सडकमा शिक्षक ः नैतिक शिक्षा पढाउने गुरु पनि विद्यालय बन्द गरेर सडमा आएछन्  !

सडकमा शिक्षक ः नैतिक शिक्षा पढाउने गुरु पनि विद्यालय बन्द गरेर सडमा आएछन्  !

काठमाडौं । एक जना फेसबुक प्रयोगकर्ताले बिद्रोही (नाम परिवर्तन) ले मंगलबार स्ट्याटस लेखे, ‘आफ्ना छोराछोरी बोर्डिङ स्कूलमा पढाएर सामुदायिक विद्यालय बन्द गर्दै हिँडे माडसापहरु ।’
अर्काले तलपट्टि कमेन्ट गरे, ‘अधिकार माग्नेले कर्तव्य पनि निर्वाह गर्नुपर्छ भन्दै नैतिक शिक्षा पढाउने मेरा गुरु विद्यालय बन्द गरेर सडमा आएछन् ।’

यतिबेला देशभरका राहत र वालविकास कोटाका गरी करिव ४० हजार शिक्षकहरु आन्दोलनमा छन् । जिल्ला, प्रदेश हुँदै उनीहरु आफूहरुको आन्तरिक प्रतियोगिता मार्फत स्थायी गरिनुपर्ने माग राख्दै काठमाडौको सडकमा आन्दोलन गरिरहेछन् । सोमबारदेखि आन्दोलनरत शिक्षकहरु पहिलो दिन माइतीघरमा धर्ना बसे । दोस्रो दिन उनीहरु संघीय संसद भवन अगाडि धर्ना तथा आन्दोलनमा थिए । प्रहरीले शिक्षकहरुमाथि लाठी, पानीका फोहरा र अश्रुग्याँस प्रहार गरेपछि आन्दोलनकारी शिक्षकहरु थप आक्रोसित बनेका छन् । उनीहरुले आन्दोलनको तेस्रो दिन अर्थात आजदेखि देशभरका सामुदायिक विद्यालयहरु बन्द गरेर अनिश्चितकालिन आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

यसैबीच शिक्षकलाई पढाउने जिम्मेवारी बहन गर्न शिक्षा मन्त्रालयले आग्रह गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पु¥याउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको हो । 

वार्षिक परीक्षा र एसइइ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित हुने गरी आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्दै मन्त्रालयले निर्वाध पठनपाठन र सञ्चालनको वातावरणका लागि पहलकदमी लिन स्थानीय तहलाई स्मरण गराएको छ । संविधानतः मावि शिक्षासम्मको अधिकार विद्यालयको हो । शिक्षकले विभिन्न सेवा सुविधा र स्थायीको माग राखी सडक र विद्यालय केन्द्रित आन्दोलन गर्दै आएका छन् । 

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा सबै पक्षको सहभागितामा सरकारले शिक्षाको नयाँ विधेयक तर्जुमा गरिरहेको र विधेयक बन्ने प्रक्रिया लामो हुने भएकाले प्रारम्भिक चरणमा तरङ्गित नहुन सम्बन्धित पक्षमा आह्वानसमेत गरेका छन् ।