कोभिड १९ विरुद्धको सरकारको एक्सनमा नागरिक विश्वस्त छन् त ?
झिल्को टिप्पणी
शुक्रवार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा क्यामेराका फ्रेममा अटाउन तीन जना स्वास्थ्य अधिकारीहरु कुम जोडेर स्क्रिनमा देखा परे । बीचका पात्र बोले, दायाँबायाँका पात्र बुख्याँचा शैलीमा उभिइरहे । कुनै उपवुज्रुकले दिएको सल्लाहमा यो कार्टुन शैलीको ‘शो’ गरियो ।
हेर्नुहोस तस्वीर,
यस्तै पत्रकार सम्मेलनमार्फत् विश्व स्वास्थ्य संगठनले पनि बारम्वार यस्ता जानकारीहरु संसारभर दिइरहेकै छ । तर, डब्लुएचओका अधिकारीहरु सोसियल डिस्टेनस कायम गरेर प्रस्तुत हुन्छन, तीन जना नै पत्रकार सम्मेलनमा उपस्थित हुँदा पनि ।
हेर्नुहोस तस्वीर
यसअघि स्वास्थ्य मन्त्री भानुभक्त ढकाल आउँथे नियमित पत्रकार सम्मेलनमा । २५ जना भन्दा बढीको समूहलाई हिड्डुलमा नै प्रतिवन्ध लगाएको सरकारका स्वास्थ्य मन्त्री ढकालले गरेको अन्तिम पत्रकार सम्मेलनमा ५० औं पत्रकारको भीड थियो, सिंहदरवार भित्रै ।
हेर्नुहोस मन्त्री ढकालको पछिल्लो पत्रकार सम्मेलन,
त्यसअघि स्वास्थय मन्त्री ढकाल पत्रकारको प्रश्नमा भाग्दै गर्दा दिएको उत्तरले पनि निकै आलोचित भए । भन्दै थिए, आज नबोल्ने, घरमा पाहुना छन् ।
यसै क्रममा उनले एक समारोहमा समाजमा कोभिड १९ को संक्रमणको खतराले जनतामा अब भात पकाउन पनि पीपीपई चाहिने मनोविज्ञान तयार भएको भनेर नागरिकको जुन मानमर्दन गरे, त्यसले पनि उनको हैसियत र संवेदनशीलतामाथि सामाजिक सञ्जालमा निकै प्रहार र आलोचना खेप्यो ।
सुन्नुहोस, मन्त्री ढकालको नागरिकलाई होच्याउने वाणी
वास्तवमा कोभिड १९ अर्थात विश्वकै मानवजातिको पछिल्लो साझा दुश्मनविरुद्ध नेपाल लकडाउनको सहारामा लडिरहदा जनता सरकारको निरीहतालाई निशव्द शीरोधार्य नै गरिरहेका छन् । तर, सरकारी रवैयाले नागरिकलाई सरकारप्रति विश्वस्त होइन, इरिटेड गर्दै जान थालेको छ । संक्रमणमा परेका नागरिकको संख्या गनेर सार्वजनिक गर्ने बाहेक सूचना मन्त्रालयको दैनिक पत्रकार सम्मेलनबाट नागरिकले पाइरहेका छैनन् ।
कोभिड १९ विरुद्धको उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको समितिले वैठकहरुका संख्या र निर्णयहरुको खाता बढाएको बढाएइ छ, तर तिनको कडा कार्यान्वयनमा लकडाउन बाहेक जनताले देख्ने भोग्ने गरी अरु काम देखाउन सकिरहेको छैन् ।
संसारलाई गाँजिरहेको कोभिड १९को त्रास र भयमा रहेका नागरिकले सरकारलाई असहयोग गर्ने त कल्पना नै गर्न सकिदैन । नागरिक तहबाट सरकारलाई असहयोग गरेका घटना अपवादमा बाहेक छैनन् पनि । तर के सरकारको, तालुकदार मन्त्रीको, मन्त्रालयको यही शैलीले कोभिड १९ को आक्रामक प्रतिरोध संभव छ त ? नागरिकहरु बन्दाबन्दीमा बस्दाबस्दै पनि सरकारप्रति प्रश्न उठाउने मुडमा देखापर्न थालिसकेका छन् ।
