पनि सरकारले सार्वजनिक गर्न सक्नु प¥यो । स्वास्थयकर्मी, डाक्टर आदिलाई विश्वासमा लिन सरकार चुकिरहेको अवस्था अन्त्य गर्नु प¥यो । 

कोभिडविरुद्ध लड्न चिनियाँ व्यापारी ज्याक माले सहायता घोषणा गरेका छन । त्यो भित्र्याउन सरकार छिटो एक्सनमा जानु प¥यो । चिनियाँ सरकारले आवश्यक सहायताको लिष्ट मागेको पनि हप्ता दिन बितिसक्यो । सरकारले चिनियाँ मेडिकल टिम, सामान र अन्य सहायताका लागि छिटो गतिमा काम गर्नु प¥यो । चिनियाँ अनुभव नेपालका लागि सबैभन्दा सहज, सार्थक र शीघ्र हुनेछ । यसमा सरकार छिटो एक्सनमा जानु प¥यो ।

सरकारले जे गर्छ, एकद्वार नीति मार्फत काम गर्नु प¥यो, चीनको जस्तै । सरकारसँग तीनै तहमा सरकार छन । तिनलाई सक्रिय पार्न प¥यो । यहाँ आफू खुशी गर्ने छुट सरकारले कसैलाई पनि दिनु हुँदैन ।  संकटका बेला सरकारलाई मात्रै जनताले पत्याउने हो । त्यसका लागि सरकार नै एकद्वार नीतिमा कठोर रुपमा उभिनु पर्छ । जनताको संकट वा आपतलाई कसैको व्यापारको विज्ञापन गर्नु गलत हो । सरकार नै हो, जनताको आपतबिपतको सारथी । 

कोभिड १९ को संक्रमण अहिलेसम्म नियन्त्रणमा नै छ । सरकारी र जनस्तरको संयुक्त पहलमा यो अरु थप नभित्रिदै साम्य हुने गरी सबैले सरकारलाई साथ दिनुको विकल्प छैन । यसमा सबैले सकेको होस्टेमा हैसै गर्नु नै पर्छ , गरी नै हाल्नुपर्छ । यसो गरे मात्रै कोभिड १९ को संक्रमणले थप गाँज्न पाउने छैन । सबैलाई चेतना भया  /