मानिसहरुको हुल आएपछि मरिण क्षेत्रका बासिन्दा आतङ्कित

मानिसहरुको हुल आएपछि मरिण क्षेत्रका बासिन्दा आतङ्कित

१६ चैत्र, सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक मात्रै लगाएको छैन, नागरिकहरुलाई हिड्डुल गर्न प्रतिवन्ध अर्थात् निषेधाज्ञा जारी गरेको छ । तर, त्यही निषेधाज्ञाको बर्खिलाप हुने गरी राजधानी काठमाडौबाट सिन्धुलीको मरिण क्षेत्रमा बसको लर्को नै लागिरहेको छ । स्थानीय प्रशासनले सवारी आवागमनमा रोक लगाएका बेला बाहिरबाट मानिसहरु आउन थालेपछि मरिण क्षेत्रका बासिन्दामा कोरोना संक्रमणको त्रास फैलिएको छ ।

मरिण क्षेका कुमारप्रसाद ढकाल सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्ः जिल्ला लकडाउन भएका बेला पाँच थान बस मरिण क्षेत्रमा प्रवेश गरेको छ, त्यसको जिम्मेवारी कसले लिने ? उनले ती सवारी साधनमा आएका मानिसबाट कोरोना संक्रमण फैलिन सक्नेमा शङ्का गरेका थिए । त्यसैगरी फेसबुकमा कृष्ण गाउँले नाम रहेका अर्का व्यक्ति भन्छन्ः असुरक्षित बन्दै गाउँ, सिन्धुलीको मरिणमा मध्यराति बसहरु भित्रिएको छ, सावधानी अपनाउनु होला ।

समाचार स्रोतका अनुसार हिजो राती जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र लिएर चार वटा बस र दुई वटा ट्रिपर भित्रिएको थियो । एउटा बसमा करिव ३२ देखी ३५ जना र ट्रिपरमा १६ जनाका दरले करिव एक सय ६० जना मानिसहरु मरिण क्षेत्रमा आइपुगेका थिए । ती सवारी साधन यात्रुहरुलाई ओरालेर राति नै काठमाडौ फर्किएको थियो । बसबाट ओर्लिएकाहरुलाई केही स्वास्थ्यकर्मीले जाँच गर्न खोज्दा उनीहरु त्यहाँबाट भागेको विवरणहरु प्राप्त भएको छ । 

इलाका प्रहरी कार्यालय कपिलाकोटले पनि हिजो राति आएकाहरुको स्वास्थ्य जाँच गर्न नसकिएको स्वीकार गरेको छ । भक्तपुर जिल्लाको विभिन्न इट्टाभट्टामा काम गर्ने मजदुरका परिवार र साना केटाकेटीसहित आएका उनीहरुको पूर्ण विवरण थाहा नभएको र उनीहरुको स्वास्थ्य अबस्थाबारे पनि जानकारी लिन नसकिएको प्रहरीको भनाइ छ ।

यसैबीच आज दिउँसो पनि सिन्धुलीको भिमानमा रहेको इट्टाभट्टामा काम गर्ने र मदन भण्डारी राजमार्गमा काम गर्ने झण्डै ६० जना मानिसहरुले पनि जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर आफ्नो गन्तव्यमा गएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ । यसरी गन्तव्यमा जानेहरुमा बर्दिया जिल्लाका ३० जना मजदुर र बाँकी मरिण क्षेत्रका रहेको जनाइएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी कपिलाकोट प्रहरीले आज दिउँसो पनि मरिण क्षेत्रमा तीन वटा बस आइपुगेको छ । बसबाट ओलिएका उनीहरुलाई प्रहरीको हेल्प डेक्सले स्वास्थ्य परीक्षण गरेर आफ्नै घरमा सुरक्षित बस्ने गरी पठाएको बुझिएको छ । यसैबीच मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनसँग यस विषयमा बुझ्न खोज्दा उनले फोन उठाएनन् ।