अमेरिका कोरोनाको अर्को 'केन्द्रबिन्दु' बन्दै, बुलेट ट्रेन भन्दा तीव्र गतिमा कोरोनाको फैलावट

अमेरिका कोरोनाको अर्को 'केन्द्रबिन्दु' बन्दै, बुलेट ट्रेन भन्दा तीव्र गतिमा कोरोनाको फैलावट


एजेन्सी, १२ चैत । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले कोभिड १९ बुलेट ट्रेन भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि अपिल गरेका छन् । 

मङ्गलवार पत्रकारहरूसँग बोल्दै उनले सङ्क्रमणको उच्चदर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताए।

संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको पनि उनले गुनासो गरे।

संघीय सरकारले चार सय भेन्टिलेटर पठाएको प्रति पनि उनले आलोचना गरे। न्यूयोर्कमा ३० हजार भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ केवल सात हजार रहेको उनले बताए।

न्यूयोर्कमा हालसम्म २५ हजारलाई सङ्क्रमण अनि कम्तीमा २१० जनाको मृत्य भइसकेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले मङ्गलवार अमेरिका कोरोनाभाइरस प्रकोपको अर्को केन्द्रविन्दु बन्ने सम्भावना रहेको बतायो।

राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को महिना अमेरिका व्यापारका लागि खुला हुने आशा व्यक्त गरेपछि ती चेतावनी आएका छन्।