'दुखद निधन भयो भने आफन्तको शव हेरेर रुन पनि पाइन्न'
काठमाठौं, १२ चैत । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालले अहिले बाहिर निस्कने र सरकारलाई नटेर्नेले ठूलो मूल्य चुकाउनुपर्ने र आफन्तको शव समेत हेर्न नपाउने दिन आउनसक्ने भएकाले सचेत हुन आग्रह गरेका छन् ।
काठमाडौंबाट प्रसारण हुने एक रेडियोसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले भने, ‘समग्रमा लकडाउन नागरिकले पालना गर्नुभएको छ, उहाँहरुलाई म धन्यवाद भन्छु, धेरैले आफूलाई सुरक्षित राख्नुभएको छ, तर केहीले भने यसलाई पालना गर्नुभएको छैन, उहाँहरुले आफ्नै लागि पनि सोच्नुपर्छ । ’
कोरोनाको औषधि अहिलेसम्म पत्ता नलागेको र संसारका विकसित र स्वास्थ्य अनुसन्धानको क्षेत्रमा अब्बल ठहरिएका देश पनि हायलकायल हुने अवस्थामा रहेकाले नेपालमा पूर्वसतर्कता नै सबैभन्दा ठूलो बुद्धिमानी हुने परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ । तर अहिले सतर्कता नअपनाए पछि पछुताउनुको विकल्प नहुने पनि ज्ञवालीले बताए ।
‘अहिले सचेतना अपनाउनुपर्छ, यदि हामीले अटेरी गर्दा भोलि बिरामी हुँदा कोही भेट्न आउन पाउनुहुन्न, दुखद निधन भयो भने आफन्तको शव हेरेर रुन पनि पाइन्न, अवस्था त्यस्तो भयावह हुन सक्छ, त्यसैले अहिले सरकारले भनेको कुरालाई पालना गर्न म अनुरोध गर्दछु ।’
कोरोना फैलन थाल्यो भने चैत वैशाखको डढेलो भन्दा पनि छिटो फैलने भएकाले बरु थोरै दुःख परे पनि घरमै बस्न मन्त्री ज्ञवालीले आग्रह गरेका छन् ।
प्रतिक्रिया