सतर्कता नअपनाए महामारीको ठूलो चपेटामा पर्नसक्छ गाउँ

सतर्कता नअपनाए महामारीको ठूलो चपेटामा पर्नसक्छ गाउँ

कोरोना महामारीले विश्वमै आतंक मच्चाएपछि मान्छेहरु आफ्नै घरगाँउमा फर्किएका छन् । काठमाडौंसहित मुख्य शहरमा सतर्कता अपनाएपछि र विद्यार्थीको छुट्टी भएपछि विद्यार्थी, उनका परिवार, दैनिक ज्यालादारीमा काम गर्ने र उद्योग, व्यवसाय आदिमा काम गर्नेहरु आफ्नै घरमा फर्किएका छन् । बच्चाको छुट्टी भएपछि म पनि उनीहरुलाई विदामा घर ल्याइदिन आफ्नो गाउँ सिन्धुली जिल्लाको दुधौलीमा आएको छु । काठमाडौं बुधवार फर्कने मेरो योजना लकडाउनकै कारण रोकिएको छ । 

सरकारले चैत्र ११ गते लकडाउन गरेपछि देश वाहिरबाट आएका र देशभित्र यताउता गर्नेहरुमाथि कडा निगरानी अपनाएको छ । तर, मान्छेहरु लुकीछिपी विभिन्न चोर बाटोबाट गाउँघर फर्किरहेका छन् । धनुषा र महोत्तरीका सीमा क्षेत्रबाट भारतमा काम गर्नेहरु हामी बसेको गाउँमा पनि आइरहेको सूचना आएको छ । मलेशिया, कतारसहितका देशमा गएकाहरु आउन नसके पनि भारतको बाटोबाट भागेर लुकीछिपी मान्छेहरु गाउँमा आइरहेका छन् । 

गाउँमा पनि यो महामारीको सन्त्रास छ । सूचना तथा सञ्चारका कारण गाउँवासी पनि धेरै सचेत छन् । महामारी भएको ठाउँबाट लुकीछिपी गाउँ आएकाहरुसँग रोग पनि आउँछ भन्ने चिन्ता आमजनतामा छैन । आफू र आफ्नालाई लागेको रोग सामान्य तर अरुलाई लागेको रोग महामारी ठान्ने आमप्रवृत्ति गाउँमा झन् छ । आफन्तलाई क्वारेण्टाइन, सेल्फ आइसोलेसनमा राख्नुपर्छ भनेर धेरै कमले मात्र भन्ने गर्छन । यो एक, दुई दिनमा हाम्रो गाउँ  दुधौली नगरपालिका वडा नम्बर एकको बंकामा दुई जना महामारी प्रभावित भारतबाट आएको सूचना आएको छ । क्वारेण्टाइनमा राख्नका लागि पहल त भएको छ तर यसबारेमा स्वयम् व्यक्ति र तिनका आफन्त सचेत र जागरुक नहुँदा भयावह रुप लिन सक्छ । 
शहर एक ढंगले आइसोलेसनमा नै बाँच्न सक्छ । कोठैमा बसेर उसले आधारभूत समस्याको समाधान गर्नसक्छ । अनलाइन मार्केटिंगसहित धेरै विकल्प छन् शहरमा । तर, गाउँमा त पसल, धारा, पधेंरा, मर्दा, पर्दा अनिवार्य रुपमा एक अर्का मान्छे अनिवार्य चाहिन्छ । एक जनामा त्यस्तो समस्या देखिएमा भ्याण्टिलेशनसहितका उपचारका लागि चाहिने उपचारका उच्च प्रविधि र औषधि हुँदैन । झन् लकडाउनको अवस्थामा मान्छेलाई एक ठाउँबाट अर्काे ठाउँमा उपचार गर्न लैजान पनि कठिन हुन्छ । 

हाम्रो गाउँमा खाना नपाएर मर्दैन एकाध वर्ष । नुन वाहेक वाहिरबाट किन्नु पर्दैन । कसैको घरमा खाना नहुँदा ऐंचोपैंचो चल्छ । सबैभन्दा सकारात्मक पक्ष यो हो भने महामारी आयो भने बाँच्ने कठिन अवस्था छ । यसैले गाउँलाई महामारी हुनबाट जोगाउन स्वयम् व्यक्ति र परिवार नै सचेत र जागरुक बन्नुपर्छ ।