वैज्ञानिकहरु भन्छन् : भाइरस शरीरमा तीन महिनासम्म रहन्छ
चैत, १२ । विज्ञहरूका अनुसार करिब १४ प्रतिशत मानिसमा कोरोनाभाइरस सङ्क्रमण दोहोरिएको पाइएको छ ।
कोभिड १९ का बारे वैज्ञानिकहरूले पत्ता लगाएको अनौठो मानेको कुरा चाहिँ के हो भने निको भइसकेका बिरामीहरूमा यसरी पुनः सङ्क्रमण निकै चाँडो अवधिमा पाइएको छ।
भिन्न भिन्न रोगका लागि प्रतिरोधी क्षमता भिन्न भिन्न प्रकारले काम गर्छ भन्ने आफूहरुलाई थाहा भएको वैज्ञानिकहरूको भनाई छ ।
दादुराको हकमा बाल्यकालमा दिइएको एउटै खोपले जीवनभरि प्रतिरोधी क्षमता बनाइराख्छ। तर कतिपय स्वास्थ्य अधिकारीहरूले भने 'निश्चित उमेरका मानिसहरूलाई सुरक्षित राख्न पहिलेको भन्दा आधुनिक खोप पुनः दिनु राम्रो हुन्छ।'
अन्य कतिपय भाइरसका निम्ति खोप उति प्रभावकारी हुँदैनन्। त्यसैले त्यस्ता खोप बेला बेला फेरि दिइरहनुपर्छ।
अनि कतिपय यस्ता खोप पनि छन् (उदाहरणका लागि इन्फ्लूएन्जाको वा साधारण रुघाको खोप) जुन हरेक वर्ष दिनुपर्छ किनकि त्यसको भाइरस बारम्बार परिवर्तन भइरहन्छ।
स्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्द्रका भाइरोलजिस्ट लुई इन्वानेस भन्छन् 'कम्तिमा १४ प्रतिशत बिरामीमा पुनः कोभिड १९ भएको पाइएको छ।'
उनको विश्वासमा यो फेरि सङ्क्रमण भएको नभई पुरानै भाइरस फेरि बल्झिएको हो।
'मेरो विचारमा यो भाइरसको पनि मानिसमा प्रतिरोधी क्षमता त जन्मन्छ तर कतिपयमा भने प्रतिरोधी क्षमता सशक्त नहुन सक्छ', उनले भने 'जब प्रतिरोधी क्षमता खस्किन्छ तब शरीरमा रहेका भाइरस फेरि बल्झन्छन्।'
कतिपय भाइरस शरीरमा तीन महिना वा लामो अवधिसम्म रहन्छ, वैज्ञानिकहरुले भनेका छन् । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया