कोरोना भाइरसको महामारीमा विश्व जगत 

कोरोना भाइरसको महामारीमा विश्व जगत 

आर.सी. न्यौपाने

प्रताडित बनिरहेको विसम परिस्थितिमा नेपाल पनि अछुतो रहन सकेन । यस्तो अवस्थामा नेपालले  कोरोना भाइरसको आक्रमणबाट जोगिइ यसको निर्मुलमा आन्तरिक र बाह्य रुपमा कस्तो व्यवहार तथा कार्य सम्पादन प्रदर्शित गर्ने विषय अहम् बनेको छ । नेपालभित्र देखापरेको कोरोना नियन्त्रण तथा निर्मुल पार्न राज्य देश र जनताप्रति जिम्मेवार र जवाफदेही बनी सबै खालको तयारीमा जुट्नु सुखद पक्ष हो । नेपालले व्यवस्थित तवरबाट कोरोना भाइरसको महामारीबाट आमजनताको स्वास्थ्य जोगाउन छिमेकी चीन र भारतसँग विशेष साथ सहयोगको सहकार्य अंगीकार गरी काम गर्न सक्नु पर्दछ । कोरोना भाइरस अन्तराष्ट्रिय समस्या भएकाले सबै देशहरुको साझा प्रयासबाट मात्र  यसको आक्रमणबाट बच्न बचाउन सम्भव हुन्छ । विश्व एउटै प्रकृतिको रोग कोरोना भाइरससँग जुधिरहेको यस घडीमा आर्थिक र विज्ञान प्रविधिको हिसावबाट कमजोर अवस्थामा रहेको नेपालले आफ्नो समस्या समाधानमा छिमिकी चीन र भारतको साथै अन्य राष्ट्रहरुको साथ सहयोग लिन जरुरी छ । यसका लागि उनीहरुको विश्वास जित्न उचित कार्ययोजना पस्किएर कूटनीतिक कदम चाल्न सक्नु पर्छ । स्मरणीय छ, सन २०१९ डिसेम्बरमा चीनको वुहानमा देखा परेको कोरोना भाइरस विरुद्ध चीनले जनयुद्ध स्तरको कार्ययोजनाका साथ उचित उपचार विधि अपनाई राष्ट्रिय एकताका साथ सबै अश्त्र अपनाई  कोरोना भाइरस महामारीबाट आफ्ना जनताको जीवन रक्षा गर्न  सफल भयो ।
 
 ज्ञात होस, चीनले वुहान लक डाउन गरी कोरोना भाइरस निर्मुलमा जुट्दै गर्दा विश्वलाई आवश्यक सहयोग र सद्भावका लागि आह्वान गर्न पुग्यो । साथै चीनले यसको उपचार तथा नियन्त्रण एवम् निर्मुल गर्न विश्व एकतावद्ध बनी जुट्न आव्हान समेत गरेको थियो । त्यस  कठीीन घडीमा विश्व एक भएर जुट्नुपर्नेमा चीनलाई सहयोग गर्नुको अलावा त्यसको ठीक विपरीत पश्चिमा जगत र कथित महाशक्ति राष्ट्र अमेरिका तथा राष्ट्रपति डोनाल्ट ट्रम्पले त कोरोना भाइरसलाई चिनियाँ भाइरस भनी व्यंग्य गरिरहन धेरै समय खर्चिए । त्यति मात्र होइन चीन कोरोना महामारीबाट आक्रान्त बनिरहेको परिस्थितिमा अमेरिका र युरोपका कतिपय ठाउँमा चिनियाँ ब्यापारी विधार्थी , पर्यटकहरु अपमानित मात्र भएनन्  कुटिए । यता नेपालमा पनि पश्चिमाको सहयोग र प्रभावमा चलेका सम्पादक तथा पत्रकारले काठमाडौं पोष्ट दैनिकको प्रयोग गरी चीनमा देखिएको कोरोना भाइरस रोगको खिसिट्युरी गर्दै माओको मुखमा मास्क लगाएको तस्बिर छापेर चिनियाँ सार्वभौमिकता र त्यहाँको संकट उपर सहयोगको सट्टा खिल्ली उडाउन समेत भ्याए । अमेरिकीसहित पश्चिमा डिजाइनमा चल्ने पत्रकारको उक्त घटिया मानवता विरोधी हर्कतको चीनका संवन्धित पक्षले तुरुन्तै आपत्ति जनाए । पश्चिमा प्रभावका पत्रकारहरुले त्यसप्रति गम्भीरतापूर्वक व्यवहार देखाएनन् । 
 

