कोरोना भाइरससँगको युद्धमा स्वास्थ्य मन्त्रालय राम भरोसेमा
झिल्को टिप्पणी
जनवरीको प्रारम्भमा नै चीनको वुहानमा कोभिड १९ को संक्रमण सुरु भए यता नेपालले भिजिट नेपाल २०२० को नारा स्थगित गर्न सकेको भए, आजको स्थिति के हुन्थ्यो ? पुस २४ मा नेपालमा पहिलो कोभिड १९ संक्रमित फेला परिसकेपछि फागुन १८ सम्म किन कुरियो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा उच्च स्तरीय समिति गठन गर्न ?
चैत्र १० बाट पूरै देशलाई लकडाउनमा त राखियो, तर त्यसका अघिल्ला दिनसम्म अन्र्तराष्ट्रिय उडानहरुमा किन प्रतिवन्ध गरिएन ? त्यसबीचमा नेपाल आएका जो कोही यात्रुलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा नै स्क्रिनिंग गरेर किन क्वारेन्टाइनमा पठाइएन ? उतिबेलैदेखि विदेशीलाई आउनै रोक लगाएको भए वा आएकालाई क्वारेन्टाइनमा पठाइएको भए स्थिति अहिले कस्तो हुन्थ्यो ?
चीनसँगका सिमाना अपेक्षाकृत चाँडै बन्द गरिदा भारततर्फका खुल्ला सिमानामा कडाई गर्न वा आउन सक्ने स्वदेशी नेपालीको भीडलाई पूर्व आँकलन गरेर त्यही अस्थायी क्वारेन्टाइन वा चेकजाँचको प्रवन्ध किन गरिएन ? मुलतः भारतीय सीमा नाकाबाट फिर्ता हुने नेपालीको पूर्व अनुमान गरेर सीमा नाकामा नै स्वास्थ्य चेकजाँच र अस्थायी क्वारेन्टाइनको व्यवस्था गर्न सकेको भए अहिलेको स्थिति कस्तो हुन्थ्यो होला ?
चीनले नेपालका लागि कोभिड १९ विरुद्ध चाहिने मद्धत के के हो ? हामी दिन तयार छौं भनेको साता बितिसक्दा मात्रै बल्ल हामीले किन चैत्र १२ मा चीनतर्फका नाका खोल्ने निर्णय गर्यौं ? यो निर्णय एक साताअघि नै गर्न सकेको भए, चैत्र १३ सम्ममा आइपुग्दा पनि टेष्ट किट, पीपीई र डेडिकेटेड अस्पतालको चिन्तामा नै स्वास्थ्यकर्मी, चिकित्सकहरुले किन बिलौना गर्नु पर्दथ्यो र ?
स्वास्थ्य मन् त्रालयले आफ्ना मातहतका निकाय खासगरी डाक्टर, प्राविधिकसँग सुझाव लिएर किन कार्ययोजना बनाएको छैन ? अहिले विश्व नै कोरोना भाइरसका विरुद्ध युद्ध लडिरहेको छ, यो युद्धमा नेपाल पनि छ । युद्धको बेला जस्तो स्रोत, साधनमाथि केन्द्रित गरेर आवश्यक ठाउँमा परिचालन गर्नमा स्वास्थ्य मन्त्रालय पूरै चुकेको छ । मानौ यो युद्ध होइन, सामान्य दैन्दिनका काम गर्नमात्र सरकार अस्तित्वमा रहेको आभास भइरहेको छ । केन्द्रिकृत योजना र परिचालनमा नगरी रामभरोसेमा छाडिदिने हो भने अनपेक्षित मानवीय क्षति हुनसक्छ । अमेरिकासहित विकसित युरोपीयन देशलाई लड्न हम्मे परिरहेको बेलामा नेपालमा स्वतःस्फुर्ततामा जाने कुराले लडाईं जित्न सकिदैंन ।
क्वारेन्टाइन र आइसोलेशनको काममा स्थानीय तहलाई परिचालन गरे हुन्छ । कहाँकहाँ मान्छेहरु, संक्रामक कुनकुन अवस्थामा रहेका र तिनलाई प्रदेश या संघ कता सहयोग लिनुपर्ने हो जिम्मा दिए हुन्छ । सानाभन्दा पनि साना काममा संघले चासो र सक्रियता लिंदा मुख्य काम पूरै छुटेको छ ।
लकडाउनका कारण आआफ्नो डेरा, कोठा, घरमा बन्दाबन्दीमा परेका जनहरुका मनमा यी र यस्तै धेरै प्रश्नहरुको बाढी छ, सरकारसामु । जनतालाई आफ्नो स्वास्थ्यको, परिवारको माया छ, त्यसैले सूचना संजालबाट सरकार भन्दा पहिले आफै सूचित हुने नागरिक सरकारी उर्दीको केही प्रभाव र आफ्नै चेतना र विकेकले स्वनजरबन्दमा छन, लकडाउनमा बसेका छन् । तर के विश्वव्यापी महामारी अर्थात नयाँ प्रकारको यो स्वास्थ्य युद्ध नेपालको यही चालाढालाले आफै पराजीत भइदेला र ?
सरकारले एकातिर समस्याको गाम्भीर्यतालाई ढीलो मनन गर्यो, योजनामा नै सरकारको सुस्त गति जो छ, यसले कसरी कोभिड १९को संक्रमण विरुद्धको जेहादीमा नेपाल बलियो साबित हुन सक्ला त ?
कोरोना महामारी रोकथामको लागि नेपाल सरकारले चालेका पछिल्ला कदम र निर्णयहरु सकारात्मक नै छन् । जसका लागि सबैतिरबाट सहयोग भइरहेको छ । हाम्रो जस्तो कमजोर अर्थतन्त्र र स्वास्थ्य सेवा प्रणाली भएको देशमा संक्रमण फैलिएपछि उपचार चुनौतिपूर्ण हुन्छ । त्यसैले हामीले गर्नसक्ने भनेको यसको समयमै रोकथाम नै हो ।
प्रतिक्रिया