भानुभक्त ढकाल प्रधानमन्त्री केपी ओलीले रोजेर स्वास्थ्यमा पठाइएका मन्त्री हुन् । उपेन्द्र यादवले सरकार छोडेपछि उनले कानुन मन्त्रालय छोडेर उनी स्वास्थ्यमा प्रधानमन्त्रीको रोजाई र शायद आफ्नै रहरले आएका हुन् । यो बेला देशको स्वास्थ्य मन्त्रीले विरामी प्रधानमन्त्रीको अभाव समेत खट्किन नदिने गरी सिंहदरवारमा नै डेरा जमाएर अहोरात्र काम देखाउने बेला छ । तर पर्यटन मन्त्री योगेश भट्टराईदेखि स्वास्थ्यमन्त्री ढकाल र उपप्रधानमन्त्री पोखरेलहरुसम्मलाई मिडियामा अन्र्तवार्ता र कुरा सुनाउनमा फुर्सद नभए झैं देखिदैछ । मिडिया मोह सरकारी मन्त्रीहरुको बढी नै छ । तर काम के के भए ? जनताले व्यग्रतापूर्वक हेरिरहेका छन् ।
उच्चस्तरीय समितिका संयोजक पोखरेल र स्वास्थयमन्त्री ढकालको एक्सन रुम कहाँ छ ? उनीहरु कति घण्टा एक्सन रुपमा छन । आफ्ना निर्णयहरु कति कार्यान्वयन भए ? अन्तरमन्त्रालय सहकार्य कत्तिको भइरहेको छ ? समन्वय कस्तो भइरहेको छ ? जनता बन्दाबन्दीको वीच कुन मनोविज्ञानमा छन् ? स्वास्थ्यकर्मी र चिकित्सकहरुको मनोदशा कस्तो भइरहेको छ ? आदि÷इत्यादी सवालहरुमा किन बेखबर झैं छन ?
स्वास्थ्य मन्त्रीलाई काम गर्न ७७ जिल्लामा जिल्ला स्वास्थ्य कार्यालय छन् । जिल्ला अस्पताल छन् । देशभर नेटवर्क छन् । तर तिनको मनिटरिंग कसरी गरिहेका छन् स्वास्थ्यमन्त्री ? अनलाइनमा नै मनिटरिंग गर्न सकिदैन ? उच्चस्तरीय समितिको काम क्रसचेक गर्न उपप्रधानमन्त्रीसँग पनि देशैभरको नेटवर्क छ । सेना, पुलिसको नेटवर्क छ । क्रसचेक गर्न भ्याउँदैनन् र उनले ? दलहरुका संयन्त्र पनि सरकारको साथमा छन्, उपयोग गर्ने हो भने, उपयोग गर्न जान्ने हो भने ।
हो, सजिलोसँग निर्णय गरिदिने र निर्देशन दिएर छोडिदिने, अनि मिडियामा ठूला ठूला कुरा गर्ने रोगबाट उच्चस्तरीय समिति र स्वास्थ्यमन्त्री तथा अन्य सरोकारवाला मन्त्रीहरु आफै पीडित भएको घटनाक्रमहरुले देखाइरहेका छन् । यसकारण कोभिड १९ को संक्रमण आक्रामक र सरकार रक्षात्मक भइरहेको नागरिकलाई गहिरो अनुभूति हुन थालिसक्या छ । यो भनेको अहिलेको जनताको धैर्यताको कारण मात्र शान्त देखिएको स्थिति हो । यसमा सरकार सच्चिने र एक्सनमा उत्रन ढिला गर्नु हुँदैन ।
चीनका राष्ट्रपति सी जस्तो हाम्रा उपप्रधानमन्त्रीले फिल्डमा उत्रेर के के गरेका छन् ? यो डिजिटल दुनियाँमा नागरिकले सबै कुरा वाच गरिरहेका छन् । यो भिडभाड र गफगाफमा समय काट्ने चुनौति होइन । सरकारमा बसेकाहरुले समयमा नै ख्याल गर्नु जरुरी भइसकेको छ नि, छैन र ?
यो पनि पढ्नुहोस, कोभिड १९ विरुद्धको लडाईंमा स्थानीय सरकार परिचालन गरेर नयाँ रणनीति किन नथाल्ने ?
प्रतिक्रिया