सुनील शर्माबाट अरुले पनि सिक्लान ?

सुनील शर्माबाट अरुले पनि सिक्लान ?

झिल्को टिप्पणी
 
चैत्र १३ गते विहीवार नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनील शर्माले डा. भगवान कोइरालालाई एक पत्र लेखे र प्रस्ताव गरे कि नोबेल मेडिकल कलेज अस्पताललाई कोरोना विशेष उपचार केन्द्र अर्थात कोरोना उपचारका लागि डेडिकेटेड अस्पतालका रुपमा प्रयोग गरौं । त्यसका लागि आफ्नो स्वामित्वको अस्पताल, पूर्वाधार र जनशक्ति सरकारलाई दिन तयार रहेको उनले घोषणा गरे । 

सरकारका तर्फबाट कोरोना रोकथाम संयोजन समितिका संयोजक डा . भगवान कोइरालाका लागि डा. शर्माले राखेको प्रस्ताव आफैमा एक सुखद थियो । किनभने पूर्वाञ्चलको विराटनगरमा ७१ भेन्टिलेटर, सात सय ६४ शैय्या र पर्याप्त मेडिकल इक्विपमेन्ट रहेको अस्पताललाई कोरोना विशेष उपचार केन्द्र बनाउन पाउनु सरकारका लागि अहिलेको अवस्थामा निकै सुखद खबर हो, भोकालाई खिर भने जस्तै ।

हाल सात सय ६४ शैय्या रहेको अस्पताललाई एक हजार क्षमतासम्म बिस्तार गर्न सकिने, जनशक्ति र उपचार सामाग्री तथा सुरक्षा लगायतका प्रवन्ध सरकारी समितिसँगको आपसी छलफल र सहमतिमा परिचालन र सक्रिय पार्न, गर्न सकिने डा. शर्माको प्रस्तावले डा. कोइराला नेतृत्वको समितिलाई काम गर्न खुसी र उत्साह थपिरहदा त्यसको प्रत्यक्ष लाभ पाउने जनता नै हुनेछन ।

भनिन्छ, कुनै पनि असल मानिसको वास्तविक परीक्षा संकटकै बेला गरिन्छ । जो कसैले पनि आफ्ना नजिकका वा टाढाका भनी खुट्याउने बेला पनि संकटकै बेला हो । विश्वलाई एकसाथ गाँजिरहेको कोरोना भाइरसको संक्रमणको मुखमा नेपाल पनि परिसकेको र सरकारका लागि कोरोनाको सम्भावित संक्रमण भारी परिरहेका बेला विराटनगरको एउटा सिंगो मेडिकल कलेज, त्यसको भौतिक पूर्वाधार र जनशक्ति र उपचार सामग्री सरकारी समितिको लागि कोरोना उपचार विशेष केन्द्र बन्न पाउनु चौतर्फी सबैका लागि सुखद पक्ष  नै हो ।

अझ राजधानी काठमाडौंका ग्राण्डी, अल्का जस्ता नाम चलेका र अरु केही निजी अस्पतालले कोरोना संकटका बेला बिरामीहरु उपचार गर्न अस्वीकार गरिरहेको बेला विराटनगर जस्तो औद्योगिक शहर र घनाबस्तीको शहरमा रहेको चर्चित र सुविधा सम्पन्न नोबेल मेडिकल कलेज नै पूरै कोरोना विशेष अस्पतालमा रुपान्तरित हुन दिनु डा. सुनिल शर्मा जस्ता मनकारी दानवीरहरु पनि यो समाजमा अझै बाँकी छन् भन्ने फरक र सुखद सन्देश पनि हो ।

कोरोनाको सम्भावित संक्रमणमा को यसको शिकार बन्छ वा को यसबाट सहजै बाँच्न सक्छ ? योे केवल काल्पनिक प्रश्न मात्रै हो । किनभने २१ औं शताव्दीको सबैभन्दा शक्तिशाली र सर्वव्यापी भाइरसका रुपमा कोरोना संसारकै मानव जुनी र मानव विकासका आधुनिक उपलव्धिहरुका लागि सामुन्नेको खतरनाक चुनौति बनिरहेको छ । धनी, गरीव, सम्पन्न विपन्न वा साना ठूला सबै कोरोनाका लागि एकै वर्गका शत्रु साबित भइरहेको यथार्थ छ । 

