कोरोना प्रभावित देशबाट फर्केका २६ जना क्वारेन्टाइनमा, एक जनालाई उपचारको लागि विराटनगर लगियो 

कोरोना प्रभावित देशबाट फर्केका २६ जना क्वारेन्टाइनमा, एक जनालाई उपचारको लागि विराटनगर लगियो 

सिरहा, ११ चैत्र । कतार, दुबई तथा भारतको विभिन्न स्थानबाट नेपाल फर्केका २६ जनालाई सिरहा र सप्तरीको क्वारेन्टाइनमा राखिएको छ भने सप्तरीका एक युवकलाई उपचारको लागि विराटनगर लगिएको छ ।
  
कोरोना भाइरस प्रभाबित दुबईबाट भारत हुँदै आएका तीन जना, भारतको बंैगलौरबाट चार जना र अहमदाबादबाट १६ गरी नेपाल फर्केका २३ जनालाई तत्काल स्वास्थ्य परीक्षण गरी सिरहा नगरपालिका १७ ठाडीस्थित ब्रजमोहन झबुराम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । 

भारततर्फबाट विहान ८ बजेतिर आइपुगेका २३ जनालाई आवश्यक सोधपुछ गरी स्वास्थ्य परीक्षण पश्चात तत्काल क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । 

क्वारेन्टाइनमा राखिएका सबै जना तत्काल स्वस्थ नै देखिए पनि दुई हप्ता निगरानीमा राख्न क्वारेन्टाइनमा राखिएको प्रमुख यादवले बताए । 

यस्तै कतारबाट आएका सप्तरीका तीन जनामा कोरोना भाइरसको संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको छ ।

सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकाका एक जना, डाक्नेश्वरी नगरपालिकाको पातोका एक र भारतीय क्षेत्रबाट नेपाल छिरेका एक गरी तीन जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
 
हनुमाननगर र पातोका दुवै जनाले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चेकजाँच गराएका थिए । जसमध्ये हनुमाननगरका व्यक्तिलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि होम क्वारेन्टाइनमा पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

त्यसैगरी भारतीय नाका कुनौलीबाट नेपाल प्रवेश गरेका एक व्यक्तिलाई तिलाठी कोइलाडी गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै कतारबाट गत चैत्र ८ गते नेपाल आएका सुरुङ्गा नगरपालिका ८ निवासी एक युवकलाई रुघाखोकी र लगातार ज्वरो आएपछि उपचारका लागि बिराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएको छ । 

२७ वर्षीय ती युवकले केही दिनअघि स्थानीय स्वास्थ्य केन्द्रमा जाँच गराएका थिए । उनमा ज्वरो र रुघाखोकी नरोकिएपछि थप उपचारमा पठाइएको नेकपाका नेता तथा प्रदेशसभा सदस्य गोबिन्द बहादुर न्यौपानेले जानकारी दिए । 

लक डाउन सफल बनाउन सडकमा सेना

सरकारले नोबल कोरोना भाइरसको जोखिम बढ्ेको भन्दै आजदेखि गरेको लक डाउनको सप्तरीमा उल्लंघन हुन थालेपछि नेपाली सेना परिचालन भएको छ । 

आज विहान ६ बजेदेखि एक साताका लागि लकडाउन गरे पनि सदरमुकाम राजविराज बाहेक अधिकांश क्षेत्रका बजार तथा पसल खुलेपछि सडकमा सेना परिचालन भएको हो । प्रहरीको प्रयासले केही समय बन्द भए पनि मानिसको चहलपहल दिनभर नै कायम थियो । यसलाई रोक्न सप्तरीका केही स्थानमा नेपाली सेना परिचालन गरिएको छ ।