पश्चिमा राष्ट्रहरुले कोरोनाको सवालमा वेवास्ता गरिरहेको अवस्थामा नेपाल सरकार भने यस मामलामा सचेत बनी आफ्नो गच्छेअनुसार चीनलाई सहयोगको सुभेच्क्षा प्रकट गरी मास्कहरु पठाउने निर्णय गर्न पुग्नु निश्चय नै हार्दिकता र समवेदनाको उच्च उधाहरण हो । पश्चिमा जगत बेलैमा सजग  बनेर कोरोना भाइरसको उपचार विधिमा चीनसँग हातेमालो गर्न आइपुग्नु पर्नेमा कुकुर, बिरालो ,सर्प ,चमेरो जस्ता जनावर खाएर कोरोना भाइरस आएको भन्ने  जस्ता निराधार र पूर्वाग्रही अफबाह फैलाउन क्रियाशील बन्न पुगे । नेपालले चीनको दुःखमा साथ रहेको वचन संप्रेषण गरेको घडीमा अमेरिकन र युरोपीयन देशका संचार माध्यमहरुले एकोहोरो चिनियाँ संकटलाई हाँसोमा उडाएको दृश्यले एक्काईसौ शताब्दीको मानव सभ्यतालाई  गिज्याइरहेको थियो ।

यसरी पश्चिमाहरु कोरोना भाइरसलाई चीनको राजनीतिसँग जोड्दै रोगको राजनीतीकरण र आपराधिकरण गर्नका लागि सहयोग सद्भावको विरुद्ध उद्देलित हुँदै मानवीय मूल्यको उपहास गर्न तर्फ  लागे । चीनको समाजवादी सत्ता विरुद्ध अफबाह फैलाउन अमेरिका लगायत पश्चिमा दुनियाँ केन्द्रित हुन पुग्नुबाट उनीहरुको असली अनुहार उदाङ्गिएको थियो । यो सत्य हो कि जतिवेला चीन कोरोनाको महामारीबाट आक्रान्त बन्यो त्यतिवेला रुस, क्युवा जस्ता देशले चीनको समस्यामा पूरै काँध थापे र वुहानमा आइपरेको कोरोना आतङ्कबाट मुक्तिको लागि सेल्फ क्वारेण्टाइन, आइसोलेसन, लक डाउन आदि उपचार विधि अपनाई भाइरसबाट उन्मुक्तिको आधार निर्माण गरे र सफलता पनि चुमे । जब चीनमा आतङ्क मच्चाएको कोरोना भाइरस युरोप अमेरिकातिर देखिन थाल्यो तव बल्ल अमेरिकन र युरोपीयनहरुको घैटामा घाम लाग्न थाल्यो जतिवेला अवेर भइसकेको थियो । पछिल्लो समय अमेरिकन र बेलायत, जर्मन, फ्रान्स, स्पेन, इटली लगायतका पश्चिमाहरु कोरोना भाइरसबाट प्रताडित बन्न पुगेका छन । चीनमा कोरोना भाइरस लगभग नियन्त्रण निर्मुल हुन पुग्यो तर यतिवेला यो कोरोना भाइरसले  पश्चिमा जगतलाई आफ्नो केन्द्रविन्दु बनाउन पुगेर उनीहरुलाई हायल कायल बनाई चीनसँग उपचारको लागि उपचार विधि, औषधि, मास्क लगायतको सहयोग तथा गुहार माग्नु पर्ने अवस्था सिर्जना हुन गएको छ ।
चीनले पनि अमेरिका, युरोपका  इटली, स्पेन, फ्रान्सका साथै नेपाल, भारत लगायतका देशमा सहयोगी हातहरु फैलाएर आफ्नो अन्तराष्ट्रिय मानवीय मूल्य मान्यता एवम्  दायित्व र कर्तब्यलाई निर्वाह गरिरहन अग्रसर बनी नै रहेको छ । यतिवेला  विश्व  महाशक्ति राष्ट्र  अमेरिका र युरोपीयन देशहरुले देखाएको भौतिकी हाइपर सोनिक हतियार विकास प्रतिस्पर्धा तथा शोषणमुखी साम्राज्यवादी हैकम मात्र सव थोक होइन पूर्वीयाहरुको वैदिक सनातन  धर्म संस्कृति  प्राकृतिक शक्तिको मुल्य वोधका आधार आत्मसात प्रधान छ भन्ने कुरा बुझ्न जरुर छ । 
अमेरिका र युरोपमा भए गरेको भौतिक विकास मानव सभ्यताको संरक्षण सम्बद्र्धन भन्दा प्रकृतिक स्रोतको दोहन गरी उपभोक्तावादी दलाल पुँजीवादी शोषण सांस्कृतिक साम्राज्वादको घोडा बन्न पुग्नुको दस्परिणाम त्यहाँका इमान्दार जनतामा पर्न गएको छ । अझ पनि पश्चिमा जगतको चेत खुलेको देखिदैन जसको असर त्यहाँको सिङ्गो मानव सभ्यतामाथि पर्ने देखिन्छ । 

