कोरोना, आचार, विचार र प्रकृति

कोरोना, आचार, विचार र प्रकृति

वसन्त पोखरेल / डा. बाबुराम ज्ञवाली

सृष्टिको चक्र अचम्मको हुन्छ । हामीले हेर्दा केही फरकपन देख्दैनौँ । तर, यसले परिवर्तन ल्याइरहेको हुन्छ । बाढी, भुइँचालो, सुनामी, ठूलो खडेरी पर्नु, ठूलो पानी पर्नु, असिना पर्नु, हिमपात हुनु, पहिरो जानु, ताल फुट्नु, खोलानाला सुक्नु, ज्वालामुखी विस्फोटन, ठूलो हुरी चल्नु, वनमा डढेलो लाग्नु, व्याधी भय इत्यादि सबै प्रकृतिले ल्याएका विपत्ति हुन् । 

प्लेग, हैजा, शीतला, एड्स, बर्डफ्लु, स्वाइनफ्लु र पछिल्लो अवस्थामा कोरोना विषाणु रोग महामारी हुन् । यो महामारीले लाखौं मानिस मर्न सक्छन् भनिएको छ । प्राकृतिक विपत्ति कति पीडादायी हुन्छ भने यसले वर्तमान पुस्तालाई मात्र होइन आउने पुस्तालाई पनि पीडा दिइरहन्छ । 

माल्थसले जनसंख्या वृद्धिको कारण प्रकृति हो भनेका छन् । उनले प्राकृतिक विपत्तिका कारणलाई मान्दछन् । उनले भनेका छन्ः तीव्र जनसंख्या वृद्धि यस्ता विपत्तिका कारण हुन् । हामी आफैले यस विषयमा सतर्कता अपनाएनौँ भने प्रकृतिले उपाय गर्छ । तर प्रकृतिले अपनाएका उपाय कठोर र निर्मम हुन्छन् ।   

प्रकृति खुसी भएमा लाभ दिन्छ । जसको फाइदा हामीले उठाइरहेका छौँ । तर, रिसायो भने विपत्ति दिन्छ । अहिले कोरोनाको प्रकोप भोग्दैछौँ । विपत्ति त्यत्तिकै ल्याउँदैन । रिसाएकोले यी विपत्ति आएका हुन्छन् । तर कारणहरु हुन्छन् । आफ्नो सुख सुविधाका लागि जब मानिसले प्राकृतिक सन्तुलन खल्बलाइदिन्छ, असन्तुलित तुल्याउँछ त्यो असन्तुलनले मानवलगायतका प्राणी जगतलाई सजाय दिन्छ । 

रुघा फैलाउने, नयाँ मुकुटधारी (कोरोना) विषाणु (भाइरस) ले बढी उमेरका मानिसलाई केन्द्रित गरेको छ । यो रोग लागेका युवा र अधबैंसे निको भएका छन् । केटाकेटीमा यसको प्रकोप देखापरेको छैन । तर वृद्धहरुमा यसको प्रकोप बढी छ । 

जनसंख्या संरचनाको सामान्य स्वरुप पिरामिड आकार हुन्छ । पिरामिडको शीर्षका क्षैतिज स्तम्भ सानो र पादको क्षैतिज स्तम्भ ठूलो हुन्छ । त्यो वास्तवमा पिरामिड हो । तर वर्तमान स्वरुप परिवर्तन भइसकेको छ । कुनै कुनै देशमा पिरामिडको स्वरुप उल्टो हुन थालेको छ । शीर्षको फैलावट बढ्दो छ । सबै देशमा यो स्वरुप छ । यस रोगको प्रकोप बढ्यो भने पिरामिडको शीर्ष अलिकति घट्ने छ तर पिरामिडको पादका क्षैतिज स्तम्भको लम्बाइमा केही पनि फरक पर्ने छैन । यसप्रकार जनसंख्या संरचना पिरामिड रहनेछ । यस विषयमा के भन्न सकिन्छ भने वृद्ध उमेरका मानिसको संख्या धेरै हुनु पनि एक प्रकारको पिरामिडको बनावटमा असन्तुलन आउनु नै हो ।

मानव समाज आज केही अहंकारयुक्त हुन पुगेको छ । मानिसभन्दा ठूलो शक्ति अरु के छ ? यो अहं विकसित र तीव्र विकास गर्ने देशमा अनुभव गर्न सकिन्छ । प्रकृति एउटा सन्तुलनमा छ । उसको सन्तुलनमा कमिलादेखि हात्तीसम्म सबै बराबरको हकदार छन् भन्ने कुरा बुझ्नुको सट्टा मानिसले आफ्नो सुखका लागि यी सबै प्राणीलाई दुःख दिन तयार हुन्छन् । अनेक प्राकृतिक जंगल सकिएका छन् । यसका साथै वनस्पतिहरु लोप भएका छन् । अनेक प्राणी लोप भएका छन् । सर्पको प्रजाति लोप हुने अवस्थामा छ । चराहरुमध्ये भँगेरो लोप हुने अवस्थामा छ । घरपालुवामा गाई असजिलो अवस्थामा छ । 