विश्वभरकै मानव समुदायले आफूले सकेको योगदान दिएर यो महामारीको संकटलाई सामना गर्नु नै असल मानवीयता र समाजसेवाको नमूना हो । किनभने हिजो कोरोना नआउँदा पनि मानिसलाई यसप्रकारले डा. सुनील शर्माहरुको वास्ता थिएन र उनीहरुको मेडिकल कलेजको सरकार वा जनलाई पनि खास जरुरत थिएन । भोलि कोरोनाको सम्भावित संकट टरेपछि पनि यो खालको सपोर्ट र सहकार्यको खासै अपेक्षा सरकार र जनतालाई नहुन सक्छ ।

अहिले कोरोना संक्रमणको विश्वव्यापी खाडो जागेको र सरकार किंकर्तव्यविमुढ बनिरहेका बखत खास प्रतिकूल परिस्थितिमा डा. सुनील शर्मा आफै एक उदाहरणीय समाजसेवी, जनतासेवक र राज्यप्रति पूर्ण उत्तरदायी स्वास्थ्यसेवा प्रदायक व्यक्तित्वका रुपमा उदाहरणीय पात्र बनेका छन् । यस अर्थमा डा. सुनील शर्मा एकजना पूर्वाञ्चलको विराटनगरबाट उदाएका उम्दा कोरोना विरुद्धको नेपाली युद्धका अनुकरणीय शिखर योद्धा र दाता हुन भन्दा अतिशयोक्ति हुँदैन । किनभने उनले यतिबेला देशको संकटलाई टार्न आफ्नो निजी सम्पति र पौरख जनताका नाममा सरकारलाई सुम्पेका छन् । यस्तो कर्म सानो मुटु र मस्तिष्क भएकाहरुले सितीमिती गर्न सक्दैनन् ।

डा. महावीर पुनको आविस्कार केन्द्रले स्वास्थयकर्मीका लागि आवश्यक पीपीई तयार गर्न डा. भगवान कोइरालाको संयोजन समितिबाट स्वीकृति लिई स्वास्थ्यकर्मीहरुका लागि विशेष पोशाक तयार गर्नमा एउटा अलग्गै प्रकारको नमूना लायक योगदान गर्यो । सरकारले उत्तरी छिमेकी चीनबाट ल्याउँदै गरेको मेडिकल सपोर्ट र सहायताको आफ्नै पाटो छ । पूर्वाञ्चलको मेडिकल कलेज कोरोनाको विशेष उपचारका लागि डेडिकेटेड अस्पताल नै हुने भयो ।  


अप्रत्यासित रुपमा आइलाग्ने जनताका आपतविपतमा डा. सुनील शर्मा जस्ता मनकारी मानिसहरुको हात र साथ मिल्नु नेपाली जातिको मनकारी र समन्वयकारी संस्कार र परम्पराको निरन्तरता मात्रै होइन, सरकारका लागि संकटसँग जुध्न नागरिक तप्काको होस्टेमा हैसे पनि हो । यस्तै डा. सुनील शर्माहरु सातै प्रदेशका मेडिकल कलेजहरुबाट वा आआफ्नो कर्मथलोबाट उदाउन सकून भन्ने कामना गरौं ! यसैका आधारमा डा. सुनील शर्माहरुलाई जनजनले घरघरबाट धन्यवाद भन्नु पनि अतिशयोक्ति हुने छैन । 

नोबेल मेडिकल कलेजलाई कोरोना विशेष उपचारको डेडिकेटेड अस्पताल बनाउन डा. सुनील शर्मा तयार हुनु वास्तवमा नै संकट टार्न नागरिक स्तरको खास योगदान नै हो । 

पढ्नुहोस, डा. सुनील शर्माले डा. भगवान कोइरालालाई लेखेको पत्र,