चितवनको कोरोना अस्पतालमा उपचाररत युवकको मृत्यु, 'थ्रोट स्वाब' रिपोर्ट आउन बाँकी 

चितवनको कोरोना अस्पतालमा उपचाररत युवकको मृत्यु, 'थ्रोट स्वाब' रिपोर्ट आउन बाँकी 

चितवन, ११ चैत । चितवनस्थित कोरोना उपचार अस्थायी अस्पतालको आईसीयूमा रहेका एक युवकको मंगलबार बिहान मृत्यु भएको छ । उनको 'थ्रोट स्वाब' परीक्षणका लागि काठमाडौं पठाइएको छ । परीक्षणको नतिजा भने नआइसकेको अस्पतालले जनाएको छ ।

वीरगञ्जका ३० वर्षीय युवक केही समयदेखि मिर्गौला, छाला र फोक्सोमा समस्या हुने लुपुस नामक रोगबाट पीडित थिए। ज्वरो र निमोनिया देखिएपछि आइतबार उनलाई कोरोना अस्थायी अस्पतालमा ल्याइएको थियो।

उनी हालसालै कतै विदेश नगएको उनको पारिवारिक स्रोतले बताएको छ। उनलाई वीरगञ्जबाट अस्पतालले रिफर गरी चितवन मेडिकल कलेज पठाएको थियो। कोरोनाको आशंका गरी मेडिकल कलेजले कोरोना अस्पताल पठाएको थियो।