बढी जनघनत्व, प्राकृतिक साधनको अति दोहन र असन्तुलित मानवीय क्रियाकलाप भएका स्थानहरुमा प्राकृतिक विपत्ति बढी भएका छन् । हालै चीनबाट उत्पत्ति भएको कोरोनाले संसारभरका मानिस तर्सिएका छन् । हुनत यो एक प्रकारको रुघा नै हो । तर, यस रोगको बारेमा राम्रो जानकारी नभएकाले चिकित्सा क्षेत्र अन्यौलमा छ । यही जनत्रासको कारण बन्न गएको हो । यस वर्ष पुस महिनामा चीनको वुहान प्रान्तमा रुघा लागेजस्तो हुने र निमोनिया संक्रमणको प्रभाव देखाउने गम्भीर सरुवा रोग पर्यो त्यसलाई चिकित्सकहरुले कोविड १९ नाम दिए । चीनको त्यो ठाउँ जहाँबाट यो रोग संसारमा फैलियो त्यस ठाउँलाई माछा र मासुको व्यापारको प्रमुख केन्द्र मानिन्छ । 

रोग संक्रमणको एक कारण मासुसंगको लसपस वा मांसाहार भन्ने मानेर चीनले मासुको कारोबारमा केही दिनका लागि रोक लगायो । मानिसहरुलाई शाकाहार प्रयोग गर्न आग्रह गर्यो ।  यस महामारीबाट बच्न रोकथाम नै सर्वाधिक महत्वपूर्ण छ भनेर प्रचार गरिएको छ । किनभने विषाणुको कुनै औषधि हुँदैन । धेरै देशहरु यसको खोप बनाउन शोध गरिरहेका छन् । आशा गरौं छिटै परिणाम प्राप्त हुनेछ ।       

चिकित्सकहरुका अनुसार मासु नखाने, हात नमिलाउने, र रुघाबाट बच्ने घरेलु प्रचलन नै यसको रोकथामको उपाय मानिएको छ । यसका साथै रोग प्रतिरोधी क्षमता वृद्धि गर्नुपर्छ । चिकित्सा सिद्धान्तमा के मानिन्छ भने मानिसको शरीर आफैले रोग निको पार्छ । त्यसैले आयुर्वेद र प्राकृतिक चिकित्साले औषधिका सेवनका साथै योग, ब्यायाम, निष्ठापूर्ण सात्विक खानपानलाई आधार मान्छ । यस प्राकृतिक उपनिपातसँग बच्न आवश्यक सावधानी अपनाऔं । शरीर तातो बनाउने योग र आयुर्वेद प्रयोग गरौं । र, मानसिक ऊर्जा र प्रतिरोध क्षमता पनि प्राप्त गरौं । 

राज्य संचालनको प्रमुख ग्रन्थ, कौटिलीय अर्थशास्त्रमा व्याधिभयको चर्चा गरिएको छ । भयबाट समाजलाई कसरी सान्त्वना दिने त्यसको समेत विवरण दिइएको छ । उनले समाजलाई तर्साउने आठ महाभयको चर्चा गरेका छन्, १. आगो, २.पानी, ३. व्याधि, ४.अनिकाल, ५.मुसा आदि अन्न खाइदिने प्राणी, ६.ह्रिंसक पशु, ७. सर्प र ८. राक्षस । 

वर्तमान समयको कोरोना महाभय व्याधि हो । यो सरुवा रोग हो । तर, निश्चित सतर्कता अपनाएमा बच्न सकिन्छ । समाजलाई ढुक्क बनाउने उपायको वर्णन गर्दै कौटिल्यले भनेका छन्, उनले दुईप्रकारका रोगको चर्चा गरेका छन् कृत्रिम र अकृत्रिम । कृत्रिम रोग व्याधि भनेका यस्ता रोग व्याधि हुन् जसले मानवीय मनोविज्ञानलाई प्रभाव पार्छन् । बेलाबेलामा यस्ता घटना देखापर्ने गरेका छन् । 

माओवादीको उग्र असन्तोषको समयमा विद्यालयहरुमा केटाकेटीहरु मास हिस्टिरियाका शिकार बनेका थिए । त्यो पनि सामूहिक रोग नै हो । तराईमा रुखले तानेर धेरै मानिसहरु रुने चिल्लाउने गरेको घटना सार्वजनिक भएको हो । यस्ता अकल्पनीय घटनाहरु हुने गर्छन् । त्यो घटना वास्तविक हो कि अवास्तविक यस विषयमा तर्क गर्ने नभएर यी सबै घटनाले समाजलाई प्रभावित गर्छन् । सरकारले यी सबै घटनामा समाजको सुरक्षा गर्नुपर्छ भन्ने कौटिलीय तर्क रहेको छ । उनले भनेका छन्ः अकृत्रिम रोगहरुमा देशभरका चिकित्सकहरुले चिकित्सा सेवा दिनुपर्छ । यस बाहेक देशका सिद्ध र तपस्वी (विषयविज्ञ) ले आआफ्नो तर्फबाट योगदान गर्नुपर्छ । यी औपनिषदिक उपाय अथर्ववेदमा दिइएको छ भन्ने उल्लेख समेत कौटिलीय अर्थशास्त्रमा पाइन्छ । रोग व्याधि, प्राकृतिक उत्पात यी सबैको एक कारण प्राकृतिक सन्तुलन खल्बलिनु पनि हो । प्रकृतिलाई सम्पूर्ण रुपमा सम्मान गरेरमात्र प्राकृतिक प्रकोपलाई कम गर्न सकिन्छ ।