कोभिड १९ सँग लड्न यी खाना उपयोगी 

कोभिड १९ सँग लड्न यी खाना उपयोगी 

डा. साधना दाहाल 

कोभिड रोग (२०१९) एउटा संक्रामक रोग हो, जुन कोरोना भाइरस २ (सार्स COV २) बाट हुने गर्दछ । कोरोना भाइरसको विरुद्ध अहिलेसम्म कुनै खास औषधि पत्ता लागिसकेको छैन । तर, यसको लक्षणात्मक उपचार (symptomatic treatment) भने गर्न सकिन्छ । अहिलेसम्मको अनुसन्धान अनुसार यसको संक्रमण सजिलै फैलन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई फोक्सोमा विशेष असर पार्ने देखिन्छ । त्यसैले व्यक्तिले स्वयम् प्रतिरक्षा प्रणालीलाई सबल बनाउन निकै जरुरी छ । यसको निमित्त हामीले आफ्नो जीवन प्रणाली, आफ्ना विचार एवम् खानपानमा उचित ध्यान पुर्याउनु पर्दछ । हामीले खाएको खानाले हाम्रो स्वास्थ्य स्थितिलाई निर्धारण गर्दछ । सामान्य भाषामा हाम्रो शरीर खानाकै परिणाम हो भन्दा अत्युक्ति नहोला । तसर्थ निम्नलिखित आहारले हाम्रो प्रतिरक्षा प्रणालीलाई सबल बनाउन मद्धत गर्दछन्, 


 भिटामिन सी युक्त आहार

भिटामिन सी युक्त खाना जस्तो अमला, कागती, सुन्तला, मेवा, किबी, ब्रो काउली आदिमा एण्टी अक्सिडेण्ट (Antioxidants) धेरै हुने र एण्टिअक्सिडेण्टले शरीरमा फ्री रेडिकल्स (Free Radicals) पैदा गर्न नदिने काम गर्दछन् ।  फ्री रेडिकल्स अत्यन्त हानिकारक हुने र यसले शरीरका महत्वपूर्ण जैविक अणुहरुलाई क्षति पुर्याउने गर्दछ । त्यसैले कुनै पनि भिटामिन सी युक्त खाना प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनका लागि प्रयोग गर्न सकिन्छ । 

 जिंक (Zinc

जिंक पाइने खानाहरु जस्तै, मुसुरो, टुसा उम्रेका गेडागुडी, दुध दही मोही, अण्डा, दाल, ड्राइ फ्रुट्स तथा चोकरसहितका अन्नहरु खान जरुरी देखिन्छ । जिंकले नयाँ कोशिका एवम् इन्जाइमहरु बनाउन Catalyst को रुपमा काम गर्दछ । यसले एलर्जीका लक्षणहरु पनि कम गर्न मद्धत गर्दछ । 

 किण्वित खाना (fermented food

किण्वित खाना जस्तो दहीमा Lactobacillus जस्तो फाइदाजनक ब्याक्टेरिया हुन्छ । त्यसैगरी bifidobacterium लगायतका हाम्रो पेटलाई फाइदा पुर्याउने ब्याक्टेरियाहरु किण्वित खानामा पाइन्छन । जसले भाइरल इन्फेक्सनहरुलाई पनि कम गर्न मद्धत गर्दछन् । यी ब्याक्टेरियाहरुले प्रोबायोटिकको रुपमा पनि काम गर्छन । प्रोबायोटिक भन्नाले त्यस्तो खाद्य पदार्थ हो जसमा सुक्ष्म जीवित फाइदाजनक जीवहरु हुन्छन । अन्ततः यसले रोगको प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । दहीको सेवन राति नगर्दा राम्रो हुन्छ । 

 अदुवा 

ताजा अदुवामा एण्टी अक्सिडेण्टको मात्रा धेरै हुन्छ । यसमा भएका विविध तत्वहरुमध्ये shogaol ले रुघाखोकी कम गर्न मद्धत गर्दछ । जुन कोभिड रोगमा फाइदाजनक हुनसक्क्छ । 

लसुन

लसुनमा एण्टी भाइरल, एण्टी बायोटिक, एण्टी फंगल गुण हुने भएकाले र थप अनुसन्धानकै क्रममा रहेकाले लसुनको प्रयोग उपयुक्त मानिन्छ । यसमा पाइने Allicin ले किटाणुहरुलाई मार्ने काम गर्दछ । 

अनुसन्धानअनुसार, ६३ प्रतिशत लसुन खाने व्यक्तिहरुमा नखाने व्यक्तिहरुभन्दा रोग प्रतिरोधात्मक क्षमता बढी देखिन्छ । तसर्थ लुसन पनि हाम्रो लागि महत्वपूर्ण छ । 

यी वाहेक हामीले खाने मुख्यतः धेरै ताजा प्रकारका खानामा केही न केही मात्रामा एण्टी अक्सिडेण्ट हुन्छन । धेरै अनुसन्धानकर्ताहरुले हाम्रो रोगको मुख्य कारण हाम्रो शरीरमा एण्टी अक्सिडेण्टको कमी भन्ने मान्दछन् । त्यसैले माथि दिइएका आहारहरुलाई खानामा समावेश गर्नु उचित देखिन्छ । 

यसका साथै सकारात्मक विचार, नियमित व्यायाम एवम शुद्ध खानपानबाट अनेक रोग जस्तो कोभिड १९ जस्ता संक्रामकबाट पनि विजय प्राप्त गर्न सकिनेछ । (फार्म डी, एमफिल फार्मेसी, medicinal chemistry)  १३ चैत्र २०७६