अव पश्चिमा जगतले  इतिहासको पुनरालोकन गरी पृथ्वी र समस्त मानव जातिको कल्याण एवम् आई पर्ने हरेक समस्यासँग कसरी जुध्ने भन्ने  विषयबारे नेपाल भारत र चीनबाट सिक्नुको विकल्प छैन ।संकटले चुनौती र अवसर दुवै प्रदान गर्छ । यतिवेला अमेरिका लगायत पश्चिमा जगत कोरोनाको महामारीबाट आत्मसमीक्षाको तहमा आइपुगेनन् भने पश्चिमा इतिहासको अन्त्य सन्निकट छ । अव पश्चिमा मुलुक आफूले मानेको भौतिकी प्रधानता आत्मकेन्द्रित अवसरवाद, उपभोक्तावाद, भूमण्डलीकृत पुँजीवाद, उत्तरआधनिकतावाद जस्ता भँडुवा सिद्धान्त भन्दा पूर्वीय सनातन वैदिक विचार तथा मार्गदिशा वशुदैव कुटुम्वकम र सर्वे भवन्तु सुखिन जस्ता विचार सिद्धान्त धेरै वस्तुनिष्ठ रहेछ भनी स्वीकार नगरी हतियारको होडमा सीमित भए विनासकाले विपरीत वद्धि शिवाय केही हुने छैन । कोरोना भाइरस रोग नियन्त्रणमा असफल पश्चिमा बन्दुकको होडमा टिकेको यथार्थ जग जाहेर नै हो । अव समय बन्दुकको होइन ज्ञानात्मक विचारधारात्मक सत्य र निष्ठासहित सहकार्यको हो । पूर्वीय सभ्यताको केन्द्र नेपाल, भारत, चीन  त्रीपक्षीय रणनीतिक केन्द्र अवको विश्वको समवादी निष्ठा हो । यो निष्ठा नै नेपाल, भारत र चीनबीच त्रीपक्षीय रणनीतिक साझेदारीको आधार हो । महामारीको रुपमा आएको कोरोना भाइरस होस या विश्वका अन्य समस्या समाधानमा नेपाल, भारत र चीन त्रीपक्षीय साझेदारीले मात्र हल गर्ने पक्का छ । विश्वका अलावा नेपाल पनि कोरोना भाइरसको कारण यहाँको जनजीवन प्रभावित भइरहेको छ । मुलुक लक डाउनमा गइसकेको छ । राज्यको नीति निर्देशन कोरोना भाइरस नियन्त्रण निर्मुलका विषयमा केन्द्रित छ । यस घडीमा आमजनताको पंक्तिले राज्यले उठाएको कदममा निर्वाध साथ दिनु पर्छ । यसबेला बजारमा उपभोग्य वस्तुको कालाबजारी ब्यापक भएको छ । कोरोना महामारीका घडीमा फैलिएको कालाबजारी रोक्न सरकारले आवश्यक थप कडा नीति नियम तर्जुमा गर्दै उचित कदम चाल्न विलम्व नगरोस ।  

कोरोनाबाट उन्मुक्तिको लागि आवश्यक तयारी चिकित्सक, अस्पताल, ओषधि, सुरक्षा लगायतका प्रवन्धसहित तयारीका साथ राज्यले नेपाल पूरै लकडाउनमा गराइसकेको छ ।   यसलाई कडाईका साथ कार्यान्वयनको लागि कोरोना सङक्रमितको उपचारमा आवश्यक सबै विधि पक्रिया पहलुका साथ सेल्फ क्वारेन्टाइन, आइसोलेसन, लकडाउन जस्ता रोग रोकथामका उपायहरु अवलम्वनमा सरकारको कदम जायज छ । यस विसम अवस्थामा दैनिक ज्याला मजदुरीमा जीवन कटाउने पंक्ति गरीव दुःखी, मजदुर, असहाय, वेसहारा जनसमुदायको पंक्तिलाई विशेष राहतको उचित प्याकेज राज्यले अविलम्व घोषणा गर्नु पर्छ । यसरी महाविपत्तिको घडीमा सरकार, स्वास्थ्यकर्मी, नागरिक समाज, वुद्धिजीवी, पत्रकार, सुरक्षा निकाय, आमजनताका बीच अभुतपूर्व राष्ट्रिय एकता सहकार्य कायम गरी कोरोना भाइरस रोग विरुद्ध जुटी राष्ट्र धर्म निर्वाह गरौ ।